१४ मंसिर २०८१ शुक्रबार
image/svg+xml
अर्थ

भैरहवा विमानस्थल दीर्घकालिन चल्न राज्य लाग्नुपर्छ: महानिर्देशक अधिकारी

नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक इन्जिनियर प्रदीप अधिकारीले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल दीर्घकालिन रुपमा सञ्चालन गर्न राज्यका सबै संयन्त्र लाग्नुपर्ने बताएका छन्।

बिहीबार लुम्बीनीमा भएको लुम्बीनीमा ‘लगानीः अवसर र चुनौति’ विषयक कार्यशाला गोष्ठीमा बोल्दै महानिर्देशक अधिकारीले यस्तो बताएका हुन्। उनले गौतमबुद्ध र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल दीर्घकालिन रुपमा सञ्चालन गर्न नागरिक उड्डयन प्राधिकरण मात्रैको पहलले सम्भव नभएको बताए।

उनले त्यसको लागि राज्यका सम्पूर्ण संयन्त्रहरुको पनि साथ र सहयोग आवश्यक रहेको बताए। महानिर्देशक अधिकारीले सरकारले सबैभन्दा पहिला हवाई ट्राफिक व्यवस्थापनको लागि भैरहवा,पोखरामा उडान गर्नुपर्ने नीति बनाउन आवश्यक रहेको बताए। उनले सरकारले श्रमिक उडान भैरहवाबाट गर्ने भनेपछि सबै म्यानपावरहरु भैरहवा जाने वातावरण बन्ने बताए।

उनले हवाई ट्राफिकलाई भैरहवा उडान अनिवार्य नगरेसम्म भैरहवा विमानस्थलको दीर्घकालिन उडानको कल्पना गर्न नसकिने बताए। उनले हवाई उडान व्यवस्थापनमा सबै मिलेर नियमन गर्न आवश्यक रहेको भन्दै यो विषयमा सरकारले ध्यान दिनुपर्नेमा जोड दिए। उनले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल चीन सरकारले बनाएकाले सरकारले विमानस्थल सञ्चालनको लागि चीनले काठमाडौंमा गर्दै आएको उडानको २५ प्रतिशत उडान पोखरा गर्न आग्रह गर्नुपर्ने बताए।

उनले  नेपाल र हिमालय एयरलाइन्सलाई पनि हरेक विमानस्थलमा एक–एक उडान गर्नुपर्ने मापदण्ड सरकारले बनाउनु जरुरी रहेको बताए। उनले सरकारले हवाई उडानलाई नियमन गर्दा तीन वटै विमानस्थल चल्न सक्ने बताए। उनले  अहिले डण्डा लगाएर भैरहवा विमानस्थलमा उडान पठाएको दाबी गरे।

उनले भने,‘सरकारले श्रमिक उडान भैरहवाबाट गर्ने भनेपछि सबै म्यानपावरहरु भैरहवा आउँछन्। हवाई ट्राफिकलाई सेक्रिग्रेट नगरेसम्म आजको दिनसम्म भैरहवा विमानस्थलको दीर्घकालिन उडानको कल्पना गर्न पनि सकिँदैन। ५० लाख पर्यटक ल्याउने प्रतिवद्धता हुनुपर्छ। सबै मिलेर रेगुलेट गरौं। यो कुरामा सरकारले पनि ध्यान दिनुपर्छ। हामीले पनि यो कुरामा पहल गर्नुपर्छ। क्यान अन्तरर्गत रहेको हुनाले भैरहवा र काठमाडौं विमानस्थलले कमाएको रकम पनि केन्द्रिय ट्रेजरीमा जान्छ। क्यानलाई पनि केही फरक पर्दैन। पोखरा चीनले बनाएको हो। सञ्चालनको लागि चीनले काठमाडौंमा गर्दै आएको उडानको २५ प्रतिशत उडान पोखरा गर्न आग्रह गरौं। नेपाल र हिमालयलाई पनि हरेक विमानस्थलमा एक–एक उडान गर्नुपर्छ भन्यौं। यसरी रेगुलेट गर्दा तीन वटै विमानस्थल चल्छन्। मार्केटको आधारमा हो भने काठमाडौं बाहेक अन्य विमानस्थल चल्न सक्दैनन्। अहिले डण्डा लगाएर भैरहवा विमानस्थलमा उडान पठाएको हो। कति दबाब छ मलाई मात्रै थाहा छ। कम्तीमा अहिले ६ वटा एयरलाइन्सहरु आए। राज्यले आफ्नो शक्ति देखाउन सक्दा सबै कुराहरु सम्भव छन्। विमानस्थल सञ्चालनमा सरकारले रेगुलेट गर्नुपर्छ। नत्र आन्तरिक मात्रै चलाएर चित्त बुझाउनुपर्छ। हवाई भाडामा मनोमानी नहोस् भन्नाले नेपाल वायुसेवा निगम राखिएको हो। तर नेपालमा विमानस्थल बढ्दो क्रममा छन् भने जहाजसको सख्या घट्दो अवस्थामा छन्। नेपाल एयरलाइन्स र हिमालय एयरलाइन्ससँग १० देखि १२ वटा जहाज भएको भए सहुलियत समेत दिनुपर्ने अवस्था थिएन। भैरहवा लगायत अन्य विमानस्थल सञ्चालनको लागि सम्पूर्ण राज्य संयन्त्र लाग्नुपर्छ । हवाई उडान नागरिक उड्डयन प्राधिकरणले मात्रै गर्नसक्ने विषय होइन। सबै मिल्नुपर्छ।’

प्रकाशित: १४ मंसिर २०८१ १३:५० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App