५ वैशाख २०८१ बुधबार
अर्थ

औद्योगिक वातावरण बनाउन सरकार अग्रसर : उद्योगमन्त्री यादव

काठमाडौं– नवनियुक्त उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले मुलुकमा उद्योग–धन्दा सञ्चालन र विकासको वातावरण बनाउनेतर्फ सरकार केन्द्रित रहेको बताएका छन्।

लघु, घरेलु तथा साना उद्योगको वर्तमान अवस्था र अवसरका विषयमा नेपाल घरेलु तथा साना उद्योग महासंघको प्रतिनिधिमण्डलसँग सोमबार उद्योग मन्त्रालयमा आयोजित  कार्यक्रममा मन्त्री यादवले स्वदेशी उद्योगको विकासबिना आर्थिक समृद्धिको कल्पना गर्न नसकिने बताए ।

‘हामी मुलुकमा औद्योगिकीकरणको प्रवद्र्घन र विकास गर्ने प्रतिबद्घताका निर्वाचित भएर आएका हौं उद्योगी÷व्यवसायी ढुक्क हुनुहोस हामीले प्रतिबद्घता पूरा गर्छौं,’ उनले भने ।यो सरकार विगतका सरकारको निरन्तरता नभएको भन्दै इतिहासकै महत्वपूर्ण चरणमा मुलुकको समृद्घि र विकासका लागि महत्वपूर्ण काम गर्ने गरी सरकार गठन भएको उनले प्रस्ट पारे।

मुलुकमा उत्पादनमूलक एवं सेवा क्षेत्रको उद्योगको विकासको लागि सरकार, उद्यमी र श्रमिकबीच असल औद्योगिक सम्बन्धको रहनुपर्ने आवश्यकता औंल्याउँदै मन्त्री यादवले भने, ‘मुलुकको समग्र आर्थिक विकास हासिल गर्न आवश्यक औद्योगिकीकरण, उपभोक्ताको हितको लागि माल वस्तु सहज, सरल र नियमित आपूर्ति हुनुपर्ने र मन्त्रालय अन्तर्गतका क्रियाकलापलाई एकीकृत योजना बनाई कार्यान्वयन तीव्रताका साथ गर्ने छौं।’

नेपाल घरेलु तथा साना उद्योग महासंघका अध्यक्ष श्यामप्रसाद गिरीले नयाँ सरकार गठन भएसँगै नेपाली जनताको आर्थिक समृद्धि र विकासको तीव्र चाहना मुखरित हुन थालेको भन्दै यसतर्फ वर्तमान सरकार राजनीतिक स्थायित्व सहित तीव्रतर गतिमा अग्रसर हुनु अपरिहार्य बनेको बताए ।आर्थिक समृद्धि र बिकासको मुख्य चुनौती कहालीलाग्दो आयात–निर्यात व्यापार असन्तुलनलाई कम गरी युवालाई स्वदेशमै आकर्षक रोजगारीका अवसर सिर्जना गर्नुपर्नेमा उनको जोड थियो।

मुलुकभर करिब तीन लाख ५० हजार घरेलु तथा साना उद्योग दर्ता भई झन्डै दुई लाख ५० हजार उद्योग सञ्चालनमा रहेको तथ्यांक भए तापनि यस्ता उद्योगले कारखानाको आकार ग्रहण गर्न नसकेको भन्दै महासंघका अध्यक्ष गिरीले आम जनमानसमा यस्ता उद्योग पहिचानमा नरहेका, आवश्यक भौतिक पूर्वाधारको अभावमा कार्यस्थल व्यवस्थित हुन नसक्दा युवालाई रोजगारीमा आकर्षण सिर्जना गर्न नसकिएको, सरकारले प्रदान गर्ने सेवा सुविधा पुर्‍याउन नसकिएको अवस्थाप्रति ध्यानाकर्षण गराए।

आत्मनिर्भर अर्थतन्त्रलाई निर्माण गर्ने आवश्यकता महसुस गरी निजी क्षेत्रको छाता संस्था समेतको सहकार्यमा सार्वजनिक निकायमा स्वदेशी वस्तुको उपयोग सम्बन्धी निर्देशिका २०७१ कडाइका साथ लागू गर्न नेपाल सरकारद्वारा आवश्यक निर्देशन जारी गर्न गराउन तत्काल पहल गर्न पनि उनले आग्रह गरे ।
निरन्तर वृद्धि भइरहेको व्यापार घाटालाई कम गर्न निर्यात वृद्धि गर्न अपरिहार्य रहेको हुँदा छिमेकी मुलुक भारत र चीन लगायतका देशले व्यवस्था गरिएको निर्यात प्रोत्साहनअनुरुप नै नेपाली मौलिक उत्पादनको निर्यात वृद्धि गर्न त्यस्ता वस्तुमा भएको आन्तरिक मूल्य अभिवृद्धिको १५ प्रतिशत रकम नगदै अनुदान दिने व्यवस्थाका लागि पहल गर्न पनि अध्यक्ष गिरीको आग्रह थियो।

लघु घरेलु तथा साना उद्योगको कच्चा पदार्थको स्रोत भनेकै कृषि र गैह्रकाष्ठजन्य वन उपज भएको हँुदा सरकारी तथा सार्वजनिक जग्गामा सञ्चालित अल्पकालीन कृषि बजारलाई व्यावसायिक ढंगले सञ्चालन गर्न कृषि पशुपक्षी, सहकारी तथा वन मन्त्रालयसमेतको समन्वयमा स्थायी कृषि बजार उद्योग तथा लगानी प्रवर्धन बोर्डमार्फत कार्यक्रम अगाडि बढाउन पहल हुन अध्यक्ष गिरीले आग्रह गरे।

भेटवार्तामा महासंघका सल्लाहकार लता प्याकुरेल, सुरेश प्रधान, वासुदेव गिरी, राष्ट्रिय उद्योग व्यापार महासंघका अध्यक्ष शिवप्रसाद कट्टेल, नेपाल राष्ट्रिय उद्योग व्यापार संगठनका अध्यक्ष श्याम पाठकलगायतको सहभागिता रहेको थियो।
 

प्रकाशित: २२ फाल्गुन २०७४ ०२:५० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App