coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
अर्थ

गल्छी रसुवागढी सडक स्तरोन्नति तीव्र

सडक स्तरोन्नति कार्य गरिँदै। तस्बिर : नागरिक

नुवाकोट – दैनिक आठ घन्टा यातायात बन्द गरी निर्माण भइरहेको ‘गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रुबेंसी–रसुवागढी’ सडक योजनाको काम तीव्र गतिमा अघि बढिरहेको छ । पुस १ गतेदेखि माघ मसान्तसम्म दैनिक बिहान ८ बजेदखि र ९ बजेसम्म र ११ बजेदेखि अपरान्ह ४ बजेसम्म यातायात नै बन्द गरेर सडक निर्माण कार्यलाई तीव्रता दिने निर्णय गरेर काम गर्न थालेपछि सोचेजस्तै प्रगति भइरहेको आयोजनाले जनाएको छ।

२१ महिनामा काम सम्पन्न गर्नेगरी २०७३ कात्तिक २२ गते सम्झौता भएर पुस १ गतेदेखि सडकको स्तरोन्नति तथा विस्तारको काम सुरु गरिएको थियो । तर सोचे जस्तो उपलव्धी हासिल आयोजनाले गर्न नसकेपछि ६ महिना थप गरी २७ महिना भित्र अर्थात ०७५ फागुन ५ भित्रमा काम सम्पन्न गरिसक्ने लक्ष्य लिएको योजना प्रमुख सुबोध देवकोटाले बताएका छन्।

फागुन १ गतेदेखि एकै चरणमा दैनिक ६ घन्टा यातायात बन्द

एक वर्षको समयावधिमा निर्माण कार्यलाई गति दिन नसकेको स्वीकार्दै उनले पछिल्लो दुई महिनाको समयमा भएको प्रगतिले उत्साह थपेको बताए । ०७२ मा भारतले लगाएको नाकाबन्दीपछि चीनसँग जोड्ने अन्तर्राष्ट्रिय नाका सञ्चालनको रुपमा राष्ट्रिय गौरवको योजनाको रुपमा छनोट भएको ‘गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रुबेंसी–रसुवागढी’ सडक टुण्डी निर्माण कन्स्ट्रक्सन ठेकेदार कम्पनीमार्फत काम भइरहेको छ।

एक वर्षमा १० प्रतिशतमात्र काम सम्पन्न गर्न सकेको आयोजनाले यातायात नै बन्द गरी काम गर्न थालेदेखिको २ महिनाको अवधिमा वित्तीय प्रगति २१.३ प्रतिशत पुगेको र यातायात बन्द गर्नुभन्दा अगाडि १० प्रतिशतको हाराहारीमा मात्र रहेको आयोजना प्रमुख देवकोटाले बताए । ‘यातायात बन्द गरेर काम गर्न थाल्नुभन्दा पहिले भौतिक उपलब्धि ४.९९ प्रतिशत थियो भने अहिले १४.३५ प्रतिशत पुगेको छ,’ देवकोटाले भने, ‘सडक बढाउँदा काटिने जग्गाको मुआब्जासम्बन्धी समस्या र वन क्षेत्रमा देखिएको समस्या समाधान गरेर त्यहाँ पनि काम थालिसकेका छौं ।’ दुई चरणमा गरी दैनिक आठ घन्टा यातायात बन्दै गरेर काम गर्दै आएको आयोजनाले सर्वदलीय बैठकमार्फत फागुन १ गतेदेखि बिहान ११ बजेदेखि साँझ ५ बजेसम्म एकै चरणमा दैनिक ६ घन्टा यातायात बन्द गरेर कामलाई तीव्रता दिने भएको छ । आगामी जेठ महिनासम्म ३४ प्रतिशत काम सम्पन्न गर्ने आयोजनाले लक्ष्य राखेको जनाएको छ।

रसुवागढीदेखि धादिङको गल्छीसम्मको दूरी ८२  किलोमिटर सडक स्तरोन्नति गर्न नेपाल सरकारले नौ अर्ब ५० करोड रुपैयाँ बजेट छुट्याएको छ । धादिङ गल्छीदेखि मैलुङसम्मको ४६ किमिको  सडकको काम टुण्डी निर्माण कन्स्ट्रक्सनले गरिरहेको छ । रसुवाको मैलुङदेखि स्याफ्रुबेंसीसम्म पर्ने १८ किमि सडक नेपाली सेना र स्याफ्रुबेंसीदेखि रसुवागढीसम्मको १८ किमि सडक चीन सरकारले निर्माण कार्य अघि बढाइरहेको छ।

धादिङको गल्छीदेखि मैलुङसम्म रहेको ४६ किमिको सडक निर्माण गर्न तीन अर्ब ६३ करोड ९१ लाख रुपैयाँ बजेट छुट्याएको छ । आयोजना प्रमुख देवकोटाका अनुसार दैनिक २६ लाख ५० हजार रुपैयाँ बराबरको काम हुने गरेको छ । दुई महिनाअघि १० लाख रुपैयाँ बराबरको काम हुने गरेको थियो।

गल्छीदेखि रसुवागढीसम्मको सडक दुई लेनको हुने भएपनि धादिङको गल्छी बजार र नुवाकोटको गंगटेदेखि ढुंगे बजारसम्म चार लेन बनाउन लागिएको छ । दुई लेन सडकमा ११ मिटर कालोपत्रे बनाइने सडकको केन्द्रदेखि दायाँबायाँ १५–१५ मिटर जग्गा अतिक्रमणका लागि नापी कार्यालयमार्फत भइरहेको आयोजना प्रमुख देवकोटाले जानकारी दिए।


 

प्रकाशित: २८ माघ २०७४ ०७:३१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App