१६ चैत्र २०८० शुक्रबार
अर्थ

अन्तर्राष्ट्रि बजारमा फड्को मार्दै नेपाली चिया

स्याङबोचेमा नेपाली चियाको स्वाद लिँदै विदेशी चिया क्रेता । तस्बिर सौजन्य : राष्ट्रिय चिया तथा कफी विकास बोर्ड ।

काठमाडौं – जर्मनीका चिया बायर (क्रेता) थोमस शुक्रबार सगरमाथाको फेदीमा पुगेर नेपाली चियाको चुस्की लगाउँदा दंग थिए। सेनाको हेलिकोप्टरबाट सगरमाथा आधार शिविर नजिकै स्याङबोचे पुगेका थोमस नेपाली चियाको स्वादसँगै त्यहाँको प्राकृतिक सौन्दर्यता देखेर निकै उत्साहित भएका थिए। ‘नेपाल टी क्वालिटी फ्रम दी हिमालय’ ब्रान्डको नेपाली चिया पिउन पाउँदा उनी प्रफुल्ल भएका हुन्। ‘कहिल्यै नआएको सगरमाथा नजिकै बसेर टी टेस्ट गर्न पाइयो,’ उनले भने, ‘नेपालको चिया निकै गुणस्तरीय लाग्यो।’

थोमसमात्र होइन शुक्रबार नेपाली चियाको स्वाद चाख्न १९ विदेशी चिया बायर स्याङबोचे पुगेका थिए। अस्ट्रेलियाकी सरिन जोन्स्टनले सगरमाथाको काखमा बसेर चिया पिएको क्षण आफ्नो जीवनकै लागि अविस्मरणीय रहेको बताइन्।

अमेरिका, अस्ट्रेलिया, चीन, जापान, फ्रान्स, क्यानडा, जर्मनी, रुस, डेनमार्क, भारतलगायत मुलुकका कफी बायर सगरमाथा आधार शिविरमा नेपाली चियाको टेस्ट गर्न पाउँदा प्रफुल्ल भए।

सगरमाथाको फेदी स्याङबोचेमा नेपाली चियाको टेस्ट लिन पाउँदा अमेरिका, अस्ट्रेलिया, चीन, जापान, फ्रान्स, क्यानडा, जर्मनी, रुस, डेनमार्क, भारतलगायत मुलुकका कफी क्रेता प्रफुल्ल देखिए।

नेपाली चियाको मार्केटिङ र ब्रान्डिङ गर्नका लागि सगरमाथा आधार शिविरमा ‘टी टेस्टिङ’ कार्यक्रम राखिएको राष्ट्रिय चिया तथा कफी विकास बोर्डका कार्यकारी निर्देशक शेषकान्त गौतमले बताए। ‘पहिलो पटक ‘नेपाल टी क्वालिटी फ्रम दी हिमालयन’ ब्रान्डमा चिया तयार गरेका छौं,’ गौतमले भने, ‘नेपाली चियाले अब अन्तर्राष्ट्रिय बजारमा फड्को मार्छ।’

नेपाली अर्थोडक्स चियाले पहिलो पटक आफ्नै ट्रेडमार्क पाएको हो। यसअघि नेपाली चिया दार्जलिङलगायत विभिन्न ट्रेडमार्कमा विदेशमा बिक्री हुँदै आएको थियो। ‘नेपालको चियाप्रति विदेशीको निकै आकर्षण देखियो,’ गौतमले भने, ‘एउटै ट्रेडमार्क बनाएपछि विदेशी बायरहरुले निकै राम्रो रेस्पोन्स गरेका छन्।’

ट्रेडमार्क प्रयोग गर्न भने उत्पादकले प्रक्रिया पु-याउनुपर्नेछ। ‘चिया टिप्दादेखि प्रशोधनसम्म तोकिएका मापदण्ड पूरा गरेपछि नेपाल चियाको ब्रान्ड प्रयोग गर्न पाइन्छ,’ कार्यकारी निर्देशक गौतमले भने, ‘यो ब्रान्डलाई विदेशीले राम्रो मूल्यमा खरिद गर्छन्।’

नेपालबाट वार्षिक करिब तीन अर्ब रुपैयाँको चिया निर्यात हुँदै आएकोमा अब अझै बढ्ने अपेक्षा गरिएको छ। ‘विदेशी बायरहरु पनि नेपालको पहिलो ब्रान्डप्रति निकै आकर्षित छन्,’ गौतमले भने, ‘नेपाली चिया बजार अझै विस्तार हुन्छ।’

अहिले मुलुकभर दुई करोड ४० लाख किलो चिया उत्पादन हुन्छ। देशभर २८ हजार हेक्टर क्षेत्रफलमा चिया खेती हुँदै आएको बोर्डका योजना अधिकृत गौरब लुइँटेलले बताए। ‘वार्षिक करिब २ करोड ४० लाख किलो चिया उत्पादन हुँदै आएको छ,’ उनले भने, ‘त्यसमा ५५ लाख किलो चिया अर्थोडक्स छ।’

नेपाली चिया आफ्नै ब्रान्डमा निर्यात हुने भएपछि किसान निकै उत्साहित छन्। उद्योगीले ट्रेडमार्क प्राप्त गर्न बोर्डमा निवेदन दिनुपर्ने छ। सरकारले तयार गरेको मापदण्डअनुसार चिया गुणस्तर जाँच गरेपछि मात्र ट्रेडमार्क दिइनेछ। ट्रेडमार्क पाउन रसायनिक विषादी प्रयोग नगरेको बगानमा उत्पादन भएको चिया हुनुपर्छ।

मुलुकका करिब तीन दर्जनभन्दा बढी जिल्लामा चिया खेती हुन्छ। पूर्वी नेपालका संखुवासभा, ताप्लेजुङ, तेह्रथुम, पाँचचर, धनकुटा, इलाम, झापालगायत जिल्लाका किसानले चियाको व्यावसायिक खेती गर्दै आएका छन्।  झापामा ११ हजार ४ सय २३ हेक्टरमा, इलाममा ७ हजार ८ सय ५, पाँचथरमा १ हजार १ सय ३८, धनकुटामा ९ सय ४०, तेह्रथुममा ३ सय ३७ र अन्य जिल्लामा ४ हजार ५ सय २२ हेक्टरमा चियाखेती लगाइएको बोर्डले जनाएको छ । गत वर्ष विदेशी ब्रान्डको ५ करोडको चिया आयात भएको थियो।

अहिले यहाँ उत्पादन भएको सिटिसी चिया ६० प्रतिशत र अर्थोडक्स चिया ९० प्रतिशत अन्तर्राष्ट्रिय बजारमा बिक्री हुन्छ। चियाको बजार प्रवद्र्धन गर्न सरकारले सघाउने कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री चक्रपाणि खनालले बताए। ‘स्वदेशी उत्पादनलाई अन्तर्राष्ट्रिय बजारमा पु-याउनुपर्ने सरकारको दायित्व हो,’ खनालले भने, ‘चियाको उत्पादन वृद्धि र बजार विस्तारमा सघाउनुपर्छ।’

नेपाली चियाले ठूलो मात्रामा रोजगारी सिर्जना र विदेशी मुद्रा आर्जन गरेकाले यसलाई प्रोत्साहित गर्नुपर्ने बोर्डका निर्देशक दीपक खनालले बताए। ‘विदेशबाट पनि व्यवसायी आएकाले महोत्सवले विश्व समुदायमा सकारात्मक सन्देश प्रवाह भएको छ,’ निर्देशक खनालले भने।

चियाको सार्वजनिक खरिद—बिक्री हुने स्थान ‘अक्सन’ स्थापना नहुँदा यहाँ उत्पादित कफी अन्तर्राष्ट्रिय बजारमा किनबेच गर्न कठिनाइ भएको अवस्थामा पहिलो पटक झापामा अक्सन स्थापना गर्ने तयारी भइरहेको छ। यहाँको चिया ठूलो परिणाम भारत हुँदै विदेशी बजारमा जान्छ। अक्सन नहुँदा भारतका उद्योगीले नेपाली चियालाई आफ्नो ब्रान्डमा बिक्री गर्छन्।

प्रकाशित: २५ चैत्र २०७४ ००:३२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App