१५ चैत्र २०८० बिहीबार
अर्थ

सेयर घरपरिवारको अंश बण्डा जस्तै हो: सरोज भट्टराई

सेयर भनेको सामान्य भाषामा घरपरिवारको अंश बण्डा जस्तै हो । कुनै पनि कम्पनीलाई पुँजी आवश्य हुन्छ र पुँजी संकलन गर्न कम्पनीले सेयर निष्कासन गर्छ । कम्पनीले सेयर सर्वसाधारणमा निष्कासन गर्छ । सेयर घाटा र नाफाको सम्झौता पनि हो । यदि कम्पनी घाटामा गयो भने सेयरमा लगानी गर्नेले  घाटाको भागेदार पनि हुनु पर्छ । र कम्पनी नाफामा  गयो भने नाफाको भागेदारी पनि हुनु पर्छ  । कुनै कम्पनीको सेयर किन्नु भनेको आफुले किनेको सेयरको त्यो कम्पनीको मालिक हुनु हो वा जति सेयर किनेको छ, त्यति नै हिस्साको मालिक हुनु हो । कुनै पनि पनि व्यक्तिले १० कित्ताको प्राथमिक सेयर किन्यो भने त्यो व्यक्ति कम्पनीको एक हजारको मालिक हुनु हो ।  नेपालमा १० कित्ताभन्दा माथि सेयर किन्न पाइन्छ । जति सेयर किनेको छ त्यति नै हिस्साको कम्पनीको मालिक हुनु हो । एक कित्ताबराबर एक सय रुपैयाँ पर्छ । १० कित्ताको १ हजार पर्छ । 

प्राइमरी र सेकेन्डरी किसिमको सेयर

सुरुमा कम्पनीबाट निष्कासन भएको सेयर कसैले सोझै खरिद गर्छ भने त्यसलाई प्राथमिक बजारको सेयर भनिन्छ । प्राथमिक सेयरलाई प्राइमरी अर्थात इनिसियल पब्लिक अफरिङ (आईपीओ) भनिन्छ । प्राथमिक सेयरलाई फष्ट ह्यान्ड मार्केट पनि भनिन्छ । बजारमा निष्कासन भइसकेको सेयर र नेपाल स्टक एक्सचेन्जमा सूचीकृत भएर कारोबार भएको सेयर दोस्रो बजारको सेयर हो । अर्थात प्राथमिक बजारमा निष्कासन भइसकेको सेयरलाई फेरी खरिदबिक्री गर्नु भनेको दोस्रो बजार हो । कम्पनीले निष्कासन गरेर एकपल्ट बिक्री गरिसकेको सेयर ब्रोकरको माध्यमबाट खरिद बिक्री गरिने सेयर दोस्रो बजारको सेयर हो ।  जसलाई सेकेन्डरी मार्केट पनि भनिन्छ । 

दोस्रो बजारको सेयर नेपाल स्टक एक्सचेन्जमा सूचीकृत भएर कारोबार भइराखेको हुन्छ । 

नेपालमा अहिले ५० वटा लाइसेन्स प्राप्त ब्रोकर कम्पनीमार्फत सेयरको कारोबार हुन्छ । ब्रोकर कम्पनी व्यक्ति हैन संस्था हो । ब्रोकर कम्पनी धितोपत्र बोर्डबाट लाइसेन्स प्राप्त हुन्छ । 

सेयरको सुरुवात विराटनगर जुट मिलबाट 

नेपालको सेयर निष्कासनको सुरुवात विराटनगर जुट मिलबाट नै भएको मानिन्छ । त्यसैगरी नेपाल बैंकलाई पनि मानिन्छ । नेपालमा विराटनगरको सेयरको खरिदबिक्री गर्ने बेलामा सेक्युरिटिज खरिदबिक्री केन्द्र थियो ।

२०५० सालपछि सोही संस्थालाई नेपाल स्टक एक्सचेन्जमा परिणत गरियो र २०५० माघ ३० गतेबाट नै दोस्रो बजारको सुरुवात भएको हो । 

पहिले र अहिलेको सेयरको अवस्था 

पहिले सेयरको कारोबारका लागि बैंकिङ क्षेत्रको पहुँच थिएन । सेयरको बारेमा नेपालमा ज्ञान थिएन । तर अहिले अवस्था फरक छ । गाउँगाउँमा पनि बैंकिङ क्षेत्रको विस्तार भइरहेको छ । नेपालको ग्रामीण भेगमा समेत अहिले केही न केही रूपमा सेयरको बारेमा ज्ञान बढ्दै गएको छ । 

हाइड्रोपावरले सेयर बाँडेर स्थानीयको जीवन स्तर उक्सिएको छ ।

नेपालमा अहिले हाइड्रोपावरले सेयर निष्कासन गर्दा सेयर निष्कासन गरेको  कुल जारी पुँजीको १० प्रतिशत स्थानीयलाई छुट्याउनै पर्ने कानुनी प्रावधान छ । ब्रोकरले भ्यालीबाहिर पनि शाखा विस्तार गरेर सेयरको कारोबार गर्नेक्रम बढ्दो छ । त्यसैले पनि ग्रामीण भेगमा समेत सेयरका बारेमा चेतना तथा लगानी र बजार विस्तार गर्ने क्रम बढ्दो छ । 

नेपालमा हाइड्रोपावरको उदाहरणका रूपमा हेर्दा चिलिमे हाइड्रो पावरलाई लिन सकिन्छ । चिलिमे हाइड्रो पावरले रसुवावासीलाई सेयर दिएर स्थानीयको जीवनस्तर उक्सिएको देखिन्छ ।  चिलिमे हाइड्रोपावरले बाँडेको सेयरले करोडपति पनि भएका छन् । चिलिमे रसुवा जिल्लामा बनेको हाइड्रोपावर हो । प्रभावकारी रूपमा चिलिमेले सेयर वितरण गरेर कयौंको जीवन स्तर उक्सिएका उदाहरण छन् । 

कम आय भएका परिवारले सेयरमा लगानी गर्ने तरिका

सेयर बजारका वाद शाह भनेर अमेरिकाका वारेन बफेटलाई लिइन्छ । उनी सेयर बजारमा लगानी गर्ने सफल उदाहरणीय व्यक्ति हुन् । २५ डलरबाट सेयरमा लगानी गरेर सेयर बजारमा प्रवेश गरेका बफेट  अहिले ७५ अर्ब डलरका मालिक बेनेका छन् । त्यसैले थारै पैसाले पनि सेयरमा लगानी गरेर मालिक बन्न सकिन्छ । आर्थिक अवस्था न्यून भएकाले पनि सेयर बजारमा लगानी गर्न सकिन्छ । क्षमताअनुसार लगानी गर्न सकिन्छ । निम्न आय भएका परिवारले पनि प्राथमिक सेयर बजारबाट सेयरमा लगानी गर्न सकिन्छ । थोरै आय भएकाले एक हजारबाट लगानी गरेर लखपति पनि हुन सकिन्छ । प्राथमिक बजारमा मात्रै होइन दोस्रो बजारमा पनि प्रवेश गर्न सकिन्छ । आफ्नो घरको फजुल खर्च कटाएर सेयरमा लगानी गर्ने हो भने भविष्यमा सेयरले नै पाल्न सक्छ । आर्थिक क्षमताअनुसार सेभिङ भएको पैसा प्राथमिक बजारमा लगानीको सुरुवात गरेर सेयर बजारमा प्रवेश गर्न सकिन्छ ।  

विद्यार्थीले सेयरमा कसरी लगानी गर्न सक्छन् । एक हजार सेयरमा लगानी गरेको स्कुले विद्यार्थी भविष्यमा लखपति बन्न सक्छ?

भर्खर जन्मेको शिशुदेखि वृद्ध—वृद्धासम्मले पनि सेयरमा लगानी गर्न सकिन्छ । सेयरमा लगानी गर्न उमेरले छेक्दैन । विद्यार्थीले पनि सेयरमा लगानी गर्न सकिन्छ । विद्यार्थीले आमा–बुवाले खाजा खान दिएको पैसा सेभिङ गरेरसमेत सेयरमा लगानी गर्न सकिन्छ । विद्यार्थीलाई दैनिक २५ रुपैयाँ खाजा खान अभिभावकले दिएको छ भने दैनिक ५ रुपैयाँ मात्रै बचाए पनि महिनामा १ 

सय ५० रुपैयाँ बच्छ । जबकि स्कुले विद्यार्थीले पनि एक हजार जम्मा भएपछि सेयरमा लगानी गर्न सक्छन् । विद्यार्थीले पनि अहिलेबाटै यसरी सानो पुँजीबाट सेयरबजारमा प्रवेश गर्ने हो भने एक त सेभिङ गर्ने बानी बस्छ र अर्को उच्च शिक्षाका लागि समेत सहयोग पुग्छ । त्यति मात्रै होइन एक हजार आज सेयरमा लगानी गरेको एउटा स्कुले विद्यार्थी भविष्यमा लखपति बन्न सक्छ । बालबालिकाका लागि पनि अभिभावकले सेयरमा लगानी गरिदिनु पर्छ । बेलैमा सेयरमा लगानी ग¥यो भने भविष्यमा समेत आयआर्जन राम्रै हुन्छ । 

१० हजारको सेयर किन्ने व्यक्ति १ करोडको मालिक

महुली लघुवित्त वित्तीय संस्था लिमिटेडको न्यूनतम १० कित्ता आईपीओ (प्राथमिक) सेयर भर्न पाउने प्रावधान थियो । ३ महिनाअघि एक हजार रुपैयाँमा १० कित्ता प्राथमिक सेयर खरिद गरेका कसैले अहिले २९ हजार रुपैयाँमा सो सेयर बिक्री गर्न सक्छन् । थप ५० प्रतिशत बोेनस सेयर पनि आइसकेको छ । यसमा ५ कित्ता बोनस सेयर थपिँदा १५ कित्ता त सेयर नै हुन्छ । यस्ता उदाहरण नेपालको सेयर मार्केटमा धेरै छन् । हिमालयन बैंकमा २५ वर्ष अगाडि १० हजारको सेयर किन्ने व्यक्ति आज १ करोडभन्दा धेरैको मालिक भइसकेका छन् । यसबाट पनि के सिक्न सकिन्छ भने आज राम्रो कम्पनीमा २० वर्षको व्यक्तिले १० हजार सेयरमा लगानी गर्ने हो भने २५ वर्ष पछि वा ४५ वर्षको उमेरमा १ करोड भन्दा धेरैको मालिक बन्न सकिँदोरहेछ भन्ने पनि सिक्न सकिन्छ ।

धेरै पैसा हुने परिवारले पैसालाई विविधीकरण गर्न सन्छ 

पैसाले पैसा बनाउँछ भन्ने कुरा मानिसले हेरिरहेको हुन्छ । धेरै पैसा हुने परिवारले पनि पैसालाई विविधीकरण गरेर धेरै ठाउँमा लगानी गर्दा राम्रो लाभ लिन सकिन्छ । पैसाको सुरक्षा पनि हेर्नु प¥यो । सेयरमा मात्रै पैसालाई लगानी गर्नुपर्छ भन्ने छैन । पैसालाई बैंक, सुनचाँदी, घरजग्गालगायतमा पनि लगानी गर्न सकिन्छ । धरै पुँजी हुनेलाई सेयरमा मात्रै लगानी गर्नु भन्न मिल्दैन । सेयरमा पनि पैसा लगानी गरेर राम्रै कमाउनुका साथै पैसालाई डाइभर्सिफिकेसन गरेर जोखिम कम गर्न सकिन्छ । 

सेयर बजारका जोखिम र अवसर

सेयर बजारमा जोखिम र अवसर दुवै हुन्छन् । तर जोखिमलाई कसरी लिने भन्ने कुरामा भर पर्छ । सेयर बजारमा लगानी गर्नु पूर्व नै जोखिम लिन पनि तयार हुनुपर्छ । सेयर बजारमा भएको जोखिमले मानसिक र पारिवारिक कुनै पनि समस्या नहोस् भन्ने कुरा लगानी गर्नुपूर्व नै सोच्नु पर्छ । के गर्दा मानसिक र पारिवारिक असर कम गर्न सकिन्छ भनेर पनि सोच्नुपर्छ । जोखिमसँगै दुईवटा अवसर पनि प्राप्त हुन्छन् । एउटा कम्पनीबाट प्राप्त गर्ने अवसर र अर्को दोस्रो बजारबाट बढेको मूल्यमा सेयर बिक्री गरेर प्राप्त गर्ने अवसर हुन्छन् । दुवै अवसर लिन छुटाउनु हुँदैन । तर दुवै अवसर लिन नसकिने पनि हुन सक्छ । कहिलेकाहीँ खराब कम्पनीमा लगानी भयो भने नाफा दिँदैन र त्यस्तो अवस्थामा बजार मूल्य पनि बढ्ने सम्भावना कम हुन्छ । त्यहाँ दुवै अवसरबाट वञ्चित हुने सम्भावना हुन्छ । 

‘नेसनल हाइड्रो पावर’ कम्पनीलाई अहिले लगानीकर्ता दुवै अवसरबाट वञ्चित भएको उदाहरणको रूपमा हेर्न सकिन्छ । यस कम्पनीको सेयरको बजार मूल्य पनि खासै बढ्न सकेको छैन । दोस्रो बजारमा सेयर बिक्री गरेर फाइदा लिन पनि सकिएको छैन ।  पुँजीलाई होल्ड गरेर राख्दा पनि कम्पनीबाट आउने प्रतिफल शून्य छ ।   

सेकेन्डरी मार्केटभन्दा प्राइमरी मार्केटमा जोखिम कम

प्राइमरी मार्केट भन्दा सेकेन्डरी मार्केटमा अलि बढी जोखिम हुन सक्छ । त्यसैले प्राइमरी मार्केटको आकर्षण पनि सेकेन्डरीभन्दा बढी नै देखिन्छ । कुनै कम्पनीबाट किनेको प्राइमरी सेयर एक सय अंकित मूल्यमा किनेको छ भने बढ्ने सम्भावना बढी हुन्छ । प्राइमरी सेयर सामान्यतः अंकित मूल्यभन्दा कम हुँदैन । यति नै जोखिम हुन्छ भनेर भन्न सकिँदैन । सेयर, बजार मूल्यले निर्धारण गर्छ ।  प्राइमरी सेयरमा लगानी गर्दा बजारको जोखिमको बारेमा जान्न सकिँदैन । जोखिमको बारेमा बुझ्नका लागि दोस्रो बजारमा प्रवेश गर्नै पर्छ । पोखरीको वरिपरि घुमेर पोखरीमा गहिराइ कति छ भनेर थाहा हुँदैन, त्यसका लागि पोखरीमै पसेपछि मात्रै पौडिन सिकिन्छ । दोस्रो बजार भनेको सेयरको बारेमा बुझ्ने प्राक्टिकल बजार हो । यसमा कसरी किन्ने कसरी बेच्ने भन्ने थाहा हुन्छ । 

बैंकिङ क्षेत्र सुरक्षित 

नेपालमा बैंकिङ क्षेत्रमा सेयरमा लगानी गर्दा जोखिम कम छ । नेपालमा अहिले अन्य क्षेत्र भन्दा बैंकिङ क्षेत्रको सेयर बजारमा लगानी गर्दा कम रिक्स छ । र बैंकिङ क्षेत्रको सेयरमा लगानी गर्दा अन्य क्षेत्रको तुलनामा सुरक्षित नै छ । बैंङकिङ क्षेत्रको मूल्य कम छ र बजार पनि घटेको छ । इन्स्युरेन्समा अहिले बढी मूल्य छ, बढी मूल्य हुनेबित्तिकै बढी रिक्स स्वतः हुने नै भयो । सबै भन्दा सुरक्षित बैंकिङ क्षेत्र र सबैभन्दा जोखिम इन्स्युरेन्स हो र सहकारी क्षेत्र बढी नै जोखिममा छ । सहकारीमा खासै मनिटरिङ भएको पाइँदैन । तर विशेष गरेर कम्पनीले नै जोखिमको निर्धारण गर्छ । खराब कम्पनी भयो भने जोखिम बढी हुने नै भयो र राम्रा कम्पनी भए भने जोखिम कम हुन्छ । 

नेपालको सेयर मार्केटको भविष्य उज्वल छ 

नेपालमा हरेक कम्पनी बढ्दोक्रममा छन् ।  नेपाल स्टक एक्सचेन्जमा सूचीकृत हुने कम्पनीको संख्या बढिरहेको छ । हाइड्रो पावर कम्पनीको संख्या बढिरहेको छ । नयाँ नयाँ कम्पनी बढिरहेका छन् । बलिया र राम्रा कम्पनीमा लगानी गर्ने हो भने सेयर मार्केटको भविष्य राम्रो छ । नेपालमा अहिले सम्मको ट्रेन्ड हेर्दा सेयरमा लगानी गर्नेहरु फाइदामै गएको देखिन्छ, राजनीतिक व्यवस्था पनि सुधार भएकै देखिन्छ, त्यसैले पनि सेयर मार्केटको भविष्य उज्वल छ भन्न सकिन्छ । नेपालमा कम्पनीको स्तर निर्धारण गर्ने निकायसमेत छ । सेयर निष्कासन गर्नुपूर्व कम्पनीले केही प्रक्रिया प¥याउनु पर्छ । एजेन्सीमार्फत कम्पनीको शाखा निर्धारण (क्रेडिडिटिङ) गरिन्छ । नेपालमा ईक्रा नेपालले कम्पनीको बारेमा गे्रडिङ गरिरहेको छ । त्यसले १ देखि ५ सम्म कम्पनीको ग्रेडिङ गर्छ, त्यसछि मात्रै धितोपत्र बोर्डले सेयर निष्कासनका लागि स्वीकृति दिन्छ । कुनै कम्पनीले एक अंक पायो भने लगानी डुब्ने सम्भावना कम हुन्छ भने कम्पनीले ५ अंक पायो भने लगानी डुब्ने जोखिम बढी हुन्छ ।

बुढेसकालको साहारा ‘सेयर’ 

बुढेसकालमा आफ्ना बालबच्चा देश विदेश पुगेका हुन्छन् । बुढेसकालमा आफूलाई पाल्ने कोही नभए पनि सेयरमा बेलैमा लगानी ग¥यो भने सेयरले नै पाल्छ । पेन्सन जस्तै बुढेसकालमा बेलैमा सेयरमा लगानी गर्दा पैसा आउँछ र बुढेसकालमा जिउनसमेत सहज हुन्छ । बुढेसकालको साहारा सेयर हुन सक्छ । बुढेसकालमा समेत सेयर बजारमा लगानी गरेको खण्डमा पैसा पनि खेलाउन पाइने र आर्थिक अभाव पनि हुँदैन । बुढेसकालमा सानै लगानी गर्दा पनि सेयरले पाल्छ । भरसक बेलैमा सेयरमा अलिअलि पैसा बचाएर लगानी गर्नुपर्छ । बुढेसकालमा लगानी गरेर पनि रिटायर्ड लाइफमा सेयरको प्रतिफल लिन सकिन्छ ।  टन्न पैसा कमाएर एकै पटक लगानी गर्न कठिन हुन्छ । त्यसैले बेलैमा राम्राराम्रा कम्पनीको थोरैथोरै भए पनि सेयर किन्दा बुढेसकालमा पेन्सनको रूपमा सेयर हुन्छ । 

पुरुषभन्दा महिलाले सेयरको ट्रेनिङ लिन्छन् 

पुरुषको तुलनामा महिलामा सेयरको बारेमा बुझ्नेको संख्या धरै देखिन्छ । इन्स्टिच्यूटमा तालिम लिन पनि महिला नै बढी आउँछन् ।  औसतमा एक÷दुईवटा बालबच्चा भएका नै बढी महिला आएको देखिन्छ । गृहिणीहरु नै धेरै आउँछन् । २५÷३० वर्षका महिला बढी आउँछन् । मध्यम वर्गीय नै बढी आएको देखिन्छ । पुरुषहरुको हकमा योङ भन्दा रिटायर्ड भएका पुरुषहरु नै तुलनात्मक रूपमा ट्रेनिङ लिन बढी आउँछन् । औसतमा वार्षिक एक हजारभन्दा धेरै सेयरका बारेमा ट्रेनिङ लिन आउँछन् । बजारमा सेयरको भाउ घट्यो भने ट्रेनिङ लिन आउने पनि कम हुन्छन् र बजारमा सेयरको भाउ बढ्दै जाँदा सेयरका बारेमा टे«निङ लिन आउने पनि बढ्छन् ।

हल्लाको भरमा लगानी गर्दा डुबेका उदाहरण छन् 

कतिपय त सेयरका बारेमा नबुझी रातारात धनी हुन्छु भनेर विशेष गरी सेकेन्डरी मार्केटमा प्रवेश गर्ने डुबेका उदाहरण पनि धेरै छन् । हल्लाकै भरमा सेयर बजारबाट कसैले कमायो भनेर सेयर बजारमा लगानी गर्दा जोखिम समेत हुने भएकाले कम्पनी र मार्केटका बारेमा नबुझी विशेष गरी सेकेन्डरी मार्केटमा हात हाल्नु हुँदैन । 

नेपालमा सेयर चोर्ने जोखिम कम छ 

नेपालको सेयर बजारको अहिलेसम्मको अवस्था हेर्दा सुरक्षित नै देखिन्छ । नेपालको सेयर बजारमा ठगी तथा चोरीको जोखिम र सम्भावना देखिँदैन । मैले पनि करिब २० भन्दा धेरै कम्पनीको सेयर खरिद गरेको छु । नयाँ व्यक्तिले सुरुमा सेयर मार्केटमा लगानी गर्दा प्राइमरी सेयरमा थोरै थेरै लगानी गरेर मात्रै सेकेन्डरी मार्केटमा प्रवेश गर्दा राम्रो हुन्छ । एकै पटक ह्वात्तै लगानी गर्नु हुँदैन । 

गाउँमा सेयरको पहुँच विस्तार गर्न अनलाइन सेवा 

ग्रामीण भेगमा सेयरको पहुँच पु¥याउन सेयरको कारोबार गर्नका लागि अनलाइन सेवासमेत सुरु गर्नुपर्छ । ग्रामीण भेगमा निम्न आय भएका परिवारलाई  काठमाडौंमा आएर सेयरमा लगानी गर्न कठिन हुन्छ । खर्चिलो हुन्छ । गाउँमा सेयरको पहुँच पु¥याउनका लागि बैंक, यातायात, सूचना प्रविधिलगायतको विकास गर्नुपर्छ । जिल्लामा बसेर पनि तुरुन्तै सेयरको कारोबार गर्न सकियोस् । गाउँ गाउँमा सेयर बजार पु¥याउन राज्य तथा निजी क्षेत्रबाट पनि बैंकिङ क्षेत्रको विस्तार गर्नुपर्छ । र गाउँ गाउँमै सेयर बजारको कारोबार गर्ने मेकानिजमको विस्तार गर्नुपर्छ । गाउँका मानिसले सेयर खरिदबिक्री गर्ने भनेर काठमाडौं आउन सम्भव हुँदैन । त्यसैले गाउँमै सेयरका बारेमा चेतना बढाउनुका साथै कारोबार गर्न आवश्यक संयन्त्र बनाउन सकिन्छ । (भट्टराई सेक्युरिटिज रिसर्च सेन्टर एन्ड सर्भिस संस्थाका डाइरेक्टर तथा प्रशिक्षक हुन् ।)

प्रकाशित: १५ फाल्गुन २०७४ १०:१० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App