१६ जेष्ठ २०७७ शुक्रबार
अर्थ

चैते धान खेती बढ्दै

चितवनको खुरखुरेमा चैते धान रोपिँदै । तस्बिर : सविता/नागरिक

चितवन – सिँचाइ सुविधा भएको पूर्वी चितवनमा अहिले चैते धान रोपिँदै छ। पानी नपरे पनि भूमिगत सिँचाइ सुविधा भएका पिप्ले, भण्डारा, कठार, कुमरोज, बछ्यौलीलगायत क्षेत्रमा चैते धान रोपाइँ भइरहेको छ।

गत वर्ष २९ हजार दुई सय हेक्टरमा वर्षे धान खेती गरिएकामा पाँच हजार हेक्टरमा चैते धान लगाइएको जिल्ला कृषि विकास कार्यालय चितवनका सूचना अधिकारी रामराज पौडेलले जानकारी दिए। जसबाट ५७ हजार पाँच सय मेट्रिक टन वर्षे धान र २२ हजार पाँच सय मेट्रिक टन वर्षे धान उत्पादन भएको थियो।

सिँचाइ सुविधा भएकाले पूर्वी चितवनमा दुई बाली धान खेती गरिन्छ। जिल्लाको पश्चिम क्षेत्रमा कतैकतै मात्र चैते धान खेती गर्ने गरिएको छ। जिल्लामा चैते धान खेती हुने क्षेत्रफल बढेको कार्यालयका प्राविधिक सहायक नोदनाथ लामिछाने बताउँछन् । वर्षे धान खेतीको क्षेत्रफल भने घट्दै गएको छ। तीन वर्षअघिको तुलनामा वर्षे धान खेती गर्ने क्षेत्रफल सात सय हेक्टरले घटेको छ। सोही अवधिमा चैते धान खेती गर्ने क्षेत्रफल पाँच सय हेक्टर बढेको उनले बताए।

‘सिँचाइ सुविधा बढेको छ,’ उनले भने, ‘त्यसैले यो वर्ष चैते धान खेतीको क्षेत्रफल थप बढ्ने अनुमान गरिएको छ।’ वर्षे धानभन्दा धेरै फल्ने भएकाले किसानले चैते धान रोप्ने लामिछाने बताउँछन्। वर्षे धानको तुलनामा रोग र किरा कम लाग्ने भएकाले पनि किसानले चैते धान रोप्न प्राथमिकता दिन थालेको उनले बताए। 
खैरहनी नगरपालिका–१ ज्यामिरेका उत्तम अधिकारीले यस वर्ष सात कट्ठामा चैते धान रोपेका छन्। घरमा खान वर्षे धान लगाउने उनी बिक्री गर्नको लागि भने चैते धान रोप्छन्। धेरै फल्ने तथा रोग कम लाग्ने भएपनि चैते धान भित्राउन समस्या हुने उनको अनुभव छ। गत वर्ष चैते धान राम्ररी नपाक्दै बारीमा थ्रेसर गरेर मिललाई बिक्री गरे।

वर्षात्मा पानी पर्न थालेपछि उत्पादन थन्क्याउन र सुकाउन समस्या हुने भएकाले कम मूल्यमै भएपनि बारीबाटै धान मिलमा लगेको उनी बताउँछन्। ‘राम्ररी नसुकाएर राख्दा बिग्रन्छ,’ उनी भन्छन्, ‘राम्ररी नसकुकेको धान पनि सुकाएर कुट्ने मेसिन भएकाले सजिलो भयो।’

चितवनमा अहिले बद्रिनाथ १, हर्दिनाथ २ र चैतै ४ गरी प्रमुख तीन जातका चैते धान लगाउने गरिएको छ। किसानले चैतमा लगाउनका लागि उपयुक्त, मसिनो तथा मिठो जातको धान पाउन सकेका छैनन्। चैते धानकै रुपमा लगाउन रुचाइएको सिएच ४५ जात हराएको लामिछानेले जानकारी दिए। यस्तै, चितवनमा पहिले लोकप्रिय रहेको मन्सुली धान लोप भएको छ। सावित्री लोप हुने अवस्थामा पुगेको उनले बताए।

चैते धान लगाउँदा अधिकांश किसानले बिक्री गर्न मोटा जातका धान लगाउने गरेका छन्। मोटा धान चिउरा बनाउन उपयुक्त मानिन्छ। राम्ररी नसुकेका धानबाट पनि चिउरा उत्पादन हुने भएकाले किसानले चैतमा मोटा जातका धान रोप्ने गरेको लामिछानेले बताए।  

चैते धान नरोप्नेले मकै तथा तरकारी खेती गर्ने र जमिन खाली छाड्ने गरेको पाइन्छ। जिल्लाका सबै ठाउँमा सिचाँइको व्यवस्था गर्न सकियो भने चैते धान खेती धेरै बढ्ने प्राविधिक सहायक लामिछाने बताउँछन्। ‘चैते धान उत्पादन बढाउन धान खेती गर्न किसानलाई प्रोत्साहन गर्नुपर्छ,’ उनले भने, ‘यसबाट उत्पादन वृद्धि भएर आयात प्रतिस्थापन गर्न ठूलो भूमिका रहन्छ।’

प्रकाशित: १८ चैत्र २०७४ ११:०९ आइतबार

खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App