१६ चैत्र २०८० शुक्रबार
अर्थ

दैनिक एक अर्ब ८९ करोड भित्रिन्छ रेमिटेन्स

काठमाडौं – विदेशमा बसेर आर्जन गर्ने नेपालीले औपचारिक माध्यमबाट दैनिक एक अर्ब ८८ करोड ८८ लाख रुपैयाँ स्वदेश पठाउने गरेको पछिल्लो तथ्यांकले देखाएको छ । नेपाल राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षको साउनदेखि पुससम्ममा तीन खर्ब ४० अर्ब ५४ करोड रुपैयाँ औपचारिक माध्यमबाट भित्रेको छ।

गत वर्ष दैनिक एक अर्ब ९० करोड ४१ लाख रुपैयाँ औपचारिक माध्यमबाट भित्रेको थियो । गत आर्थिक वर्ष ०७३-७४ मा ६ खर्ब ९५ अर्ब रुपैयाँ रेमिटेन्स भित्रिएको थियो ।विदेश जाने नेपालीको संख्या घटेका कारण पछिल्लो समय रेमिटेन्स वृद्धिदरमा कमी आएको बताइन्छ । गत आर्थिक वर्षको पुससम्ममा एक लाख ८९ हजार चार सय ३३ जना नेपाली विदेश गएकोमा चालु आर्थिक वर्षको सोही अवधिमा एक लाख ८६ हजार ५३ जनामात्र गएको वैदेशिक रोजगार विभागको तथ्यांकले देखाउँछ । विदेश जानेको संख्या पोहोरभन्दा चालु आवको साउन–पुस अवधिमा तीन हजार तीन सय ८० जनाले कमी आएको छ।

राष्ट्र बैंकका अनुसार केही समयदेखि रेमिटेन्स आयको वृद्धिदरमा कमी आइरहेको बेला चालु आवको पहिलो ६ महिनामा यो आय उल्टै घटेको छ । चालु आवको पुससम्ममा रेमिटेन्स आय अघिल्लो वर्षको तुलनामा ०.५ प्रतिशतले घटेको छ।

अघिल्लो वर्ष पुससम्ममा अघिल्लो वर्षको भन्दा ५.७ प्रतिशत बढी रेमिटेन्स आएको थियो ।सरकारले दुई वर्ष अगाडिदेखि वैदेशिक रोजगारीमा जाने नेपालीका लागि निःशुल्क भिसा र टिकटको व्यवस्था लागू गरेपछि रेमिटेन्स आयको वृद्धिमा प्रभाव परेको बताइन्छ । पछिल्लो समय मध्यपूर्वका रोजगार गन्तव्य मुलुकमा बढेको कूटनीतिक तनाव र आर्थिक मन्दीले रेमिटेन्स आप्रवाहमा कमी आएको हो ।

खाडीमा नेपाली कामदारको प्रमुख गन्तव्य कतारमा साउदी, बहराइन, युएई लगायत छिमेकीले नाकाबन्दी लगाएका छन् । नाकाबन्दीले कतारी उद्योग, व्यवसाय र निर्माण क्षेत्रमा नकारात्मक असर पर्दा कामदारको माग घटेको छ । खाडीको अर्को रोजगार गन्तव्य साउदी अर्थतन्त्र घट्दो तेल मूल्यले प्रभावित भएको छ । यसैबीच, साउदी अरेबियाले निजी क्षेत्रको रोजगारीमा आफ्नै नागरिकलाई प्रोत्साहित गर्ने नीति अन्तर्गत आप्रवासी कामदारलाई राम्रो तलब हुने कामबाट हटाउन कदम चालिसकेको छ।

राष्ट्र बैंकका अनुसार श्रम स्वीकृतिका आधारमा वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या (पुनः श्रम स्वीकृति बाहेक) यो अवधिमा १.८ प्रतिशतले घटेका कारण रेमिटेन्समा प्रभाव परेको हो ।सबैभन्दा बढी रेमिटेन्स मलेसिया, कतार, साउदी अरेबियाबाट आउने गरेको तथ्यांकले देखाउँछ । रोजगारीमा गएका कामदारले देशको अर्थतन्त्र नै जोगाउने गरी रेमिटेन्स भित्र्याए पनि त्यस्तो रकमबाट पुँजी निर्माण भने हुन सकेको छैन । कामदारबाट भित्रिएको रेमिटेन्सको झन्डै ८० प्रतिशत उपभोग र मनोरन्जनमा खर्च हुने गरेको केन्द्रीय तथ्यांक विभागको एक सर्वेक्षणले देखाएको छ।

रेमिटेन्सबाट प्राप्त हुने कुल रकमको २.४ प्रतिशत हिस्सामात्र पुँजी निर्माण हुने गरेको छ । तर वैदेशिक रोजगारीमा गएका कामदारले पठाएको रकमबाट उनीहरुको जीवनस्तर सुध्रिएको सर्वेक्षण प्रतिवेदनमा उल्लेख छ । त्यस्तै वैदेशिक रोजगारीमा जानेले कुल रेमिटेन्सको ७ प्रतिशत ऋण तिर्न र ३.५ प्रतिशत बालबालिकाको शिक्षामा खर्च गर्ने गरेको अध्ययनले देखाएको छ।

सर्वेक्षणअनुसार ५५.८ प्रतिशत घरपरिवारमा रेमिटेन्स आउँछ । गरिबी न्यूनीकरणमा रेमिटेन्सको योगदान महत्वपूर्ण रहेको राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष दीपेन्द्रबहादुर क्षेत्री बताउँछन् ।
बैंक तथा वित्तीय संस्थामा रेमिटेन्सको रकम उल्लेख्य रुपमा रहेको बैंकर बताउँछन् । हाल नेपालमा ४९ भन्दा बढी रेमिटेन्स कम्पनी र २८ वाणिज्य बैंकले रेमिटेन्स भित्र्याइरहेका छन् ।

तीमध्ये इन्टरनेसनल मनी एक्सप्रेस (आइएमई) अग्रस्थानमा छ । प्रभुलगायत कम्पनी बढी रेमिटेन्स भित्र्याउनेमा पर्छन् ।औपचारिक रेमिटेन्सको अवसर भने बैंकिङ विस्तारले नै दिएको हो । यसले कामदार, सरकार र वित्तीय संस्था सबैलाई फाइदा भएको छ । कामदारको कमाइ सुरक्षित रुपले परिवारसम्म पुगेको छ । रेमिटेन्स औपचारिक बन्न थालेको डेढ दशक भएको छ । रेमिटेन्स कम्पनीमा आइएमई र बैंकमा हिमालयनलगायत बैंक सुरुदेखि सेवा दिनेमा पर्छन्।

पछिल्लो समय रेमिटेन्स कारोबार पनि बैंकहरुको मुख्य व्यवसायमा पर्न थालेको छ । पछिल्लो समयमा ग्रामीण क्षेत्रमा समेत बैंकका शाखा खोल्ने क्रम बढेसँगै विदेशबाट पठाएको पैसा सिधै बैंकबाट लिन सहज भएको छ । विशेष गरी चाडपर्वमा रेमिटेन्स बढी भित्रिने गरेको नेपाल राष्ट्र बैंकको भनाइ छ ।
असोज र कात्तिकमा दसैं, तिहार, छठ, इद जस्ता ठूला पर्व पर्ने भएकाले त्यो बेला रेमिटेन्स बढ्ने उनीहरुको भनाइ छ।

हुन्डीलगायत अनौपचारिक माध्यमबाट भित्रिएको रकम पनि लगभग त्यत्तिकै हाराहारीमा हुने अनुमान गरिन्छ । गैरकानुनी तरिका हुन्डीबाट पैसा पठाउने क्रम भने रोकिएको छैन ।बढ्दो आयातले अर्थतन्त्र धराशयी बनाइरहेको बेला रेमिटेन्सले विदेशी मुद्रा आर्जनमा ठूलो योगदान दिएको छ।

प्रकाशित: १८ फाल्गुन २०७४ ०२:०० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App