१५ चैत्र २०८० बिहीबार
अर्थ

सेयर बजार झर्ने क्रम रोकिएन

काठमाडौं– निरन्तर ओरालो लाग्दै आएको सेयर बजार सोमबार पनि रोकिएन । सोमबार सेयर बजार मापक नेप्से १६.६९ बिन्दुले घटेको छ।

अर्थमन्त्री युवराज खतिवडाले सेयर बजारका बारेमा आफूले कुनै अभिव्यक्ति नदिएको भन्दै लगानीकर्तालाई आश्वस्त पार्न खोजे पनि नेप्से ओरालो लाग्ने क्रम रोकिएन । यसअघि उनले सेयर बजारलाई अनुत्पादक क्षेत्र भन्दै उक्त क्षेत्रको लगानीलाई प्रोत्साहन नगर्ने आशय व्यक्त गरेका थिए।

साताको पहिलो दिन आइतबार ४१.५६ बिन्दुले घटेको नेप्सेमा सोमबार पनि दोहोरो बिन्दुले गिरावट आयो । सोमबार कारोबार सुरु भएको एक घन्टामै सेयर बजार करिब १५ बिन्दुले बढेको थियो । कारोबार सुरु हुँदा १३०४.४३ बिन्दुमा रहेको साढे ११ बजे नै नेप्से १३१९.५१ बिन्दुमा पुगेको थियो । त्यसपछि ओरालो लागेको नेप्सेमा बन्द हुने बेलासम्मै त्यसले निरन्तरता पायो।

अन्ततः नेप्से परिसूचक १६.६९  बिन्दुले घटेर १२८७.७४ मा आएर बन्द भयो । खतिवडा अर्थमन्त्री नियुक्ति भएदेखि नै सेयर बजार निरन्तर ओरालो लाग्दै आएको छ । पाँच कारोबार दिनमा करिब ६६ बिन्दुले नेप्से घटेको छ । उनी गत सोमबार अर्थमन्त्री नियुक्त भएका थिए।

सोमबार सेयर बजार ओरालो लागे पनि कारोबार भने ३९ करोड ५२ लाख रुपैयाँको भयो । यस दिन एक सय ५३ कम्पनीको कारोबार भएको छ । त्यसमध्ये २१ कम्पनीका सेयरधनीले मात्र कमाए । बाँकीले गुमाएका छन् । आठवटा समूहको उपसूचक ओरालो लाग्दा व्यापार र होटल समूहको उपसूचक भने उकालो लागेका छन् । व्यापार समूहको उपसूचक ३.५ प्रतिशत र होटल ०.१३ प्रतिशतले उकालो लागेको छ । सबैभन्दा धेरै लघुवित्तको उपसूचक २.८७ प्रतिशतले ओरालो लागेको छ।

सबैभन्दा धेरै नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको दुई करोड ३६ लाख रुपैयाँको सेयर किनबेच भयो । हिमालयन डिस्टिलरीका सेयरधनीले ९.७४ प्रतिशत गुमाएका छन् ।बिपिसीको भाउ एफपिओ मूल्यभन्दा तलयसैबीच, बुटवल पावर कम्पनी (बिपिसी)को दोस्रो बजारको सेयर मूल्य थप सार्वजनिक निष्कासन (एफपिओ)को मूल्यभन्दा तल झरेको छ । सोमबार बिपिसीको सेयर प्रतिकित्ता चार सय ९१ रुपैयाँसम्ममा कारोबार भएको छ।

बिपिसीले एक सय रुपैयाँ अंकित मूल्यमा चार सय एक रुपैयाँ प्रिमियम जोडेर पाँच सय एक रुपैयाँमा एफपिओ ल्याएको हो । उसले ४० लाख ८१ हजार कित्ता एफपिओ सार्वजनिक गरेको थियो ।
बिपिसीले दुई अर्ब चार करोड रुपैयाँको सेयर निष्कासन गरेकोमा करिब ५८ करोड रुपैयाँ बराबरको लागि आवेदन नपर्दा सेयर प्रत्याभूति गर्ने संस्थाले किन्नुपरेको थियो ।
 

प्रकाशित: २२ फाल्गुन २०७४ ०३:०८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App