लामो समयपछि मुलुकको वैदेशिक व्यापारमा सुधारको संकेत देखिएको छ। करिब डेढ वर्षपछि मुलुकको निर्यात व्यापारमा वृद्धि भएको छ। भन्सार विभागले शुक्रबार सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८१/८२ को कात्तिकसम्मको तथ्यांकअनुसार नेपालबाट पछिल्ला चार महिनामा ५२ अर्ब ६७ करोड रुपैयाँको वस्तु निर्यात भएको छ।
चालु आवको कात्तिकमा आइपुग्दा पोहोरको तुलनामा निर्यात ४.१६ प्रतिशतले वृद्धि भएको छ। निर्यातमा सुधार भए पनि यो पर्याप्त भने होइन। आर्थिक वर्ष २०८०/८१ को पहिलो चार महिनामा ५० अर्ब ५६ करोड रुपैयाँको वस्तु निर्यात भएको थियो।
नेपालबाट धेरै निर्यात हुने वस्तुमा स्टिलजन्य वस्तु, धागो, कार्पेट, तयारी पोसाक, जुस, चिया, अलैंची, प्रशोधित पाम तेल, हस्तकलाका सामग्री, डेरी प्रोडक्ट, महलगायत छन्। निर्यात बढेपछि व्यापार घाटा पनि घटेको छ। यो अवधिमा व्यापार घाटा ४ खर्ब ६० अर्ब ७१ करोड रुपैयाँ छ। गत वर्ष सोही अवधिमा व्यापार घाटा ४ खर्ब ६१ अर्ब ९३ करोड थियो। निर्यात बढ्दा करिब १ अर्बले व्यापार घाटा घटेको छ।
मुलुकको आन्तरिक अर्थतन्त्र समस्यामा परेका कारण खपत वृद्धि हुन नसक्दा आयातमा पनि गिरावट आएको थियो। कात्तिकमा आयात पनि ०.१७ प्रतिशतले बढेको छ। बजारमा उपभोग बढेकाले आयात बढेको सरोकारवाला बताउँछन्। चार महिनाको अवधिमा पाँच खर्ब १३ अर्ब रुपैयाँको वस्तु आयात भएको छ।
गत वर्षको सोही अवधिमा पाँच खर्ब १२ अर्ब रुपैयाँका वस्तु आयात भएका थिए। कुल वैदेशिक व्यापार पनि वृद्धि भएको छ। यो अवधिमा पाँच खर्ब ६६ अर्बको कुल वैदेशिक व्यापार भएको छ। गत आवमा यस्तो व्यापार पाँच खर्ब ६३ अर्ब रुपैयाँ थियो। आयात व्यापार वृद्धि हुँदा राजस्व पनि बढेको छ। आयातमा आधारित राजस्व बढेकाले यसको सकारात्मक प्रभाव अर्थतन्त्रमा पनि देखिएको छ।
नेपालले ठुलो व्यापार घाटा बेहोर्दै आएको छ। स्वदेशमा उत्पादन हुन सक्ने वस्तु विदेशबाट आयात हुँदा मुलुकले वार्षिक करिब साढे १४ खर्ब रुपैयाँ हाराहारीको व्यापार घाटा बेहोरेको छ। आर्थिक वर्ष २०८०/८१ मा कुल १७ खर्ब ४५ अर्ब रुपैयाँको वैदेशिक व्यापारमा १४ खर्ब ४० अर्ब रुपैयाँ व्यापार घाटा थियो।
गत आवमा आयात १५ खर्ब ९२ अर्ब ९८ करोड रुपैयाँ थियो भने निर्यात १ खर्ब ५२ अर्ब ३८ करोड रुपैयाँ मात्र थियो। अघिल्लो आवको तुलनामा गत आवमा वैदेशिक व्यापारका सबै सूचक ऋणात्मक थिए।
एक सय १० भन्दा बढी मुलुकसँग नेपालको व्यापार घाटा छ। दुई दर्जन हाराहारी मुलुकसँग मात्र नेपालको वैदेशिक व्यापार नाफामा छ। सबैभन्दा ठुलो व्यापार घाटा भारतसँग छ। चालु आवको चार महिनामा भारतसँग दुई खर्ब ८१ अर्बको व्यापार घाटा छ। भारतबाट तीन खर्ब १६ अर्ब ८८ करोडको वस्तु आयात भएको छ भने ३५ अर्ब ७६ करोड रुपैयाँको वस्तु निर्यात भएको छ।
सरकारले स्वदेशमा उत्पादन वृद्धि गरेर निर्यात व्यापार बढाएर व्यापार घाटा न्यूनीकरण गर्ने बताउँदै आए पनि अपेक्षित रूपमा सुधार हुन सकेको छैन। निर्यात बढाउन अनुदान दिँदै आएको छ। आयात व्यापारमा अपेक्षित सुधार नभएका कारण विदेशी मुद्राको सञ्चिति निकै बढेको छ। असोज मसान्तमा विदेशी मुद्रा सञ्चिति २२ खर्ब ३२ अर्ब २८ करोड रुपैयाँ पुगेको छ। पछिल्लो तीन महिनामा विदेशी मुद्रा सञ्चिति करिब दुई खर्ब रुपैयाँले बढेको हो।
गत असार मसान्तमा २० खर्ब ४१ अर्ब १० करोड रुपैयाँ बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति ९.४ प्रतिशतले वृद्धि भएको छ। विदेशबाट सामान आयात नहुँदा विदेशी मुद्रा खर्च नभएपछि सञ्चिति बढेको हो। विभिन्न पेसा व्यवसाय गर्न विदेश गएका नेपालीले पठाउने विप्रेषण (रेमिट्यान्स) भने निकै बढेको छ। चालु आवको पहिलो तीन महिनामा (असोजसम्म) चार खर्ब सात अर्ब ३१ करोड रुपैयाँले विप्रेषण आएको छ।
प्रकाशित: ८ मंसिर २०८१ ०६:४४ शनिबार