८ वैशाख २०८१ शनिबार
अर्थ

दूध बेचेर मासिक ७५ हजार आम्दानी

नुवाकोट – नेपालमा रोजगारी पाइएन भनेर दैनिक सयौं युवा बिदेसिने गरेका छन् । दिनदिनै शैक्षिक वेरोजगारको संख्या पनि बढ्दो छ । र पनि पढेलेखेका युवाले खेती किसानी र पशुपालनको कामलाई काम नै ठान्दैनन् । तर नुवाकोट बेलकोटगढी नगरपालिका–१३ पाखुरेका भिमसेन पनेरुले भैंसी पालेर मासिक ७० हजार रुपैयाँ आम्दानी गर्दै आइरहेका छन्।  

नेपाली उखानै छ ‘नपरी कोई चेत्दैन ।’ पनेरुले पनि धेरै पैसा कमाउने आशमा ३९ महिना साउदी अरबको तातो घाममा बाफिएर आफ्नै गाउँमा फर्किएपछि थालेका हुन् भैंसी पालेर दूधको व्यापार । ‘आफ्नो खेतबारीको माटोसँग खेल्न मन नलागेर साउदी हानिएको थिए । अरुले भनेको र आफ्नो मनले सोचेको जस्तो कहाँ रहेछ र विदेश,’ पनेरुले परदेशको भोगाइ सुनाउँदै भने, ‘काम अनुसारको दाम भएन । खुसीको भन्दा पनि बेखुसीको भारी मन लिएर आफ्नै गाउँ फर्किए।’

दैनिक ३० लिटर दूध डेरी पु¥याउँछु । मासिक ७५ हजार हात नपरेको महिना छैन । खर्च कटाउँदा ५० हजार रुपैयाँ त चोखै बच्छ ।

उमेरले ४० पुगेका पनेरुलाई विदेशबाट फकिएपछि के गर्ने भन्ने अन्योल छायो । वैदेशिक रोजगारीप्रति राखेको आशाले निराशा दिएपछि आर्थिक उन्नति हुने बाटो केही देख्न सक्ने अवस्थामा थिएनन् उनी । ‘मन खुबै बरालियो । आफूले त दुःख पाइयो पाइयो सन्तानले पनि दुःख पाउने भए भन्ने लाग्यो,’ देखासिकीले गर्दा जीवनले नयाँ मोड लिएको बताउँदै पनेरु भन्छन्, ‘गाउँकै कृष्ण दाइले भैंसी पालेर दूध बेच्दै आएका थिए । बुझ्दै जाँदा राम्रै कमाई हुने लाग्यो  र भैंसीपालन गर्ने सोच आयो । अहिले यसैमा सन्तुष्ट छु।’

घरमा भएको दुईवटा र प्रतिगोटा एक लाखको दरले तीनवटा भैंसी खरिद गरी पाँचवटा भैंसीबाट पनेरुले व्यावसायिक रुपमा भैंसीपालन गर्न थालेका हुन् । चासो, लगनशीलता र मिहेनतले धेरै कुरा सिकेको र सफलता पाएको उनी बताउँछन् । ‘दैनिक ३० लिटर दूध डेरी पु¥याउँछु । मासिक ७५ हजार हात नपरेको महिना छैन । खर्च कटाउँदा ५० हजार त चोखै बच्छ,’ आम्दानी र खर्चको हिसाब बताउँदै उनी भन्छन्, ‘डेरीसम्म पुग्न एक घन्टाको बाटो हिड्नुपर्छ । परिवारमा भएका सदस्य पालैपालो जाने गरेका छौं । आफ्नै घरमा रोजगारीको महसुस हुन्छ।’

उनले पाँचवटा भंैसीलाई आहाराका लागि १० रोपनी जग्गामा जई, टाँकी लगायत घाँससमेत लगाएका छन् । उनको ‘पिपलबोट पशुपन्छी फर्म’ घरेलुमा समेत दर्ता भएको छ । फर्म व्यवस्थित रुपमा सञ्चालन गर्न जिल्ला पशु सेवा कार्यालयबाट ०७३ मा एक लाख रुपैयाँ अनुदान दिएपछि भैंसीपालन पेसामा झन् हौसिएका छन् । आफूले पालेको प्रत्येक भैंसीको बिमा पनि गरेका छन् उनले । बिमा गर्दा कारणबस नोक्सान भयो भने धेरथोर क्षतीपूर्ति पाउने भएकाले बिमा गरेको उनी बताउँछन्।

भैंसीसँगै उनले बोइलर जातको कुखुरा पनि पाल्न थालेका छन् । पाँच लाख रुपैयाँ बराबरको लगानी गरेर कुखुरा व्यवसाय थालेको उनी बताउँछन् । ‘कुखुराको पनि राम्रो व्यवसाय हुने देखेपछि पाँच सयबाट सुरु गरेकोमा अहिले दुई हजार जति छन् । काठमाडौं लगेर नै बिक्री गर्ने गरेको छु,’ उनी भन्छन्, ‘गर्न जानियो भने कमाइ हुने क्षेत्र प्रशस्त छन् । विदेश नै जानु पर्दैन।’

नेपालमा श्रम गर्न लजाउने धेरै भेटिन्छन् । कतिपयलाई विदेशमा सुखले पैसा कमाइन्छ भन्ने भ्रम पनि छ । तर युवाशक्ति वेरोजगार बनेर विदेश जानुभन्दा आफ्नै ठाउँमा सम्भावना हेरेर सानोतिनो व्यवसाय गर्न पनेरुको सुझाव छ।

प्रकाशित: १४ माघ २०७४ ०४:३३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App