काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमणमा दुईपक्षीय आर्थिक मुद्दामा ठोस निष्कर्ष ननिस्के पनि भारतीय लगानीको लागि थप वातावरण बनेको भ्रमणमा सहभागी व्यवसायीले बताएका छन्।
भ्रमणले दुई देशबीचको सद्भाव थप बढाएको र लगानीको लागि विश्वासको वातावरण सिर्जना गरेको भन्दै आर्थिक विषयमा थप छलफल गर्नुपर्ने सहभागीको भनाइ छ।प्रधानमन्त्री ओली भारतको तीनदिने राजकीय भ्रमण सकेर आइतबार स्वदेश फर्किसकेका छन् ।
उनको भ्रमणमा दुई देशबीचको मुद्दालाई सम्बोधन गर्दै १२ बुँदे संयुक्त विज्ञप्ति जारी भयो। प्रधानमन्त्री ओलीले भारतीय व्यवसायीलाई सम्बोधन पनि गरेका थिए । साथै, दुई देशका व्यवसायीबीच अन्तक्र्रिया र छलफल समेत भएको थियो । प्रधामन्त्रीको भ्रमणमा नेपालले भोग्दै आएको व्यापार घाटा, पारवहन, यसअघिका सम्झौता र भारतीय लगानीका परियोजनको समीक्षा लगायत विषयमा ठोस छलफल नभए पनि लगानीको थप वातावरण बनेको व्यवसायीको भनाइ छ।
‘यो भ्रमणले दुई देशबीच सद्भाव बढेको छ । भारतको पुरानो दृष्टिकोण फेरिएको पाइयो,’ भ्रमणमा सहभागी नेपाल उद्योग परिसंघका अध्यक्ष हरिभक्त शर्माले नागरिकसँग भने, ‘म त यो भ्रमणबाट उत्साहित छु ।’ राजनीतिक तहमा दुई देशबीच विश्वासको वातावरण सिर्जना भएको भन्दै लगाानी र नेपालको आर्थिक समृद्धिका विषयमा थप छलफल गर्न आवश्यक भएको उनले बताए । १२ बुँदे संयुक्त विज्ञप्तिमा धेरै विषय अटेको र पहिलेदेखि माग भएका विषयलाई सम्बोधन गरिएको शर्माले बताए।
प्रधानमन्त्री ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीचको छलफलमा आर्थिक क्षेत्रसँग सम्बन्धित विषयमा पनि छलफल भएकाले थप आशा पलाएको व्यवसायीको भनाइ छ ।
प्रधानमन्त्री ओलीको भ्रमणमा सहभागी भएकी नेपाल उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणाले यसपालिको भ्रमण पहिलोको भन्दा फरक र अन्तक्र्रियात्मक भएको बताइन् । यसअघिका भ्रमणमा प्रायः एक पक्षले सम्बोधन गर्ने र अर्कोले सुन्ने मात्र हुने गरेकोमा यसपालि प्रश्न–उत्तर सहित अन्र्तक्रिया भएको उनले बताइन्।
भारतीय लगानीकर्ता, व्यवसायीले नेपालको विभिन्न क्षेत्रमा भएको अवसर, चुनौती लगायत विषयमा प्रश्न गरेका थिए । अहिलेसम्म जलविद्युत् क्षेत्रमा मात्र छलफल हुँदै आएकोमा यसपालि अन्य व्यापार, कृषि, पर्यटन, नवीकरणीय ऊर्जा, आयुर्वेद लगायत विषयमा भारतीय लगानीकर्ताले जिज्ञासा राखेका थिए । ‘विभिन्न क्षेत्रमा लगानीको अवसर र चुनौतीका विषयमा धेरै प्रश्न उठाइकाले उनीहरू लगानी गर्न इच्छुक छन् भन्ने देखिन्छ,’ राणाले भनिन्, ‘यसपालि उनीहरूले नेपाललाई फरक ढंगले हेरेका छन्।’
दुई देशका व्यवसायीबीच भएको छलफलमा नवीकरणीय ऊर्जा, खाद्य प्रशोधन उद्योग, आयुर्वेदिक उद्योग, पर्यटन क्षेत्रमा लगानी गर्न उनीहरूले इच्छा देखाएका थिए । हाइड्रोभन्दा उत्पादनमूलक क्षेत्रमा भारतीय लगानी इच्छा देखिएकाले यसबाट दुई देशबीच भएको व्यापार असन्तुलन घटाउन सहयोग मिल्ने राणाको विश्वास छ।
‘व्यापार घाटा कम गर्न उत्पादनमूलक क्षेत्रमा लगानी आवश्यक छ,’ राणाले भनिन्, ‘फुड प्रोसेसिङ, हर्ब प्रोसेसिङ, सेवा क्षेत्रमा लगानी ल्याउन सके व्यापार घाटा कम गर्न सकिन्छ ।’
हरेक वर्ष नेपालमा इन्डो–नेपाल समिट हँुदै आएको छ । अब हुने समिटमा भारतीय लगानीकर्तालाई लगानीको घोषणा गर्न र समझदारीपत्रमा हस्ताक्षर गर्ने योजना बनाएको राणाले बताइन्।
वर्षौंदेखि समस्या पारवहनको क्षेत्रमा व्यवसायीले समस्या भोग्दै आएका छन् । पारवहन दुई देशका राज्यबीचको विषय भएकाले सरकारी तहबाट सम्बोधन गर्नुपर्ने व्यवसायीको भनाइ छ । भन्सार र बन्दरगाहमा निर्माण गर्नुपर्ने भौतिक संरचनाका विषयलाई उच्चस्तरमै सम्बोधन गर्न व्यवसायीको आग्रह छ।
भ्रमणले दुई देशबीच सद्भाव बढाएको र लगानीको वातावरण बनाएको अवस्थामा अब नेपालका पक्षबाट थप काम गर्नुपर्ने भ्रमणमा सहभागी व्यवसायी बताउँछन् । मुलुकभित्र आयात गरेर व्यापार गर्ने प्रवृत्ति बढेकोले यसलाई रोक्न नेपाल सरकारले नै पहल गर्नुपर्ने परिसंघका शर्माले बताए।
‘हाम्रा आर्थिक नीति भन्सार तिरेपछि जेसुकै पनि ल्याउन सक्ने आयातमुखी छन्,’ शर्माले भने, ‘हाम्रा कानुन नसुधारेसम्म व्यापारघाटाबाट पार पाउन सकिँदैन ।’ भारतबाट आउने कुनै पनि सामानमा कडाइ गर्ने वा नियन्त्रण गर्ने नीति छैन । भारतबाट निर्वाध रुपमा आउने समानमा केही कडाइ गर्ने नीति नेपालले अवलम्बन गर्ने हो भने लगानीकर्ता नेपालमा उद्योग स्थापना गर्न आउन सक्ने व्यवसायीको भनाइ छ।
नेपालले धान्नै नसक्ने गरी आयात गर्नेभन्दा स्वदेशमै उत्पादन गर्ने नीति अवलम्बन गरे मात्र व्यापार घाटा कम हुन सक्ने शर्माले बताए। व्यवसायीले प्रधानमन्त्री ओलीको भ्रमणको बेला नेपालका पक्षबाट व्यापार सन्तुलनको उपाए खोज्ने, आपसी समस्या समाधान गर्ने, पारवहन समस्या समाधान गर्ने र यसअघिका सम्झौता कार्यान्वयनका विषय उठाउनुपर्ने व्यवसायीले मत राखेका थिए।
प्रकाशित: २७ चैत्र २०७४ ०२:२८ मंगलबार