२३ श्रावण २०७७ शुक्रबार
अर्थ

चिनी उत्पादन चार वर्षमा ७३ हजार टनले घट्यो

काठमाडौं  – मुलुकमा चिनीको माग हरेक वर्ष बढ्दै गइरहेको भए पनि स्वदेशी उत्पादन भने घट्दै गएको छ । सरोकारवालका अनुसार चार वर्षको अवधिमा चिनी उत्पादन झन्डै ७३ हजार टनले घटेको छ।

मुलुकमा २०७० सालसम्ममा वार्षिक दुई लाख पाँच हजार टन चिनी उत्पादन हुँदै आएकोमा गत वर्ष एक लाख ३२ हजार टनमात्र उत्पादन भएको नेपाल उखु उत्पादन महासंघका अध्यक्ष कपिलमुनी मैनालीले बताए । यस हिसाबले हेर्दा चार वर्षको अवधिमा मुलुकमा चिनी उत्पादन ७३ हजार टनले घटेको देखिन्छ।

‘२०७० सम्म नेपाल चिनी उत्पादनमा आत्मनिर्भर थियो,’ नेपाल उखु उत्पादन महासंघका अध्यक्ष मैनालीले भने, ‘चार–पाँच वर्षको अवधिमा मुलुकमा चिनी उत्पादन घटेर आयात गर्ने अवस्थामा पुगेको छ।’

मुलुकमा हरेक वर्ष चिनीको माग भने बढ्दै गएको छ । हाल मुलुकमा वार्षिक दुई लाख ५० हजार टन चिनीको माग रहेको छ । जस अनुसार देशमा अझै पनि झन्डै एक लाख २० हजार टन चिनी अपुग देखिन्छ । माग अनुसारको उत्पादन नभएपछि सरकारले समयसमयमा भारत, पाकिस्तान, ब्राजिललगायत देशमा चिनी आयात गरेर माग पूर्ति गर्ने गरेको छ।
चिनी उत्पादनको मुख्य कच्चा पदार्थ उखु हो।

चिनी उत्पादन बढ्नु र घट्नुमा उखु उत्पादनसँग सम्बन्धित रहेको छ । किसानहरू यस पेसाबाट निराश हुने र पलायन हुँदै जाँदा उखु उत्पादनमा ह्रास आएको छ । विभिन्न कारणले उखुखेती घट्दै जाँदा चिनी उत्पादन पनि घटेको अध्यक्ष मैनालीले बताए।

उखु उत्पादन घट्नुमा सबैभन्दा ठूलो समस्या समयमै किसानलाई भुक्तानी नगर्नु हो । यस विषयमा वर्षौदेखि किसान र चिनी उद्योगीबीच ‘लडाइ’ हुँदै आएको छ । खेतबाट उखु काटेर चिनी मिललाई उधारोमा बेच्ने र त्यो भुक्तानी लिन महिनौ र वर्षौंसम्म कुर्नुपर्ने समस्या छ। ‘समयमै भुक्तानी नपाउँदा किसानले नयाँ खेती गर्न समेत पैसा हुँदैन,’ मैनालीले भने, ‘किसानलाई घर परिवार कसरी चलाउने, बच्चालाई कसरी स्कुल पठाउने र चाडबाड मनाउनसमेत समस्या हुँदै आएको छ।’

यो वर्ष पनि उखु क्रसिङको समय सकिएर लगभग सबै मिल बन्दा हुने समयसम्म पनि किसानले भुक्तानी पाउन सकेका छैनन् । अहिलेसम्म चिनी मिल उद्योगीबाट ५०–६० करोडको हाराहारीमा भुक्तानी पाइएको र साढे नौ अर्ब रुपैयाँँ बाँकी रहेको मैनालीले बताए । चैत महिना भित्रैमा खेतबाट उखु निकालेर चिनी मिललाई नबेच्ने हो भने सुकेर नष्ट हुने भएकाले हरेक वर्ष किसानले उधारोमा उखु बेच्न बाध्य हुन्छन्।

भुक्तानीसँगै उखुको मूल्य निर्धारणमा समेत समस्या उत्पादन हुँदै आएको छ । चिनी मिल उद्योगीले सकेसम्म उखुको मूल्य घटाउन खोज्ने र किसानले लागत पनि पाउन नसक्ने अवस्था सिर्जना हुँदा उखु किसान पलायन हुँदै गएका छन् । सरकारले किसानको लागतलाई अध्ययन गरेर उखुको मूल्य तोक्ने गर्छ । भारतबाट चोरी पैठारी भएर सस्तो मूल्यको चिनी ल्याउँदा किसान मारमा पर्ने गरेको गुनासो छ।

२०६६-६७ मा प्रतिक्विन्टल उखुको मूल्य चार सय एक रुपैयाँँ तोकिएकोमा गत वर्षसम्म प्रतिक्विन्टल पाँच सय ३१ रुपैयाँँ २० पैसा पुगेको छ । सरकारले यस वर्ष उखुको मूल्य प्रतिक्विन्टल पाँच सय ३६ रुपैयाँँ ५६ पैसा तोक्ने तयारी गरेको छ।

गुणस्तरीय मल, किटनाषक औषधि र उन्नत जातको बिउ नहुने, सिँचाइको सुविधा नहुनु, मजदुर र प्रविधि उपलब्ध नहुँदा पनि उत्पादन घट्दै गएको छ । समयमा मिल सञ्चालन नहुँदा उखुको तौल घट्न्, उखु काटेको तीन–चार दिनसम्म तौल नहुनु, कृषि ऋणमा चर्को ब्याजदर र झन्झटिलो ऋण प्रक्रियाले गर्दा पनि उत्पादनमा असर गरेको किसानको गुनासो छ।

उखु उत्पादन र चिनी मिलबीचको अर्को ठूलो समस्या भनेको बिचौलियाको प्रयोग हो । चिनी मिलले बिचौलिया प्रयोग गरेर सस्तो मूल्यमा उखु किन्न खोज्नुले किसान सधै मर्कामा पर्दै आएका छन् ।हाल मुलुकमा ८० हजार नौ सय ३१ हेक्टरमा उखुखेती भइरहेको छ । जसमा वार्षिक ३१ लाख टन उखु उत्पादन हुन्छ भने उखु उत्पादनमा झन्डै तीन खर्ब रुपैयाँ बराबरको लगानी रहेको छ । उखुखेती घटेसँगै उत्पादन गर्ने क्षेत्र पनि घट्दै गएको छ।

मुलुकमा हाल १२ वटा चिनी उत्पादन मिलहरू सञ्चालनमा रहेका छन् भने नयाँ थपिने क्रम पनि जारी छ । यस क्षेत्रमा झन्डै एक लाख किसान संलग्न रहेका छन् ।मुलुकमा उखु उत्पादन घट्ने र चिनी उत्पादन पनि घटेको भएपनि मिल भने थपिँदै गएका छन् । हरेक वर्ष किसानलाई भुक्तानी दिने बेलामा चिनी मिलहरूले अर्को वर्षदेखि उखु किन्न नसकिने बताउँदै आएपनि मिलहरू थपिने क्रम भने जारी रहेको मैनालीले बताए।
 

प्रकाशित: १६ चैत्र २०७४ ०७:५९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App