१४ आश्विन २०८१ सोमबार
image/svg+xml
अर्थ

२० अंकले नेप्से बढ्दा ६ अर्बको कारोबार

साताको तेस्रो कारोबार दिन मंगलबार सेयर मापन गर्ने नेप्सेपरिसूचक २०.६२ अंकले बढेको छ। दिनभरजसो उतारचढाव हुदैँ कारोबार बन्द हुने बेला भने २०.६२ अंकले बढेर २०८०.१२ विन्दुमा पुगेको छ। मंगलबार १६५ कम्पनीको सेयर बढ्यो भने ७७ कम्पनीको सेयर घट्यो । पाँच कम्पनीको सेयर भने स्थिर रह्यो।

मंगलबार एक करोड ७९ लाख ४९ हजार ५ सय ६२ कित्ता सेयर किनबेच हुँदा ६ अर्ब ११ करोड ८३ लाख १७ हजार ८ सय ६६ रुपैयाँको सेयर  कारोबार भयो। नेपाल स्टक एक्सचेन्जका अनुसार मंगलबार नेप्सेका तीनवटै सूचक बढेर हरियाली छायो। सेन्सेटिभ सूचक ५.६४ अंकले बढ्यो भने फ्लोट सूचक पनि १.५० अंकले बढ्यो। त्यसैगरी सेन्सेटिभ फ्लोट सूचक पनि १.८१ अंकले बढ्यो। नेप्सेका १३ उपसूचकमध्ये मंगलबार १० उपसूचक बढ्यो भने तीन उपसूचक घट्यो।

मंगलबार सवैभन्दा धेरै बढ्ने उपसूचकमा विकास बैंकतर्फको उपसूचक रह्यो। सो उपसूचक २०६.०५ अंकले बढ्यो। त्यसैगरी होटल तथा पर्यटनतर्फको उपसूचक पनि १५२.२८ अंक र जीवनबीमातर्फको उपसूचक पनि १०१.०६ अंकले बढ्यो। मंगलबार घट्ने उपसूचकमा हाइड्रोपावर रह्यो। सो उपसूचक ११.४९ अंक र उत्पादन तथा प्रशोधनतर्फ भने २.४७ अंक र म्युचुअल फण्डतर्फको उपसूचक ०.०२ अंकले घट्यो। मंगलबार ८ वटा कम्पनीको सेयर १० प्रतिशतले बढेको छ।

कर्णाली विकास बैंक, सिन्धु विकास बैंक, कालिका लघुवित्त, सप्तकोशी विकास बैंक, अप्पर स्याङगे हाइड्रोपावर कम्पनी र त्रिशुली जलविद्युत् कम्पनी रह्यो। त्यसैगरी १० प्रतिशत नै बढ्नेमा मुक्तिनाथ कृषि कम्पनी र हिमालयन रिइन्सुरेन्स कम्पनी रह्यो। मंगलबार सवैभन्दा धेरै सेयर घट्ने कम्पनीमा धौलागिरी लघुवित्त कम्पनी रह्यो। सो कम्पनीको सेयर ८.१९ प्रतिशतले घट्यो। त्यसैगरी सिईडिबी हाइड्रोपावर कम्पनीको सेयर ५।९० प्रतिशत र विन्ध्वासिनी हाइड्रोपावर कम्पनीको सेयर पनि ५.७० प्रतिशतले घटेको छ। साताको पहिलो कारोबार दिन आइतबार नेप्से २६.३६ अंकले घटेर २०२२.९२ विन्दुमा झरेको थियो। सो दिन १५९ कम्पनीको सेयर घट्यो भने ८१ कम्पनीको सेयर बढ्यो। ६ कम्पनीको सेयर स्थिर रह्यो।

आइतबार एक करोड ५२ लाख ६८ हजार तीन सय ९९ कित्ता सेयर किनबेच हुँदा पाँच अर्ब २४ करोड १४ लाख आठ हजार तीन सय ७९ रुपैयाँको सेयर कारोबार भएको छ।  साताको दोस्रो कारोबार दिन सोमबार  नेप्सेपरिसूचक ३६.५७  अंकले बढेर २०५९.४९ विन्दुमा पुगेको थियो। सो दिन २१२ कम्पनीको सेयर बढ्यो भने २९ कम्पनीको सेयर घट्यो। पाँच कम्पनीको सेयर स्थिर रह्यो। सोमबार एक करोड ३७ लाख ९ हजार २ सय ७६ कित्ता सेयर किनबेच हुँदा चार अर्ब ६७ करोड ५२ लाख २४ हजार  ९ सय ६ रुपैयाँको सेयर कारोबार भयो।

प्रकाशित: २४ पुस २०८० ११:११ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App