६ वैशाख २०८१ बिहीबार
अर्थ

६ अर्बमा कोसी करिडोरको ठेक्का सम्झौता

पाँचथर – पूर्वी पहाडलाई तराई र काठमाडौसँग जोड्ने दु्रत सडक मार्गको रुपमा लिइएको ‘कोसी करिडोर’को काम अघि बढेको छ । पुष्पलाल (मध्यपहाडी) लोकमार्ग छोट्याउने गरी अघि सारिएको योजनाको सातवटा प्याकेजकै ठेक्का स्वीकृत भएको छ।

सुनसरीको चतरादेखि पाँचथरको गणेश चोकसम्म दुई लेनको सडक बनाउने ‘कोसी करिडोर सडक विस्तार योजना–२’को पाँच प्याकेजको काम सुरु हुन लागेको छ भने दुई प्याकेज ठेक्का सम्झौता हुने चरणमा छन्।

पाँच प्याकेजको ठेक्का सम्झौता भई मोबिलाइजेसन भइसकेको आयोजनाका इन्जिनियर नारायण पौडेलले बताए । उनका अनुसार दुई प्याकेजको ठेक्का स्वीकृत भइसकेकाले सम्झौता मात्र हुन बाँकी छ । ६ अर्ब १३ करोड रुपैयाँको ठेक्का स्वीकृत भएको उनको भनाइ छ।

चार अर्ब ९२ करोड रुपैयाँमा ठेक्का लागेको पाँच प्याकेजमा काम सुरु हुन थालेको इन्जिनियर पौडेलले जानकारी दिए । हालै दुई प्याकेजका लागि एक अर्ब ४४ करोड रुपैयाँको ठेक्का स्वीकृत भएको छ । बोलपत्र स्वीकृत गर्ने आशयको सूचना निस्किएकाले केही दिनमै सम्झौता हुनेछ । एकैपल्ट सातवटा प्याकेजको बोलपत्र आह्वान गरिएको थियो । दुई प्याकेजको ठेकेदार छनोटमा ढिलाइ भएको थियो । सुरुमा सात अर्ब रुपैयाँको इस्टिमेट थियो।

सम्झौता भएको ३० महिनाभित्र ठेकेदार कम्पनीले काम सक्नु पर्नेछ । एक सय ४५ किलोमिटर सडकमा ट्र्याक खोल्न र ग्राभेल गर्न ठेक्का लागेको हो । यसअघिको तमोर करिडोरको सडक र नयाँ ट्र्याक खोल्ने काम हुनेछ । ६० प्रतिशत नयाँ र बाँकी ४० प्रतिशत पुरानो ट्र्याकलाई प्रयोग गरिने इन्जिनियर पौडेलले बताए । पुरानो ट्र्याकको पनि चौडाइ बढाउनु पर्नेछ।

प्रस्तावित तमोर जलाशययुक्त आयोजना बन्ने भयो भने पनि नडुब्ने गरी उचाइमा सडक बनाइने छ । पाँचथरको गणेश चोकमा मध्यपहाडी लोकमार्गलाई यो सडकले भेट्ने छ । यसलाई पूर्वी पहाडका पाँचथर, ताप्लेजुङ, तेह्रथुम र धनकुटाका विभिन्न गाउँबाट तराई तथा राजधानी जान छिटो बाटोको रुपमा लिइन्छ । यो सडकलाई काठमाडौंसम्म जोड्ने वैकल्पिक राजमार्गका रुपमा विकास गर्न खोजिएको छ । मध्यपहाडी लोकमार्गको कार्यालयमार्फत आयोजनाको काम अघि बढाइएको हो।

कोसी तथा तमोरको किनारै किनार सडक विस्तार गर्ने गरी काम अघि बढाइएको हो । चतरादेखि मूलघाट आएपछि तमोर करिडोरको बाटो हुँदै पाँचथरको सुभाङ खोला हुँदै मेची राजमार्ग छोएर गणेश चोक पुग्नेछ । यसअघि बनेको मध्यपहाडी लोकमार्ग घुमाउरो भएकाले छिटो बाटो रोजिएको छ।

निक्कै ठूलो बजेट भएकाले राम्रो काम हुने जनस्तरमा अपेक्षा रहेको पाइन्छ । यो सडक बनेपछि पूर्वी पहडाका बासिन्दालाई तराई तथा काठमाडौंसम्म पुग्न सहज हुने उत्तर–दक्षिण लोकमार्गका डिभिजनल इन्जिनियर कुवेर नेपाली बताउँछन् ।

पूर्वका जनतालाई तराईका धरान, विराटनगर, इटहरी तथा काठमाडौं जान छोटो बाटोको रुपमा यसलाई लिइएको उनको भनाइ छ । प्रदेशको राजनधानी तथा ठूला अस्पताल जान पनि यो सडक सहज हुने छ।धनकुटाको मूलघाटदेखि सुभाङ खोलासम्म तमोर करिडोरको बाटो कोसी करिडोरमा समायोजन गरिएको छ । तमोर नदीको किनारै–किनार यो सडक मूलघाटदेखि चीनको सीमा क्षेत्रमा ओलाङ्चुङगोलातर्फ अघि बढाइएको थियो।

कोसी करिडोरमार्फत निक्कै  ठूलो बजेटका साथ अघि बढेकाले राम्रो सडक बन्ने नेपाली बताउँछन् । चतरादेखि मूलघाटसम्म ३५ र बाँकी मूलघाटदेखि गणेशचोकसम्म रहेको छ । यो ठेक्काअुनसारको काम सकिँदा सडक कालोपत्रे हुने चरणमा पुग्नेछ । चौडाइ विस्तार, घुम्ती, नाला निर्माण तथा ग्राभेलको काम हुनेछ । यो सडकलाई आधार बनाएर विभिन्न शाखा सडकमार्फत विभिन्न बस्तीका बासिन्दाले राहत पाउने देखिन्छ।

मोटो बजेट भएकाले यो सडक चाँडो बन्नेमा स्थानीय उत्साहित छन् । यो सडक भएर काठमाडौं चार सय ४० किलोमीटर हुने नेपालीले जानकारी दिए । यो अरु राजमार्गभन्दा छिटो हो । ‘पूर्वी पहाडलाई तराई तथा राजधानी जोड्ने यो छोटो बाटो हो।

यो द्रुत सडकको रुपमा छ । ओलाङचुङगोलासम्म सडक जोडिएपछि उत्तरी दक्षिणलाई जोड्ने छोटो बाटो पनि हुनेछ,’ नेपालीले नागरिकसँग भने, ‘राम्रो बजेट आएकाले छिट्टै यो सडकको स्तरोन्नति हुनेछ ।’ यो बाटो बन्ने भनेपछि स्थानीय तहमा उत्साह छाएको छ । व्यापार तथा आवगमनमा सहज हुने अनुमान गरिएको छ । यो सडक सम्पन्न भएपछि तराई चाँडै पुग्न सकिने तुमेवा गाउँपालिकाका अध्यक्ष होम थापा बताउँछन् ।


 

प्रकाशित: २० चैत्र २०७४ ०२:११ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App