१६ चैत्र २०८० शुक्रबार
अर्थ

तिलोत्तमाबाट पूर्व–पश्चिम रेलमार्ग हुँदैन : स्थानीय

भैरहवा – बुटवलवासीको विरोधका कारण विगत दुई वर्षदेखि रोकिएको पूर्व–पश्चिम रेलमार्गको सर्भेका लागि अध्ययन टोलीले तिलोत्तमा नगरपालिकाको विभिन्न स्थानमा नापजाँच थालेपछि नगरबासी आन्दोलित भएका छन्।

तिलोत्तमा नगरपालिकाको वडा नं. १ देखि ४ सम्मको शिवचोक, देवीस्थान, नयाँमिल, दस नम्बर लगायत क्षेत्रमा नापजाँच गरी पिलर गाडिएपछि स्थानीय आन्दोलनमा उत्रेका हुन् । केही व्यक्तिले घर कम्पाउन्डभित्र प्रवेश गरी रेलवे विभागको हवाला दिँदै जग्गा नापजाँच गरेको र सो ठाँउबाट अब रेल दगुर्ने बताएको स्थानीयले गुनासो गरेका छन् । तिलोत्तमा नगरपालिका–१ शिवचोकका टिकानीधि गौतमले गत सोमबार रेलवे सर्भे टोलीको हवाला दिँदै केही व्यक्तिले आफ्नो जग्गामा नापजाँच गरी पिलर गाडिदिएको बताए।


रेल विभाग भन्छ– सुरुमै सर्भे गरिएको बुटवलबाटै काम अगाडि बढ्छ। 

ती व्यक्तिले आफूहरुलाई रेलवे विभागको सर्भे टोलीको रुपमा चिनाउँदै बुटवल, कालिकानगरबाट लैजाने भनिएको रेलमार्ग तिलोत्तमामा सरेको र सर्भेका लागि नापजाँच भइरहेको बताएको गौतमले जानकारी दिए । तिलोत्तमा–४ नयाँमिलका खिमानन्द गौतमले पनि पूर्व–पश्चिम रेलमार्ग आयोजना लेखेको गाडीमा आएका व्यक्तिले आफ्नो जग्गा नापजाँच गरेको बताए । माघ २९ गते आफूहरुलाई थाहै नदिई घरको कम्पाउन्डभित्र प्रवेश गरी सिमेन्टका मुड्का गाढेर गएको गौतमले बताए।

माघ २८–२९ गते तिलोत्तमाको वडा नं. १ देखि ४ सम्मको झन्डै पाँच–सात किलोमिटर दुरीमा रेलवेका नाममा जग्गा नापजाँच गरी पिलर गाड्नुका साथै केही रुख र बिजुलीका पोलमा समेत संकेत नम्बर लेखेका छन् । गाडिएका पिलरमा आरडब्लुबिएम, रुख र बिजुलीको पोलमा आरएनआर १, आर २ जस्ता संकेत लेखिएको छ।

त्यसको विरोधमा तिलोत्तमा नगरपालिकाका स्थानीय विभिन्न संघ–संस्था तथा  राजनीतिक दलहरुले संघर्ष समिति नै गठन गरेका छन् । समितिले आइतबार गाडिएका पिलर उखेल्नुका साथै रुख र बिजुलीका पोलमा लेखिएका संकेत मेटाइदिएको समितिका सदस्य सचिव माधवलाल देवकोटाले बताए।  

यसअघि बुटवल कालिकानगर हुँदै लैजाने भनिएको रेलमार्गको सर्भे बुटवलवासीको विरोधका कारण विगत दुई वर्षदेखि रोकिएको थियो । नेताको पहँुच र भनसुनकै आधारमा सुरुमै सर्भे गर्ने भनिएको सोझो बाटो छाडेर घुमाउरो बाटो अपनाइए र तिलोत्तमावासीलाई उपेक्षा गरिए शसक्त आन्दोलनमा उत्रनेसंघर्ष समितिका संयोजक यामबहादुर खत्रीले चेतावनी दिए।

त्यस्तै, तिलोत्तमा नगरपालिकाका प्रमुख बासुदेव घिमिरेले पनि रेलमार्ग तिलोत्तमा सार्ने विषयमा सहमत हुनै नसकिने बताए । पहिले तोकिएकै ठाउबाट सर्भे गर्न सम्बन्धित निकायलाई आग्रह गर्दै नगर प्रमुख घिमिरेले ठाउँ सार्दै जाने हो भने रेलर्माग सम्भव नहुने बताए।
के भन्छ रेल विभाग ?
पूर्व–पश्चिम विद्युतीय रेलमार्ग आयोजना अन्तर्गत नवलपरासीको तम्सरिया–बुटवल खण्डका लागि दुई वर्षअघि नै सर्भे भई विस्तृत परियोजना प्रतिवेदन डिपिआर तयार गरिएको थियो । डिपिआरमा बुटवल कालिकानगर हुँदै रेल लैजाने प्रस्ताव गरिएपछि बुटवलवासी आन्दोलनमा उत्रिएका थिए।

स्थानीयको चर्को विरोध र त्यस क्षेत्रका विजयी नेताको भनसुनकै आधारमा रेलमार्गको रुट पाँच–सात किलोमिटर दक्षिण तिलोत्तमा नगरपालिकामा सार्न प्रस्ताव गरिएको थियो । तर, रेलवे विभागले उतिबेलै त्यसमा पूर्ण सहमति नजनाई सम्भाव्यता अध्ययन गर्न  सकिने बताएको थियो । पछिल्लो समय बुटवलपूर्व काँकडभित्ता र पश्चिम कञ्चनपुरसम्मको अधिकाँश क्षेत्रमा इन्जिनियरिङ सर्भे भइरहेको र बुटवल बेलबास खण्डमा काम अगाडि बढ्न नसकेकाले पूर्वसहमति अनुरुप तिलोत्तमा क्षेत्रमा सामान्य अध्ययन अवलोकन गरिएको रेलवे विभागले जनाएको छ।

विभागका सिनियर डिभिजनल इन्जिनियर प्रकाशभक्त उपाध्यायले तिलोत्तमामा रेलवेका लागि सर्भे नगरिएको बताए । यसअघि सर्भे गरिएको बुटवल क्षेत्रबाहेक अन्यत्र उपयुक्त छ कि भन्ने सम्बन्धमा सामान्य अध्ययनका लागि स्थलगत निरीक्षण गरिएको उपाध्यायको भनाइ थियो । ‘यसअघि बुटवल दक्षिणतर्फ तिलोत्तमाको कुरा उठेकाले स्थलगत अवलोकन गरिएको हो, तर उपयुक्त देखिएन,’ इन्जिनियर उपाध्यायले भने, ‘दक्षिणमा दुवैतर्फ घना बस्ती रहेकाले बुटवलभन्दा धेरै क्षति हुने देखिन्छ।’

स्टेसन निर्माणका लागि पनि बुटवलपूर्व जंगल भएकाले सहज हुने र चौतर्फी सडकको सहज पहुँच हुने भएकाले सुरुमै सर्भे गर्ने भनिएको स्थान नै उपयुक्त हुने उपाध्यायले बताए । सुरुमा सर्भे गर्ने भनिएको बुटवल कालिकानगर क्षेत्र नै उत्तम रहेको र त्यसको विकल्प नभएको प्रतिक्रिया दिँदै सिनियर डिभिजनल इन्जिनियर उपाध्यायले बुटवलवासीको विरोध नहटे आयोजना नै रोकिने बताए।

झापाको काँकडभिट्टादेखि कञ्चनपुरको गड्डाचौकीसम्मको विद्युतीय रेलमार्ग राष्ट्रिय गौरवको आयोजना हो । यो आयोजना अन्तर्गत पछिल्लो समय काँकडभिट्टा–बर्दिबास–बुटवल र बुटवल– पश्चिम दाङ लमही–कञ्चनपुर गड्डाचौकीसम्मको अधिकाँश क्षेत्रमा इन्जिनियरिङ सर्भेको काम अन्तिम चरणमा पुगेको रेल विभागले जनाएको छ ।  विभागका सिनियर डिभिजनल इन्जिनियर उपाध्यायका अनुसार बुटवल आसपासको ८–१० किलोमिटरमा भने स्थानीयको विरोधका कारण काम रोकिएको छ।

प्रकाशित: ८ फाल्गुन २०७४ ०२:३७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App