८ वैशाख २०८१ शनिबार
अर्थ

देहरादुनमा इण्डो-नेपाल व्यापार मेला सुरु, नेपालमा लगानी गर्न आह्वान

काठमाडौं - भारतको उतराखण्ड राज्यस्थित देहरादुनमा दोस्रो नेपाल–भारत व्यापार मेला तथा पर्यटन महोत्सव सुरु भएको छ। कञ्चनपुर उद्योग वाणिज्य संघद्वारा आयोजित मेलाको उत्तराखण्डका मुख्यमन्त्री त्रिवेन्द्र सिंह रावत, नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष भवानी राणा, वाणिज्य राज्यमन्त्री नरबहादुर चन्दले संयुक्त रुपमा उद्घाटन गरेका छन्। 

उद्घाटन समारोहलाई सम्बोधन गर्दै मुख्यमन्त्री रावतले नेपाल–भारत बीचको सांस्कृति, पारिवारिक, धार्मिक, आर्थिक सम्बन्ध संसारमै एक अनुपम रहेको बताउंदै समग्र नेपालको समृद्धिमा भारत सदैव सहयोगी रहने बताए। आफ्नो सरकारले नेपाल भारत बीचको यातायात व्यवस्थालाई सजह र सवल बनाउन निरन्तर कार्य गरिरहेको भन्दै उत्तराखण्ड र नेपाल बीचको धार्मिक सम्बन्ध निकै प्रगाढ रहेको उल्लेख गरे। 

वाणिज्य राज्यमन्त्री चन्दले नेपाल भारत बीचको बढ्दो व्यापार घाटा कम गर्न नेपाली वस्तुहरूको भारत निर्यात बढाउनुपर्ने र यस्ता मेलाले सो कार्यका लागि सहयोग पु-याउने विश्वास व्यक्त गरे।  अन्तर्राष्ट्रिय स्तरमा हुने यस्ता मेलाले व्यापारिक सम्बन्ध प्रगाढ हुनुका साथै नेपालमा उत्पादन भएका वस्तुले अन्तर्राष्ट्रिय बजार पाउने उनको भनाई छ। 

समारोहमा महासंघका अध्यक्ष राणाले दुई देशबीच आयोजना हुने यस्ता मेला महोत्सवले नेपाल भारत बीचको आर्थिक व्यापारिक, धार्मिक तथा जनस्तरको सम्बन्धलाई थप उचाईमा पु-याउने बताइन्। उत्तराखण्ड, नेपालीका लागि समेत पवित्रस्थल भएकाले नेपाल र उत्तराखण्डबीच धार्मिक पर्यटन प्रवर्द्धनमा समेत निकै ठूलो सम्भावना रहेको उनको भनाई छ। नेपाल र उत्तराखण्ड बीच संयुक्त रुपमा धार्मिक पर्यटन प्रवर्द्धनमा जोड दिँदै यस क्षेत्रलाई बौद्ध सर्किट र रामसीता सर्किटको रुपमा विकास गर्नुपर्ने सुझाव दिइन्।

कञ्चनपुर उद्योग वाणिज्य संघका अध्यक्ष सुरेश रावलले निकासी योग्य बस्तुको पहिचान एवं बजार प्रबर्द्धन गर्ने, नेपालमा उत्पादित बस्तु र सेवाको बजार प्रबर्द्धन, नेपालका पर्यटकीय सम्पदाहरूको प्रचार प्रसार, पर्यटकीय होटल, रिसोर्ट, टुर एण्ड ट्राभल्सलाई सहभागी गराई प्याकेज प्रवर्द्धन गर्ने, नेपाली उद्यमीलाई प्रतिस्पर्धी बनाउन सीप र ज्ञानको अनुभव आदान प्रदान गर्ने, उद्यमी व्यवसायीलाई बजार पहुँचको अवसर प्रदान गर्ने र नेपाल भारतबीचको सास्कृतिक सम्बन्धलाई थप उजागर उद्देश्यका साथ मेला आयोजना गरिएको बताए।

वाणिज्य मन्त्रालय, व्यापार तथा निकासी प्रवर्द्धन केन्द्र, नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल पर्यटन बोर्ड, नेपाली राजदूतावास दिल्ली, नेपालस्थित भारतीय राजदूतावास र उत्तराखण्ड राज्य सरकारको सहयोगमा आयोजित मेलामा ५६ वटा स्टलहरुमार्फत नेपाली कृषि उत्पादन, घरेलु तथा साना उद्योगहरूबाट उत्पादित वस्तुहरू प्रदर्शनी गरिएको छ।  

यस वर्षको मेलाको मुख्य आकर्षणमा नेपाली  राष्ट्रिय तथा स्थानीय उत्पादन र सेवाहरू, पर्यटकीय क्षेत्रहरूको विस्तृत जानकारी, टुर एण्ड ट्राभल्स प्याकेज, नेपालका मुख्य मुख्य पर्यटकीय सम्पदाहरूको प्रचार प्रसार, नेपाली कला संस्कृतिको प्रदर्शनी÷नेपाली खाद्य परिकारहरू रहेका छन्। 

कञ्चनपुर उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष जंगबहादुर मल्लका अनुसार मेला माघ २५ गतेसम्म चल्ने छ। 

प्रकाशित: २२ माघ २०७४ ०९:५७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App