२२ असार २०७७ सोमबार
अर्थ

टिमुर खेतीमा किसान आकर्षित

रिब्दिकोेट गाउँपालिका–७, मा रहेको व्यवसायिक रुपमै जंगलमा गरिएको टिमुर खेती । तस्बिरः मुक्ति

पाल्पा – जंगलमा रहेको टिमुरलाई ‘अपरेशन’ गरी व्यवसायिक बनाउनेतर्फ किसानहरू लागेका छन्। सरकारले जडीबुटीहरूको अनुसन्धान, विकास तथा खेती प्रविधि कार्यका लागि टिमुरलाई प्राथमिकताको सूचीमा राखे पछि टिमुर खेती तर्फ किसानको आकर्षण बढेको हो।

टिमुर संकलन र त्यस पछिका क्रियाकलापमा ध्यान दिन थाले पछि टिमुर किसानको जीवन शैलीमा परिवर्तन आएको छ। अपहेलित बालीका रुपमा लिइने टिमुरले अहिले घर परिवारको आम्दानीसँग महिलाहरूको पहुँच बढाएको छ। टिमुरबाट हुने आम्दानीले महिलाहरूको सामाजिक हैसियतमा सुधार ल्याएको छ । महत्वपूर्ण जडीबुटीको रुपमा रहेको टिमुर लोप हुन थालेपछि जिल्ला वन कार्यालयले संरक्षणका कार्यक्रम सञ्चालन गरेको छ। संरक्षण र प्रवद्र्धनमा ध्यान दिन नसक्दा वर्षेनी टिमुर लोप हुने थालेको भन्दै संरक्षणको पहल अगाडि बढाइएको जिल्ला वन अधिकृत दधिलाल कंडेलले बताए। ‘जथाभावी रुपमा हाँगा काटेर फल टिप्दा लोप हुने खतरा बढेको थियो। जंगलमै रहेका टिमुरका बोटहरूलाई कटिङ्ग गर्ने, मलजल गर्ने र हेरचाह गर्दा उत्पादनमा समेत वृद्धि हुने गर्दछ,’ कंडेलले भने। 

जिल्लाको निजी वनमा भन्दा सामुदायिक वनमा टिमुर प्रशस्त पाइन्छ । स्थानीय बजारमा टिमुरको मूल्य प्रति माना रु ३०० देखि रु ४०० पर्छ। टिमुर भदौदेखि कात्तिकसम्म टिपेर बेच्न सकिन्छ। रिब्दिकोट गाउँपालिका–७, पालुङ्गमैनादीमा ठूलोचौर कबुलियति सामुदायिक वन समूहले प्राकृतिक रुपमै भएका टिमुर संरक्षण अभियान सञ्चालन गरेको छ।

समूहकी अध्यक्ष दुर्गा पुन भन्छिन्, ‘पहिला टिमुर प्रशस्तै हुने जंगलमा बिस्तारै कमी हुँदै गएको थियो। अहिले फेरी साढे तीन हेक्टर क्षेत्रमा यसको व्यवसायिक रुपमै उत्पादनको प्रयास गरेका छौं ।’ गरिबीको रेखामुनी रहेका विपन्न समुदायका लागि सरकारले वन हस्तान्तरण गरेपछि यहीको जंगलमा अम्रिसो, तेजपात तथा अन्य जडिबुटी लगाएर आम्दानी लिन थालेको पुनले बताइन् । समूहका सचिव केशव गाहाले जंगलमै रहेको टिमुर टिप्नको लागि समस्या भएको बताए । उनी भन्छन्, ‘पहिला जंगलमै टिप्नको लागि जान पनि नसकिने अवस्थामा थियो। जंगलका वनमारा तथा अन्य पतझरहरू फडानी तथा काँडा कटानी गरेर फालेका छौं । गोडमेल गरेर कटिङ्ग पनि ग¥र्यौं अहिले उत्पादन दिन थालेको छ।’ जिल्ला वन कार्यालयको एक लाख रुपैयाँ अनुदान र २० दिन १६ घरधूरीको श्रमदानबाट जंगललाई व्यवस्थित गराइएको उनले बताए । 

टिमुरको व्यावसायिक खेती हुन नसक्दा उत्पादन वर्षेनी घटेको अवस्थामा प्राकृतिक जंगलका टिमुर संरक्षणमा लागेको वन प्राविधिक रामचरण चौधरी बताउँछन्। ‘जथाभावी फँडानी गरेर टिप्दा टिमुर पहिलाजस्तो गरी बोट र फल नै देखिन छाडेको थियो। यस क्षेत्रलाई पकेट क्षेत्र बनाउने योजना अनुसार काम गरेका छौं। किसानहरू पनि उत्साहित छन्। हामीले प्राविधिक ज्ञान दिइरहेका छौं,’–प्राविधिक चौधरीले भने। हामी टिमुरको अपरेशन गरेर विरुवाहरू समेत थप गर्ने र उत्पादन बढाउनेमा लागेका छौं, उनले भने। 

टिमुरको बोक्रा तथा फल सेवनले अपच भएमा, हैजा, ग्याष्ट्रिक, पेटको गडबढी, जुका परेमा, कलेजोको लागि शक्तिवद्र्धक, पिसाब खुलाउन, कब्जियत, कप, पसिना निकाल्न, ज्वरो घटाउन, रगत सफा गर्न औषधिको रुपमा प्रयोग गरिन्छ। टिमुरलाई अचार तथा मसलको रुपमा प्रयोग गरिन्छ भने फल तथा पातको धुलो दात माँझ्नका लागि समेत प्रयोग हुँदै आएको छ । टिमुर मसला र औषधीमा प्रयोग हुने सुगन्धित जडिबुटीजन्य फल हो।

जिल्लाका अधिकांश पाखो बारीमा टिमुर खेती हुने गरेको छ । स्थानीय घरेलु औजार र प्रविधिको प्रयोग गरी पुरै फल टिप्न नसक्दा किसान अन्यौलमा रहेको समयमा संरक्षण अभियानले टिमुर खेती फस्टाउने नेकपा एमालेका उपाध्यक्ष मोहनबहादुर थापाले बताए। वनजङगलमा प्रशस्त पाइने टिमुरलाई व्यवसायिक रुपमै खेती गर्ने हो भने विपन्न समुदायको आर्थिक क्षमतामा वृद्धि हुने थापा बताउँछन्। 

प्रकाशित: २६ चैत्र २०७४ १०:२५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App