coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

एचआर मिट ५ र ६ चैतमा

काठमाडौं– मानव पुँजीको विकास र सशक्तीकरण गर्ने लक्ष्यसहित ग्रोथ सेलर्सले ११औं संस्करणको मानव संसाधन भेला एचआर मिट आगामी चैत ५ र ६ गते आयोजना गर्ने भएको छ । ‘मानव संसाधनले परिवर्तन ल्याउन सक्छ, मानव संसाधनले हाँक्न सक्छ,’ भन्ने नारा तय गरिएको छ।

उक्त एचआर भेलाले संस्थामा सकारात्मक परिवर्तन तथा राष्ट्रलाई टेवा पुर्‍याउन मानव संसाधनलाई प्राथमिकता दिनुपर्छ भन्ने सन्देश दिन चाहेको मंगलबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइयो।
सम्मेलनमा राष्ट्रिय र अन्तर्राष्ट्रिय वक्ताहरू सहभागी हुनेछन् । एक्सेन्चरकी मानव संसाधन प्रबन्ध निर्देशक तनाया मिश्रा र एसियन पेन्ट्स प्रालि भारतका पूर्वमानव संसाधन प्रमुख एनएस आइयर सम्मेलनका प्रमुख वक्ताहरू हुनेछन् । उनीहरुले सोच्ने तरिका र कर्मचारी संलग्नता विषयक प्रस्तुति गर्ने छन्।

दुई सय ५० भन्दा अधिक मानव संसाधन पेसाकर्मी लक्षित उक्त कार्यक्रमका प्रमुख आकर्षणमा प्रमुख कार्यकारी अधिकृतहरू तथा मानव संसाधन विज्ञहरूको छलफल, समानान्तर सत्रहरू, अन्तर्वार्ता, तनाव व्यवस्थापन तथा काम र जीवनमा सन्तुलन सम्बन्धी एकल सत्रहरू रहेका छन् ।

सम्मेलनमा कार्यकारी अधिकृतहरू तथा मानव संसाधन विज्ञहरूबीच रोजगारीको अवसर र सीपमा कमीका विषयमा छलफल चलाइने भएको उक्त पत्रकार सम्मेलनमा जानकारी दिइयो । संस्थागत रूपान्तरण र परिवर्तन व्यवस्थापन, संस्थामा सांस्कृतिक अनुकूलन र मानव संसाधन व्यवस्थापनका नयाँ सामग्रीहरू प्रस्तुत गरिने बताइएको छ।

कामका दौरान सामना गर्ने तनाव न्यूनीकरणका लागि तनाव व्यवस्थापन र काम तथा जीवनको सन्तुलन विषयक एक सत्र हुनेछ । अर्को प्यानल छलफलको सत्र कार्यस्थलमा लैंगिकताका सवालहरूको सामनासँग सम्बन्धित रहनेछ।

२००८ देखि मानव संसाधन भेला आयोजना गरिरहेको मानव संसाधन आयोजक समितिका अध्यक्ष तथा ग्रोथ सेलर्स प्रालिका प्रबन्ध निर्देशक मोहन ओझाले बताए । ‘यसअघि धेरै कम संस्थामा मात्र मानव संसाधन विभाग हुने गथ्र्यो,’ उनले भने, ‘त्यस बेलादेखि नै हामीले निरन्तर रूपमा आफैंमा नौलो यस किसिमको सम्मेलन मानव संसाधनलाई सुदृढ गर्न, सशक्तीकरण गर्न तथा अझ सुसज्जित गर्न आयोजना गरिरहेका छौं ।’ अहिले परिस्थिति बदलिएको भन्दै मानव व्यवस्थापनमा धेरै विकास देखेको उनले बताए।

विभिन्न संस्थाहरूमा कार्यरत एक हजार पाँच सयभन्दा अधिक मानव संसाधन पेसाकर्मीहरू कार्यरत छन् । आयोजकका अनुसार अघिल्लो वर्षको कार्यक्रममा ठूला व्यावसायिक प्रतिष्ठान, बैंकिङ, उत्पादन, सूचना प्रविधि, संस्थान, गैरसरकारी संस्था र देशभरका विभिन्न क्षेत्रका दुई सय ६० जति सहभागी हुने अपेक्षा छ । मानव व्यवस्थापनमा इच्छुक मानव संसाधन र गैरमानव संसाधन पेसाकर्मीले भेलामा भाग लिन सक्नेछन्।

मानव संसाधन भेला २०१८ को शीर्ष प्रायोजक निम्बल इन्फोसिस प्रालि र सह–साझेदार बोस्टन इन्टरनेसनल कलेज छ । यस कार्यक्रमका लागि सिई कन्स्ट्रक्सन, घोराही सिमेन्ट, गुडविल फाइनान्स, युनाइटेड सिमेन्ट र नेपाल एयरलाइन्स कर्पोरेसनबाट सहयोग प्राप्त भएको छ ।

यस कार्यक्रमको व्यवस्थापन कर्पोरेट क्लबले गरेको छ भने ग्रोथ लिडरसिप एकेडेमी परामर्श साझेदार रहेको छ र ग्रोथसेलर्स डट कम वृत्ति विकास साझेदार रहेको छ ।त्यसैगरी, आयोजकले आर्थिक पत्रकार समाजका सदस्यहरूको विकासका लागि आफ्नो वार्षिक प्रतिबद्धता अनुरूप मानव संसाधन भेलाको शुल्कबाट छुट्ट्याइएको २५ हजार रुपैयाँ संस्थाको खातामा जम्मा गरेको जनाएको छ ।

 

 

प्रकाशित: २३ फाल्गुन २०७४ ०१:३१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App