२६ असार २०७७ शुक्रबार
अर्थ

‘अनुहार जले पनि उद्यमशीलता जल्न दिएनौं’

राधा बन लेडी ग्रुपका उद्यमी महिला । तस्बिरः नागरिक।

काठमाडौं – २०६२ सालसम्म राधा श्रेष्ठ एचआइभी एड्स न्यूनीकरणसम्बन्धी जनचेतना फैलाउने अभियानकी सदस्य थिइन् । साथमा आफूलाई सामाजिक क्षेत्रमा पनि क्रियाशील बनाइसकेकी थिइन्।

तर, नियतिले उनको जीवनमा अर्कै मोड ल्याइदियो । कारण थियो – घरकै भान्छाकोठामा रहेको ग्यास सिलिन्डर पड्किनु । त्यसपछि राधाको सामाजिक अभियान ठप्प हुन पुग्यो । ग्यास पड््किदा उनको अनुहार र शरीर चिन्नै नसक्नेगरी जल्यो । त्यसपछि उनी झन्डै दुई वर्ष हराइन् । तर, त्यस अवधिमा उनको आत्मविश्वास र समाजसेवाप्रतिको भावना भने हराउन सकेन । त्यही आत्मविश्वासले राधालाई अहिले एक सफल महिला उद्यमी बनाएको छ।

गत साता अन्तर्राष्ट्रिय महिला उद्यमी व्यापार मेलाको गेटमै थियो राधा बन लेडी ग्रुपद्वारा उत्पादन गरिएका हस्तकला सामग्री । ग्यास सिलिन्डर पड्किएर आगोको लप्काले भेटिएको दाग राधाको अनुहारबाट हराउन सकेको छैन । तै पनि उनी एक उद्यमी महिलाको रुपमा पहिचान बनाउन सफल भइसकेकी छिन्।

राधाले अहिले सल्यान, रुकुम, नेपालगञ्जदेखि दोलखासम्मका २० महिलालाई रोजगारी दिएकी छिन् । उनको समूहमा आगोले पोलेका महिला आत्मनिर्भरताका लागि काम गर्छ।
‘मलाई धेरैले राधा भनेर चिन्छन्, यसपछि हामीले ‘राधा बन लेडी ग्रुप’ नाम दिएर संस्था बनाएका छौं । यही संस्थामार्फत हामी आगोबाट बचेर आएका दिदीबहिनीलाई स्वरोजगार बनाउने अभियानमा लागेका छौं,’ उनले भनिन्, ‘आगोमा परेर बाँचेका धेरै जना लुकेर बस्ने गरेका छन् । हाम्रो समाज साँघुरो छ, तर म यही समाजमा महिलालाई फराकिलो ढंगले बाँच्न सिकाउँछु । हात फैलाएर होइन, आफ्नो खुट्टामा आफै उभ्याउन सिकाउँछु।’

उनले समाज परिवर्तनका लागि महिला उद्यमशीलतालाई जोड दिएको बताइन् । समूहमा केही दिउँ, केही लिउँ भनेर २० जना महिलालाई रोजगार दिएको श्रेष्ठले सुनाइन् । उनको ग्रुपले तितौरा, अचार, मैनबत्ती, पोते, क्रिस्टल गरी करिब २० प्रकारका सामान उत्पादन गर्ने गरेको छ । ‘अनुहार जलेर केही हुन्न, उद्यमशीलता जल्नु भएन,’ उनले भनिन्।

सल्यानकी मुना मगरलाई आफू कसरी आगोमा परेको भन्ने अहिलेसम्म थाहा छैन । तर, उनको शरीर र अनुहार जलेर प्लास्टिक सर्जरी गरिएको छ । अनुहार छोपेर हिँड्नु परेका कारण उनले विद्यालयसमेत जान नपाएको सुनाउँछिन् । बाल्यकालमा आगोमा पर्नु दुर्भाग्य भएको उनी बताउँछिन्।  

‘म जस्तो सामान्य मान्छेलाई गाउँमा सजिलो छैन, तर काठमाडौं आएर साथीहरुसँग काम गर्न पाउँदा खुसी लागेको छ । यहाँ सबै उस्तै–उस्तै भेट्छु,’ उनले भनिन्, ‘मलाई आत्मविश्वास बढेको छ । राधा दिदीसँग काम गर्न पाएको छु । मैनबत्ती, पोतेको सामान, हस्तकलाका सामान बनाउँछु । यसले मलाई धेरै सजिलो भएको छ । समूहमा निःशुल्क काम सिकेपछि घरमा समेत काम गर्न सकिन्छ । अहिले आत्मनिर्भर भएको छु।’

सीता भण्डारी कराँतेकी अन्तर्राष्ट्रिय खेलाडी हुन् । उनले कोरिया, टर्की, रुस, पोल्यान्डलगायत देश भ्रमण गरिसकेकी छिन्, तर उनको एउटा हात छैन । आगोमा परेर हात गुमाएकी उनी बाहिर हिँड्दा अनुहारसमेत छोप्छिन् । उनी पनि अहिले उद्यमी बनेकी छिन्।

दोलखा घर भएकी भण्डारीले तीन अन्तर्राष्ट्रिय सम्मानसमेत पाइसकेकी छिन् । ‘सुरुवातमा मेरो शल्यक्रियाकै क्रममा राधा दिदीसँग भेट भयो । उहाँकै कारणले यस क्षेत्रमा आएकी हुँ,’ उनले भनिन्, ‘अहिले म जस्तै दिदीबहिनीसँग काम गर्छु । एक हात नभए पनि धेरै आइडिया सेयर गर्छु । सकेको काम गर्छु । जसले मलाई ऊर्जा मिलेको छ । हात नभए पनि, अनुहार सर्जरी गरे पनि काम गर्ने उत्साह हटेको छैन ।’

 

प्रकाशित: १६ चैत्र २०७४ ०७:१७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App