७ वैशाख २०८१ शुक्रबार
अर्थ

हुलाकी राजमार्गमा गुणास्तरहीन काम

बारा – वीरगन्ज–कलैया–बरियारपुर हुलाकी राजमार्ग मापदण्डविपरीत बनेको पाइएको छ। सडकमा माटो हाल्दा तह–तह रोलिङ गर्नुपनमा निर्माण कम्पनीले उक्त मापदण्ड पालना नगरेको हो ।हुलाकी सडक १२ मिटर चौडाइमा निर्माण भइरहेको हुलाकी राजमार्ग आयोजना कार्यालय वीरगन्जले जनाएको छ।

आयोजनाका अनुसार वीरगन्ज महानगरपालिकाको लक्षुमनवादेखि महागढीमाई नगरपालिकाको बरियारपुरसम्म करिब २० किलोमिटर खण्ड स्वच्छन्द÷पप्पु÷हिम सगरमाथा जेभीले निर्माण गरिरहेको छ । आयोजना कार्यालयका अनुसार यो ८५ करोड ८५ लाख रूपैयाँको काम हो ।यसलाई पप्पु कन्सट्रक्सनले निर्माण गरिरहेको वीरगन्जस्थित आयोजना प्रमुख अनुठालाल पटेलले जानकारी दिए।

प्राविधिकका अनुसार सडक निर्माणका क्रममा अधिकतम २५ सेन्टिमिटरसम्म नयाँ माटो राख्दा त्यसमा रहेको पानीको मात्रा जाँच गर्नुपर्ने, माटोमा पानीको मात्रा कम भेटिए पानी हाल्नु पर्ने र त्यसपछि माटोलाई रोलिङ गरी कम्पेक्सन जाँचेर मात्रै अर्को तह माटो राख्नुपर्छ । तर, सडक निर्माण थाल्दा पप्पु कन्सट्रक्सनले यो प्रावधान पूरा नगरेको हुलाकी राजमार्ग आयोजनाका अधिकारीहरूले नै बताए।

निर्माण भइरहेको सडकमा अहिले कालोपत्रेबाहेक दायाँ–बायाँ गरी दुवै छेउमा दुई मिटरसम्म नयाँ माटो राखिए पनि निर्माण कम्पनीले एकपटक पनि रोलिङ नगरेको मोतिसरका भोला मियाँले बताए ।आयोजना प्रमुख पटेलले सडकमा राखिएको माटोमा रोलिङ गर्नुपर्ने भए पनि निर्माण कम्पनीले अझै सुरु नगरेको बताए । निर्माण कम्पनीले मापदण्ड अनुसार तह–तह रोलिङ गर्नुको साटो माटोमाथि माटो मात्रै राखेको उनको भनाइ छ।

पहिलेदेखि नै ५.५ मिटरमा कालोपत्रे र एक–एक मिटरमा ग्राभेल र माटो रहेको सडकमा अहिले दायाँबायाँ दुवैतिर गरी अढाइ–अढाइ मिटर माटो पुरेर सडक चौडा गर्ने काम गरिएको छ ।आयोजना प्रमुख पटेलले आर्थिक लाभ लिन निर्माण कम्पनीको विरोध नगरी भित्रभित्रै सघाइरहेको आयोजनाका अन्य अधिकारीको आरोप छ।

जिल्लामै निर्माण भइरहेको वीरगन्ज–पथलैया ६ लेनको व्यापारिक मार्ग र मानवट–कलैया–मटिअर्वा हुलाकी राजमार्गमा विगत एक वर्षदेखि निर्माण कम्पनीले २० सेन्टिमिटरसम्म नयाँ माटो राख्दा त्यसमा पानी हालेर रोलिङ गर्दै आए पनि पप्पु कन्सट्रक्सनले निर्माण गरिरहेको यो सडकमा त्यो मापदण्ड पूरा गरेको छैन ।संघीय समाजवादी फोरम नेपालका प्रतिनिधिसभा सदस्य हरिप्रसाद रौनियारको निर्माण कम्पनी पप्पु कन्सट्रक्सनले बढी नाफा कमाउनसडकमा राखिएको माटोलाई तह–तह राखेर रोलिङ नगरेको स्थानीयको आरोप छ।

यसरी मापदण्ड पूरा नगरी निर्माण गरिएको सो सडक नटिक्ने जानकार बताउँछन् । पप्पु कन्सट्रक्सनका इन्जिनियर अजयकुमार गुप्ताले सडकको दुवै छेउमा नयाँ माटो जम्मा गर्ने काम मात्रै गरिएको तर्क गरेका छन् ।अहिले केही भागमा राखिएको नयाँ माटोलाई नियमअनुसार रोलिङ गरिएको छ भने कुनै भागमा माटोलाई जम्मा गरिराख्ने मात्रै गरिएको गुप्ताले बताए।

औसतमा एक किलोमिटर सडक निर्माण गरेबापत पप्पु कन्सट्रक्सनले हुलाकी राजमार्ग आयोजनासँग चार करोड २० लाख रुपैयाँभन्दा बढी रकम लिने सम्झौता गरे पनि सुरुमै उसले बढी नाफाका लागि सडकको गुणस्तरसँग खेलबाड गरेको देखिएको छ । फोरम नेताको निर्माण कम्पनीले यसअघि देशका विभिन्न भागमा निर्माण गरेका पुल र कालोपत्रे सडक निर्माण सम्पन्न भएको केही समयपछि नै भत्किएका र भासिएका छन् ।

 

प्रकाशित: २२ चैत्र २०७४ ०२:२५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App