७ वैशाख २०८१ शुक्रबार
अर्थ

प्रदेश १ मा पूरक बजेटको तयारी

 विनोद सुवेदी
विराटनगर – बजेट अभावले  काम गर्न अप्ठेरो भएको भन्दै प्रदेश १ को सरकारले पूरक बजेट ल्याउने तयारी गरेको छ । आइतबारको मन्त्रिपरिषद् बैठकले चैत १५ गते पूरक बजेट ल्याउने निर्णय गरेको सरकारका प्रवक्ता हिक्मत कार्कीले जानकारी दिए।

कार्कीका अनुसार केन्द्रीय सरकारले जेठ १५ गते बजेट ल्याउने भए पनि त्यसको कार्यान्वयन साउन १ देखि हुने भएकाले असार मसान्तसम्मका लागि पूरक बजेट ल्याउने तयारी गरिएको हो । कार्कीले भने, ‘तत्काल सरकार सञ्चालनका लागि आवश्यक बजेटको व्यवस्था गर्न चैत १५ गते पूरक बजेट ल्याउन लागिएको हो ।’
प्रदेश सरकारले असार १ गते पूर्ण आकारको बजेट ल्याउने पनि कार्कीले जानकारी दिए  । यस्तै, मन्त्रिपरिषद् बैठकले बजेट निर्माणका लागि आर्थिक कार्यविधि विधेयक तर्जुमाका लागि स्वीकृति प्रदान गर्ने निर्णय पनि गरेको छ । यस्तै, बैठकले सरकारको सय दिने कार्ययोजना ल्याउने निर्णय गरेको छ

फागुन २२ गते सरकारले सय दिने कार्ययोजना सार्वजनिक गर्ने तयारी गरेको कार्कीले जानकारी दिए । प्रदेशकै लाइफलाइनका रुपमा रहेको उत्तर दक्षीण राजमार्गअन्तर्गतको रानी–विराटनगर–धरान ६ लेन सडक परियोजना तथा प्रदेशमा भइरहेका विकास निर्माण परियोजनाको प्रभावकारी अनुगमन गर्ने निर्णय पनि गरेको छ ।
विकासका कामको अनुगमनका लागि आन्तरिक मामिला तथा कानुन मन्त्रीको संयोजकत्वमा अनुगमन समिति गठन गरिने भएको छ । समितिमा आर्थिक मामिला तथा योजना मन्त्री, सामाजिक विकास मन्त्री, वन, वातावरण तथा पर्यटन मन्त्री र मुख्यमन्त्रीको कार्यालयको प्रशासन प्रमुख रहने छन्।

यस्तै, प्रदेशस्तरीय वार्षिक क्यालेन्डर निर्माण गर्ने तयारी पनि सरकारले गरेको छ । मन्त्रिपरिषद् बैठकले आगामी २०७५ सालका लागि प्रदेशले छुट्टै आन्तरिक क्यालेन्डर बनाउन सचिवको संयोजकत्वमा सुझाव समिति गठन गर्ने निर्णय गरेको छ । आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिवको संयोजकत्वमा मन्त्रिपरिषद् कार्यालयका उपसचिव, सामाजिक विकास मन्त्रालयका उपसचिव र एक पञ्चांगविज्ञ रहने गरी क्यालेन्डर निर्माण सुझाव समिति निर्माण गरिएको हो । मन्त्रिपरिषद्को बैठक हरेक हप्ता बिहीबार राख्ने निर्णय पनि आइतबारको बैठकले गरेको छ ।

प्रकाशित: २१ फाल्गुन २०७४ ०१:२२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App