११ आश्विन २०८१ शुक्रबार
image/svg+xml
अर्थ

पर्यटन दिवसः वर्षाले पर्यटकीय गतिविधि हुनै पाएनन्

विश्व पर्यटन दिवसमा अवसरमा शुक्रबार पोखराको पर्यटक बसपार्कमा ओर्लिएका पर्यटकलाई स्वागत गर्दै पर्यटन व्यावसायी। वर्षाका कारणले पर्यटकीय गतिविधि प्रभावित भएको छ। तस्बिरः नागरिक

‘पर्यटन र शान्ति’ भन्ने मूल नाराका साथ शुक्रबार ४५ औं विश्व पर्यटन दिवस मनाइरहँदा सबैखाले पर्यटकीय गतिविधि वर्षाका कारण प्रभावित भएका छन्। विहीबार बेलुकीदेखि सुरु भएको वर्षाले सबैतिरका पर्यटकीय गतिविधि प्रभावित भएको पर्यटन व्यावसायीले बताएका छन्। पर्यटकको आउजाउ रोकिएको छ भने निर्धारित कार्यक्रम पनि स्थगित भएका छन्।  

पर्यटन व्यावसायीले पर्यटन दिवसको छेको पारेर शुक्रबारका लागि विभिन्न कार्यक्रम समेत तय गरेका थिए। पोखरामा पोखरा पर्यटन परिषद् (पिटिसी)को संयोजनमा हरेक वर्ष विश्व पर्यटन दिवसका अवसरमा कार्यक्रम गरिँदै आएको थियो। तर, शुक्रबार दिनभरको वर्षाका कारण निर्धारित कार्यक्रम गर्न नसकिएको परिषद्का अध्यक्ष तारानाथ पहारीले बताए।  

परिषद्ले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल हुँदै भित्रिने पहिलो पर्यटकलाई पोखरामा स्वागत गर्ने र विभिन्न प्याकेज उपलब्ध गराउने तयारी गरेको थियो। होटल संघको संयोजनमा विमानस्थलमा पञ्चेबाजाका साथ पाहुनाको स्वागत गर्ने तयारी भएपनि वर्षाका पोखरामा शुक्रबार कुनैपनि हवाई उडान हुन सकेनन। त्यसले गर्दा विमानस्थलको कार्यक्रम समेत हुन नसकेको पहारीले बताए। परिषद्को संयोजनमा विमानस्थलमा हरेक वर्ष पर्यटकको स्वागत गर्ने गरिएको थियो। हवाई उडान नभएपछि पाहुना आउन नसक्दा विमानस्थलको कार्यक्रम हुन नसकेको उनले बताए।  

त्यस्तै पोखराको पर्यटन बसपार्कमा स्थलमार्ग हुँदै भित्रिने विदेशी पाहुनालाई स्वागत गर्नेगरि कार्यक्रम तय गरिएको थियो। स्थलमार्गका पर्यटकलाई स्वागत गर्ने क्रममा चितवनबाट आएका पाहुनालाई बसपार्कमा स्वागत गरिएको थियो। ‘काठमाडौंबाट हिडेका पर्यटक बोकेका बस पोखरा आउनै सकेनन। अरुबेला सामान्य अवस्थामा दिउँसो ३ बजेतिर बस आइपुग्थे। तर शुक्रबार बाटो अवरोधले गर्दा पाहुना आउन पाएनन,’ नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्टस (नाट्टा) गण्डकी अध्यक्ष किशोर दाहालले भने।  

दाहालका अनुसार चितवनबाट आएका पर्यटकलाई भने बसपार्कमा स्वागत गरिएको थियो। ‘रमझमपूर्ण तरिकाले पर्यटन दिवस मनाउन पाइएन,’ उनले भने, ‘पर्यटकको आउजाउ नै रोकिने गरि वर्षा भयो। त्यसले सबैतिरका कार्यक्रममा अवरोध पुगेको हो। उनका अनुसार शुक्रबार कुनैपनि हवाई जहाज पोखरा आउजाउ गर्न सकेनन। पोखरा अन्तर्राष्ट्रिय विमानस्थल शुक्रबार खुल्नै सकेन। त्यसले गर्दा पाहुना आउन पाएनन। पोखराबाट बाहिरिने पाहुना पनि गाडी दिएर काठमाडौंको यात्रामा निस्केका थिए।  

त्यस्तै पर्यटन दिवसकै अवसर पारेर पर्यटकीय क्षेत्र लेकसाइडमा शुक्रबार बेलुकी आयोजना गरिएको एकदिने मिनि सडक महोत्सव पनि प्रभावित भएको छ। रेस्टुरेन्ट एण्ड बार एशोसिएसन अफ नेपाल (रेबान) पोखराले आयोजना गरेको महोत्सवलाई औपचारिकता मात्र दिएको अध्यक्ष विश्वराज पौडेलले बताए। उनका अनुसार शुक्रबार देखि वर्षा हुने भन्ने पूर्वसूचना आइसकेको अवस्थामा पनि महोत्सवको आयोजना गरिएको थियो। तर, महोत्सवमा गतिविधि हुन नसकेको उनले बताए।  

‘हामीले मिनि सडक महोत्सवलाई औपचारिकता मात्र दियौं। तर, पर्यटक आउने र रमाउने भन्ने हुनै सकेन। सडकमा रेस्टुरेन्ट निकालेर लेकसाइडलाई सजाएर जागरुक बनाउने तयारी थियो। तर, सबै गतिविधि वर्षाका कारण विथोलियो,’ उनले भने, ‘आन्तरिक पाहुना समेत आउन सक्ने अवस्था रहेन।’ यो बेला पर्यटकीय सिजन सुरु भएकोले पोखरामा विदेशी पाहुनाको आगमन बढ्न सकेको थिएन। त्यसैमाथि आउजाउ नै प्रभावित हुनेगरि हवाई र स्थलमार्ग अवरुद्ध हुँदा पर्यटन क्षेत्र झनै अप्ठेरोमा परेको उनले बताए।  

पोखरा आउने तयारीमा रहेका पर्यटक काठमाडौंमै रोकिएको र पोखराबाट फर्किनेहरु पनि पोखरामै रोकिएको पनि व्यावसायीले बताएका छन्। स्थलमार्ग हुँदै आउजाउ गर्नेहरु पनि तोकिएको समयमा गन्तव्यमा पुग्न नसकेको उनीहरुले बताए।  

भिजिविलिटी नपुगेपछि पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट शुक्रबार कुनैपनि उडान हुन सकेनन। पोखराबाट काठमाडौं, भरतपुर, भैरहवा र नेपालगञ्ज लगायतका गन्तव्यका लागि नियमित उडान हुन्छन्। तर, शुक्रबार पोखरा विमानस्थल खुल्नै नपाएपछि कुनैपनि उडान हुन नसकेको हवाई कम्पनिले बताएका छन। पोखराबाट यो बेला बुद्ध, यती र श्री एयरलाइन्सले दिनमा करिब ३० वटा उडान गर्छन। ती कुनैपनि उडान हुन नसकेको हवाई कम्पनिले बताएका छन्।  

प्रकाशित: ११ आश्विन २०८१ १७:२१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App