५ वैशाख २०८१ बुधबार
अर्थ

१५ हजार हेभी इक्विपमेन्ट चालक अनुमतिपत्रविहीन

काठमाडौं – मुलुकभर सञ्चालनमा रहेका झन्डै १५ हजार हेभी इक्विपमेन्ट चालक अनुमतिपत्रविहीन रहेको पाइएको छ । झन्झटिलो नियमावलीका कारण १७ हजारमध्ये दुई हजारले मात्र अनुमतिपत्र लिएर काम गरिरहेको सम्बन्धित व्यवसायीको भनाइ छ।  

सरकारले भर्खरै संशोधन गरेको सवारी तथा यातायात व्यवस्था नियमावली संशोधनले लामो समयसम्म चालक अनुमतिपत्रविहीन यस्ता चालकलाई राहत मिलेको छ । सरकारले नियमावलीको आठौं संशोधनबाट विभिन्न १७ वटा हेभी इक्विपमेन्ट चालकले सिधै चालक अनुमतिपत्रको परीक्षा दिन पाउने व्यवस्था गरेपछि राहत मिलेको हो।

हाल मुलुकभर सञ्चालनमा रहेका हेभी इक्विपमेन्टमा करिब १५ हजारले चालक अनुमतिपत्र नलिई काम गरिरहेको हेभी इक्विपमेन्ट व्यवसायी महासंघका अध्यक्ष ताराबहादुर कुँवरले बताए । ‘हाल मुलुकभर झन्डै १५ हजार चालकले अनुमतिपत्र नलिई लुकिछिपी काम गरिरहेका छन्,’ कुँवरले भने, ‘नियमावली संशोधनसँगै यी चालकलाई अनुमतिपत्र लिन सहज भएको छ।’

माघ १० गते बसेको मन्त्रिपरिषद्ले सवारी तथा यातायात व्यवस्था नियमावलीको आठौं संशोधन गर्ने निर्णय गर्दै विभिन्न १७ वटा हेभी इक्विपमेन्ट चलाउन चाहने चालकले सिधै चालक अनुमतिपत्रको परीक्षा दिन पाउने व्यवस्था गरेको थियो । फागुन १४ गते राजपत्रमा प्रकाशित भइसकेको छ । पुरानो नियमावलीमा हेभी इक्विपमेन्ट चलाउने चालकले कम्तीमा दुई वर्ष हल्लाका गाडी चलाएको अनुभव हुनुपर्ने व्यवस्था गरेको थियो । यस बुँदालाई निलम्बन गर्दै सिधै परीक्षण दिन पाउने व्यवस्था गरिएको कुँवरले बताए।

नियमावली संशोधनसँग विभिन्न १७ वटा हेभी इक्विपमेन्टको अनुमतिपत्रको परीक्षा सिधै दिन पाइने छ । त्यसरी अनुमतिपत्रको परीक्षा दिन पाउने हेभी इक्विपमेन्टमा मोबाइल क्रेन डोजर, बिटुमिन डिस्ट्रिब्युटर, मिनी डम्पर, एस्काभेटर, फोर्कलिफ्ट ट्रक, मोटर गैडर, चिप्स स्प्रेडर, लोडर, पाइल ड्राइभर छन् । त्यसैगरी, रोड मर्किङ मेसिन, रोलर, ट्रेलर टेक्टर, ब्रिज इन्सपेक्सन इक्विपमेन्ट, पट होल प्याचर, क्रेन माउन्डेट ट्रक र ट्र्याक्टर रहेका छन्।

लामो समयको प्रतीक्षापछि नियमावली संशोधन भए पनि व्यवहारिक रुपमा कार्यान्वयनमा जान केही समय लाग्ने देखिएको छ । ‘व्यावहारिक रुपमा कार्यान्वयनमा जान केही समय लाग्न सक्छ,’ भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका उपसचिव कृष्ण कार्कीले भने, ‘प्रदेश सरकार बनिसकेको अवस्थामा त्यहाँबाट पनि कार्यान्वयन हुने भएकाले केही समय लाग्न सक्छ ।’ लामो समयपछि भएको यो सशोधन भने हेभी इक्विपमेन्ट व्यवसायको लागि धेरै राम्रो भएको कार्कीले बताए।

व्यवसायीका अनुसार हाल मुलुकमा झन्डै १७ हजार हेभी इक्विपमेन्ट रहेका छन् । त्यसमध्ये २५ प्रतिशत काम नभएर बसिरहेको र अरु सञ्चालनमा रहेको कुँवरले बताए।त्यसैगरी, मुलुकमा हेभी इक्विपमेन्ट भित्रिने क्रम पनि तीव्र भएको उनको भनाइ छ । उनका अनुसार प्रतिमहिना पाँच सयका दरले यस्ता ठूला मेसिन भित्रिरहेका छन् । एउटा मेसिन किन्न सस्तोमा ४० लाख पर्छ भने एस्काभेटर, जग खन्ने मेसिन चार करोड रुपैयाँसम्म पर्ने कुँवरले बताए । यस क्षेत्रमा ९० अर्बभन्दा धेरै लगानी भइसकेको व्यवसायीको भनाइ छ।

ठूलो संख्यामा मेसिन हुने तर चालक अनुमतिपत्र लिन कानुनी झन्झट हुँदा यस क्षेत्रमा अनियमिता बढ्दै गएको थियो । भूकम्पपछि हेभी इक्विपमेन्टको आयात ह्वात्तै बढेको छ । देशमा पूर्वाधार निर्माणमा तीव्रता नभएमा मेसिन खालि बस्नुपर्ने जोखिमसमेत रहेको व्यवसायीको भनाइ छ।

यस क्षेत्रमा भूकम्पपछि बैंकहरूको लगानी पनि तीव्र भएको छ । विदेशबाट आयात गरेर स्वदेशमा बेच्ने व्यवसाय पनि फस्टाएको छ । यस क्षेत्रमा एकैपटक ह्वात्तै लगानी बढेको र मेसिनको संख्या पनि धेरै हुन थालेकाले लगानी जोखिमको सम्भावना पनि रहेको कुँवरले बताए ।हेभी इक्विपमेन्ट खासगरी जलविद्युत, सिमेन्ट उद्योग, ढुंगाखानी, पुल, बाटो सडक निर्माण, प्लटिङ र गाउँगाउँमा सञ्चालन हुने गर्छन् । सामान्य अवस्थामा असोजदेखि जेठसम्म हेभी इक्विपमेन्ट सञ्चालन हुन्छन् ।

 

प्रकाशित: २१ फाल्गुन २०७४ ०१:२५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App