२१ असार २०७७ आइतबार
अर्थ

आयातका लागि अर्को विकल्प हल्दिया बन्दरगाह

कोलकाता बन्दरगाहमा जहाजबाट कन्टेनर ओरालिँदै । तस्बिर : रितेश- नागरिक

हल्दिया (भारत) – कोलकाताको समस्याबाट मुक्ति खोजिरहेको तेस्रो मुलुकसँगको नेपाली व्यापारका लागि नजिकै रहेको हल्दिया बन्दरगाह अर्को उत्तम विकल्पको रुपमा देखिएको छ।

पहिलो विकल्प बनेको विशाखापट्नमलाई टाढा ठान्नेहरुका लागि हल्दिया सुविधासम्पन्न अर्को विकल्पको रुपमा देखापरेको हो । यो वर्षदेखि हल्दियाले नेपाली कन्टेनर कागो ढुवानी थाल्दै माघ मसान्तसम्म आठ सय १५ कन्टेनर ‘ट्रन्जिट’ गराएको छ।

तेस्रो मुलुकबाट आउने बल्क कार्गो र बल्क कार्गो (एकै प्रकारको मालवस्तु एउटा समग्र रेलमा राखेर आउने) सञ्चालन सेवा हल्दिया बन्दरगाहबाटै नेपालले प्राप्त गर्दै आएको छ । त्यहाँ जहाजमा आइपुग्ने रासायनिक मल, पशुपक्षीको दाना बनाउने भटमास तथा मकै र चिनी जस्ता वस्तु बोरामा हालेर ब्याग कार्गोमार्फत वीरगन्ज सुक्खा बन्दरगाह पठाउने गरिएको छ । त्यस्तै कोइला, क्लिंकर, जिप्सम जस्ता डस्टी वस्तु बल्क कार्गोमार्फत बन्दरगाहले पठाउने गरेको छ । कोलकातामा बारम्बार समस्या दोहरिन थालेपछि नजिकैको अर्को विकल्पको रुपमा अब कन्टेनर कार्गोका लागि पनि हल्दिया उपयुक्त देखिएको सरोकारवालाको भनाइ छ।

व्यवस्थापनको जिम्मा जेएन बक्सी समूहले लिएपछि कोलकाता पोर्ट ट्रस्ट अन्तर्गत कै हल्दिया इन्टरनेसल कन्टेनर टर्मिलनले व्यावसायिक फड्को मारेको छ । कोलकाता पोर्ट ट्रस्टका अध्यक्ष विनित कुमारले कोलकातासँगै हल्दिया बन्दरगाहबाट आफूहरुले नेपाली कार्गो ढुवानीमा सहजताका लागि विभिन्न सुधार र सेवाका योजना लागू गर्न लागेको बताए।

हुगली नदीको जलाधारमा रहेको हल्दिया बन्दरगाह कोलकाताको तुलनामा करिब सवा सय किलोमिटर वरै समुद्रसँग नजिक भएको हुनाले त्यहाँ जहाज मगाउन जलाधारको गहिराइ आठ मिटर छ। ६ मिटर गहिराइको कोलकाता बन्दरगाहको तुलनामा दोब्बर ठूला जहाज मगाउन सक्ने क्षमता हल्दियासँग छ । त्यहाँ दुई हजारसम्म कन्टेनर बोक्न सक्ने दुई सय २० मिटरसम्मका जहाज आउने गरेका छन्।

‘हामीले अत्याधुनिक र बढी क्षमताका क्रेन यहाँ राखेका छौं, यसको संख्या अझ बढाउने योजना पनि छ,’ हल्दिया बन्दरगाह ब्यवस्थापन, संचालन र रेखदेख गर्ने जिम्मा लिएको जेएन बक्सी समूहका प्रबन्धक तपनसेन गुप्ताले भने, ‘निकै खर्च कटौती सहितको व्यवस्थापनबीच हामीले नेपाली कार्गोको ढुवानी सेवा दिरहेका छौं।’

यस बन्दरगाहमा कन्टेनर राख्ने बेग्लै सफ्टवेयर प्रयोग गरिएकोले कम्प्युटरबाट कन्टेनर ओसारपसार, व्यवस्थापन र सञ्चालन हुने गरेको कार्गो व्यवस्थापक अप्पा रावले बताए । फराकिलो यार्ड रहेकोले पनि सहज भएको उनले बताए।

यार्ड फराकिलो भएकोले कन्जेसनमुक्त यो बन्दरगाह कन्जेसनको नाममा बर्सेनि करोडौं रुपैयाँ गुमाइरहेको नेपालको लागि उपयुक्त रहेको आयातकर्ताको भनाइ छ । कोलकाताको तुलनामा निकै कम कागजी प्रक्रिया हुने गरेकोले हल्दियाको बाटो आयात गर्दा समय र पैसा बचत हुने आयातकर्ताको भनाइ छ । कन्टेनर ओसारपसार र लोड–अनलोड गर्ने क्रेन हल्दियाले अत्याधुनिक र अधिक क्षमताको प्रयोगमा ल्याउने गरेले त्यहाँ शून्य क्षतिको रेकर्ड छ ।
‘सिएचए’को अवरोध
नेपाली आयातकर्ताको प्रतिनिधि बनेर काम गर्दै आएका ‘सिएचए’ (कन्टेनर ह्यान्डलिङ एजेन्ट)हरुले हल्दियातिर नेपाली आयातलाई जान दिएका छैनन् । कोलकातामा भइरहेको असहजताबाट सिएचएहरुले फाइदा लिने गरेकोले उनीहरु ट्रान्जिट अन्यन्त्र जान दिन नचाहेको आयातकर्ताको बुझाइ छ ।
सिपिङ कम्पनी र बन्दरगाह सञ्चालकले नलिएको शुल्क एजेन्टले आयातकर्ताबाट असुल्ने र छुट लिएर आयातकर्तालाई नदिने चलन रहेको स्रोतको दाबी छ । यार्डमा लाग्ने शुल्कमा नेपाली आयातकर्तालाई आफूहरुले १० प्रतिशत छुट दिँदै आएको कोलकाता पोर्ट ट्रस्टका अध्यक्ष कुमारले बताए।

यता आयातकर्तालाई उक्त छुटबारे थाहा छैन । आफूहरुको सम्पर्क सिपिङ एजेन्सी र बन्दरगाह व्यवस्थापनसँग नभएर एजेन्टसँग मात्र हुने गरेको आयातकर्ता बताउँछन् । एजेन्टमाथि भर पर्दा उनीहरुले अवैध फाइदा नेपाली आयातबाट उठाउँदै आएका छन् । यसबाट आयात लागत बढेर वस्तुको मूल्यमा पर्ने भार अन्ततः उपभोकताले बेहेर्नु परेपछि आयातकर्ताले सिएचएमार्फत पेस हुने अनावश्यक बिलको भुक्तानी आँखा चिम्लेर गर्ने गरेको विश्लेषण गरिन्छ । नेपाली जनता भने यसबाट सबभन्दा बढी मारमा छन् ।
आयातकर्ताको जिम्मेवारी
नैतिक रुपमा आयातकर्ता जिम्मेवार हुने हो भने कोलकाताको विकल्पमा उनीहरुको चासो बढ्नुपर्ने हुन्छ । आयातको लागि निर्याकतकर्तासँग सौदा गर्दा नै सिपिङ कम्पनी र ट्रान्जिट पोर्ट आफूले रोजेर आयातकर्ताले राखेपछि कोलकातामा बर्सेनि गुमिरहेको अर्बौं रुपैयाँ र व्यापारमा लाग्ने समय र तनावबाट जोगिन सकिने देखिएको छ।

कोलकाता बन्दरगाहका एजेन्ट भने आफूहरुले नेपाली व्यापारलाई व्यावसायिक रुपमा सहजीकरण गर्ने गरेको बताउँछन् । कतिपय आयातकर्ताले भुक्तनी  नगर्दा मारमा पर्ने एजेन्टलाई नै आरोप लगाउनु बेठिक भएको कोलकाता भन्सार एजेन्ट संघका महासचिव अमृतभक्त श्रेष्ठले बताए । संघमा आबद्ध एजेन्टबाहेक नाम मात्रको एजेन्ट रहेका बिचौलियाले गर्दा एजेन्टहरु बदनाम भइरहेको उनको दाबी छ।
हल्दियाको बाटो कन्टेनर आउँदा एजेन्टमार्फत हुने गरेको अनावश्यक खर्च कटौती हुने त्यहाँका अधिकारीको दाबी छ । हल्दियाबाट कन्टेनर मगाउँदा प्रतिकन्टेनर २० देखि ५० हजार रुपैयाँसम्म नेपाली आयातकर्ताको बचत हुने देखिन्छ ।

व्यापार लागत कटौती भए नेपालकै लागि फाइदा भएको वरिगन्ज उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष अशोक बैद्यको भनाइ छ । उनले नेपाली आयातमा विकल्प चयन गर्ने समय आइसकेको बताए । कोलकातास्थित नेपालका महावाणिज्यदूत एकनारायण अर्यालले नेपाली आयातलाई सहज, छरितो र कम खर्चिलो बनाउन आफूहरुले सम्भव भएसम्म प्रयास गरिरहेको बताए। उनले सुविधासम्पन्न हल्दिया र विशाखापट्नम बन्दरगाहसँग प्रतिस्पर्धा गर्न कोलकाता बन्दरगाहले पनि विभिन्न उपाय थालेकोलाई सकारात्मक भने ।

 

प्रकाशित: १५ फाल्गुन २०७४ ०८:३५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App