१६ चैत्र २०८० शुक्रबार
अर्थ

सहकारीको शरणमा बैंक

काठमाडौं – लगानीयोग्य पुँजी (तरलता) को अभाव भएपछि बैंकहरु निक्षेप संकलन गर्न सहकारी संस्था धाउन थालेका छन्। ऋण लगानी गर्न रकम नभएपछि आकर्षक ब्याजदरसहितको योजना लिएर बैंकहरु सहकारी संस्थाको कार्यालय पुग्न थालेका हुन्।

बैंकमा प्रशस्त लगानीयोग्य पुँजी भएका बेला सहकारी संस्थाको निक्षेपलाई खासै ध्यान नदिने बैंकहरु अहिले भने उच्च ब्याज दिने प्रलोभनसहित सहकारी संस्थामा जान थालेका छन्।

पहिला सहकारी संस्थाहरु निक्षेप संकलन भएको रकम थोरै ब्याजदरमा भए पनि सुरक्षितसँग राखिदिनका लागि बैंक धाउनुपर्ने अवस्था थियो। तर, अहिले भने बैंकहरु सहकारी संस्थामा गएर निक्षेप संकलन गर्न मौका दिन आग्रह गरिरहेका छन्।

लगानीयोग्य पुँजी अभाव भएपछि निक्षेप संकलन गर्न बैंकले अनेक उपाय अपनाउन थालेका छन्। सिसिडीको डिलमा पुगेपछि अधिकांश बैंक लगानी गर्नसक्ने अवस्थामा छैनन्।

पहिला सहकारी बैंकसम्म धाउँथे अहिले भने बैंक सहकारी संस्थासम्म नै रकम संकलन गर्ने अवसर दिनुस् भन्दै आउने गरेको लक्ष्मी बरदान बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष जयनारायण नेपालले बताए। ‘पुरानाभन्दा पनि नयाँ बैंकहरुका प्रतिनिधि सहकारी संस्थाको खाता हाम्रो बैंकमा खोलिदिनुप¥यो भन्दै आउन थालेका छन्,’ उनले भने, ‘पहिले बैंक धाउनुपथ्र्याे, अहिले बैंक नै सहकारी संस्थामा आउन थालेका छन्।

बैंकले बचत खातामा ८ प्रतिशत ब्याज दरसम्ममा सहकारी संस्थाबाट निक्षेप संकलन गरिरहेका छन्। ठूला सहकारीबाट ८ प्रतिशतमै र सानाबाट ६ देखि ७ प्रतिशत ब्याज दरमा रकम संकलन गर्दै आएको एक बैंकरले बताए।

बचत खातामा लक्ष्मी बचत तथा ऋण सहकारी संस्थालाई एनसिसी बैंकले साढे ६ प्रतिशत ब्याज दिँदै आएको अध्यक्ष नेपालले बताए । ‘ब्याज दर आपसी समझदारीमा तय हुने गरेको छ,’ उनले भने, ‘चिनजान र धेरै रकम हुनेलाई अलि बढी र अन्यलाई कम ब्याज दिने गर्छन्।’

पछिल्लो समय निक्षेप संकलनभन्दा कर्जामा माग बढी आएको बैंकरको भनाइ छ। ब्याज दर बढाउँदा पनि निक्षेप संकलन हुन नसकेपछि मुद्दती निक्षेपमा ११ र बचत खातामा ८ प्रतिशत भन्दा बढी ब्याज नदिने सहमति बैंकहरुले गरेका छन्।

बैंकहरुले आक्रामक ढंगले लगानी गरेका कारण तरलता अभाव भएको राष्ट्र बैंकका प्रवक्ता नारायणप्रसाद पौडेलले बताए।

चालू आर्थिक वर्षको ७ महिनामा निक्षेप ११.८ र कर्जा लगानी १६.७ प्रतिशत बढेको नेपाल राष्ट्र बैंकले जनाएको छ । निक्षेपभन्दा बढी कर्जा लगानी गरेपछि बैंकको प्राथमिक कर्जा–पुँजी–निक्षेप अनुपात (सिसिडी रेसियो) ७९ प्रतिशत हाराहारीमा पुगेको छ। सिसिडीको डिलमा पुगेपछि अधिकांश बैंक लगानी गर्न सक्ने अवस्थामा छैनन्।

गत माघसम्म बैंक तथा वित्तीय संस्थाले २५ खर्ब २३ अर्ब २६ करोड रुपैयाँ निक्षेप संकलन गरेका छन्। उक्त अवधिमा बैंकको कर्जा लगानी २२ खर्ब ४३ अर्ब २१ करोड रुपैयाँ पुगेको छ।
 
बैंकमा लगानीयोग्य पुँजी अभाव भएपछि उच्च ब्याज दरमा बैंक तथा वित्तीय संस्थाले सर्वसाधारण व्यक्ति तथा संस्थाबाट निक्षेप संकलन गर्दै आएका छन्। यसले बचतकर्ता व्यक्ति र संस्थालाई फाइदा पुगे पनि उद्योगी व्यवसायीलाई भने असर परेको बताउँछन्।

तरलता अभाव समस्या समाधानका लागि सरकारी निकायले पुँजीगत खर्च वृद्धि गर्नुपर्ने सुझाव विज्ञहरुले दिएका छन् । सरकारी ढुकुटीको रकम खर्च नहुने र निक्षेप संकलनमा सुधार नआउने हो भने अझै बैंकलाई समस्या पर्ने उनीहरु बताउँछन्। लगानीयोग्य पुँजी अभाव भएपछि निक्षेप संकलन गर्न बैंकले अनेक उपाय अपनाउन थालेका छन्।

पहिला ग्राहक बैंकमा धाउनुपर्ने स्थिति थियो भने अहिले बैंक सहकारीकहाँ जाने ‘ट्रेन्ड’ सुरु भएको छ। लगानीयोग्य पुँजी अभावमा बैंकहरु आकर्षक ब्याज दरसहितका योजना लिएर सहकारी संस्था धाउन थालेको सहकारी सञ्चालकहरुको भनाइ छ।

प्रकाशित: ५ चैत्र २०७४ ००:५७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App