coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
अर्थ

व्यापार घाटा दैनिक पौने ३ अर्ब

काठमाडौं – मुलुकको वैदेशिक व्यापार घाटा दैनिक पौने तीन अर्ब रुपैयाँ पुगेको छ । चालु आर्थिक वर्षको पहिलो ६ महिनामा मुलुकको व्यापार घाटा पाँच खर्ब रुपैयाँ पुगेको छ । जसलाई दैनिक रुपमा हेर्दा दुई अर्ब ७७ करोड रुपैयाँभन्दा धेरै हुन आउँछ ।

यही स्तरमा व्यापार घाटा बढ्दै जाने हो भने चालु आवमा मुलुकको बजेट हाराहारी पुग्ने देखिएको छ । चालु आवमा मुलुकको कुल बजेट १२ खर्ब ७९ अर्ब रुपैयाँ छ ।भन्सार विभागले सार्वजनिक गरेको चालु आवको पछिल्लो ६ महिनाको तथ्यांक अनुसार कुल वैदेशिक व्यापार पाँच खर्ब ७६ अर्ब २२ करोडभन्दा धेरै भएको छ । जसमध्ये आयात पाँच खर्ब ३५ अर्ब ५ करोड र निर्यात ४१ अर्ब १६ करोड बराबर भएको छ । यस अनुसार व्यापार घाटा चार खर्ब ९३ अर्ब ८८ करोडभन्दा धेरै भएको छ ।

यो व्यापार घाटा गत आर्थिक वर्षको सोही अवधिको भन्दा १५.२ प्रतिशतले बढी हो । गत वर्षको पहिलो ६ महिनामा चार खर्ब २७ अर्ब ५३ करोडभन्दा धेरै थियो । चालु आवको ६ महिनामा गत वर्षको भन्दा कुल व्यापार १५.२६ प्रतिशतले बढेको छ भने आयात र निर्यात क्रमशः १५.३८ र १३.७२ प्रतिशतले बढेको छ ।
चालु आवको ६ महिनाको वैदेशिक व्यापार हेर्दा सबैभन्दा धेरै घाटा भारतसँग छ । ऊसँगको व्यापार घाटा तीन खर्ब २८ अर्ब १४ करोड रुपैयाँभन्दा धेरै छ । भारतसँगको आयात तीन खर्ब ५१ अर्ब ४१ करोड हुँदा निर्यात भने २३ अर्ब २६ करोडमा सीमित छ ।दोस्रो ठूलो व्यापार घाटा उत्तरी छिमेकी चीनसँग छ । चीनसँगको व्यापार घाटा ६६ अर्ब ३० करोड ८० लाख पुगेको छ । उत्तरबाट ६७ अर्ब ८८ करोड ४० लाखको आयात हँुदा एक अर्ब ५७ करोड ५६ लाखको निर्यात भएको विभागको तथ्यांकमा उल्लेख छ ।  

त्यसैगरी, व्यापार घाटा हुने अन्य प्रमुख देशहरूमा क्रमशः अर्जेन्टिना, इन्डोनेसिया, थाइल्यान्ड, भियतनाम, दक्षिण कोरिया, साउदी अरब, मलेसिया, फ्रान्स, जापान र दक्षिण अफ्रिका छन् । ६ महिनामा अर्जेन्टिनासँग सात अर्ब चार करोड, इन्डोनेसियासँग ६ अर्ब ४५ करोड, थाइल्यान्डसँग ६ अर्ब सात करोड, भियतनामसँग पाँच अर्ब आठ करोड व्यापार घाटा छ । त्यसैगरी, दक्षिण कोरिया र साउदी अबरसँग झन्डै पाँच अर्ब र मलेसियासँग चार अर्ब ४५ करोड घाटा छ ।  चालु आवमा वीरगन्ज र भैरहवा भन्सार नाकाबाट हुने आयात खर्ब नाघेको छ । वीरगन्जबाट ६ महिनामा एक खर्ब ८० अर्ब ३८ करोड र भैरहवा नाकाबाट एक खर्ब एक अर्ब दुई करोड बराबरको सामान आयात भएको छ ।

सबैभन्दा धेरै निर्यात हुने भन्सार नाकामा विराटनगर, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, वीरगन्ज लगायत भन्सार छन् । विराटनगरबाट सबैभन्दा धेरै १२ अर्ब २८ करोड ५७ लाख बराबरको सामान निर्यात भएको छ भने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ११ अर्ब ५९ करोड ३३ लाखको निर्यात भएको छ । वीरगन्जबाट सात अर्ब, मेचीबाट तीन अर्बको निर्यात भएको विभागको तथ्यांकमा उल्लेख छ ।

यस अवधिम पेट्रोलियम पदार्थ, यातायातका साधन तथा पार्टपुर्जा, सुन, एमएस बिलेट, पोलिथिन ग्रेनुअल्स लगायत वस्तुको आयात बढेको छ । कृषि औजार तथा पार्टपुर्जा, विद्युतीय सामान, सेनेटरीवेयर, खानेतेल, ड्राइसेल ब्याट्री लगायत वस्तुहरूको आयात भने घटेको छ ।त्यसैगरी, पशुआहार, वनस्पती घिउ, धागो, जिंक सिट, तयारी पोसाक लगायत वस्तुको निर्यात बढेको छ । जुस, अलैंची, जिआइपाइप, ऊनी गलैँचा, तामाका तार लगायत वस्तुको निर्यात भने घटेको छ ।

प्रकाशित: १८ माघ २०७४ ०२:५१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App