२९ असार २०७७ सोमबार
अर्थ

बुद्धले ४ अर्ब लगानीमा चार जहाज थप्ने

काठमाडौं –निजी क्षेत्रको वायुसेवा कम्पनी बुद्ध एयरले ४ अर्ब रुपैयाँ लगानी गरी थप चारथान जहाज खरिद गर्ने घोषणा गरेको छ । हाल बुद्धसँग १० वटा जहाज छन् ।बुद्धले छिमेकी मुलुक भारतका विभिन्न सहरमा उडान गर्नका लागि ती जहाज खरिद गर्ने घोषणा गरेको हो । आन्तरिक उडानमा १० थान जहाज प्रयोग गर्ने र क्षेत्रीय अन्तर्राष्ट्रिय उडानका लागि ती चार जहाज प्रयोग गर्ने योजना बुद्धको छ ।

‘हामी उड्डयन बजारमा आफ्नो हिस्सा वृद्धि गर्न आक्रमक हिसाबमा अगाडि बढ्दै छौं र यसका लागि ४ अर्ब रुपैयाँसम्म लगानी गर्ने तयारीमा छौं,’ बुद्धका प्रबन्ध निर्देशक वीरेन्द्रबहादुर बस्नेतले बिहीबार नागरिकसँग भने, ‘यो परिमाणको लगानीबाट एक वर्षभित्र थप चारथान जहाज ल्याउँछौं ।’
बस्नेतका अनुसार भारतका कोलकाता, देहरादुन, बनारस, गान्तोक लगायत सहरमा उडान गर्न थप चार जहाज ल्याउन लागिएको हो । जहाज थप्न अनुमतिका लागि नेपाल नागरिक उड्डयन प्राधिकरणमा आगामी आइतबार (माघ १४ गते) आवेदन दिइने छ ।

‘चार जहाज थप्न लगानीभन्दा पनि बौद्धिकता र सिर्जनशीलताको कुराले अर्थ राखेको छ,’ प्रबन्ध निर्देशक बस्नेतले भने, ‘कुनै पनि नेपाली वायुसेवा कम्पनीले नसोचेको कदम हामी चाल्दै छौं । यसमा जोखिम पक्कै छ तर हामी सफल भएरै  छाड्ने लक्ष्यका साथ अगाडि बढेका छौं ।’

भारतीय गन्तव्यमा ७५ प्रतिशत पर्यटकमात्र बोक्ने लक्ष्यसहित उडान गर्ने योजना कम्पनीले बनाएको छ । अधिकांश हिस्सा पर्यटक लक्ष्य गरिएको कोलकाता उडान सफल भयो भने त्यसपछि खाडी मुलुक, हङकङ, बैंकक जस्ता गन्तव्यमा पनि पर्यटक लक्ष्य गर्दै जेट जहाजबाट उडान गर्ने बस्नेतको भनाइ छ । ‘खाडी वा अन्य देशका ठूला वायुसेवा कामदार बोकेरै नेपालबाट उडान गरिरहेका छन्,’ उनले भने, ‘तर, हामीसँग भने पर्यटक बोक्ने बाहेक अर्को विकल्प पनि छैन र कोलकाता उडान त्यसैको सुरुवाती चरण हुने छ । यो चानचुने विषय होइन, यसले बुद्धको क्षीतिज थप फराकिलो बनाउनेमा हामी विश्वस्त छौं ।’

पर्यटन उद्योगको विकासका लागि नै जहाज थप्न लागिएको उनले बताए । पर्यटनले विशाल समृद्धि ल्याउने र यसको विकल्प नभएको उनको बुझाइ छ । ‘कोलकाता उडान सफल भयो भने मुलुकको पर्यटन क्षेत्रमा कायापलट हुनेमा हामी ढुक्क छौं,’ उनले भने, ‘त्यसकारण हामीले थप्न लागेका चारथान नयाँ जहाजको भूमिका असाध्यै महत्वपूर्ण हुने छ ।’

बुद्धले थप्न लागिएका चारवटै जहाज ७२ सिट क्षमतायुक्त ‘एटिआर७२–५००’ सिरिजका हुन् । हाल बुद्धसँग यही सिरिजका जहाज चारथान सञ्चालनमा छन् भने पाँचौं जहाज बिहीबार बेलुका त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको छ । यो जहाजका लागि कम्पनीले १ अर्ब रुपैयाँ लगानी गरेको छ । यो बुद्धकोे १० औं जहाज हो ।पाँचौं एटिआर७२ सहित १० थान जहाजबाट बुद्धले आगामी फागुन ८ गतेबाट दैनिक नियमित ५० उडान गर्ने जानकारी दिएको छ । कम्पनीले हाल दैनिक ३५ उडान गरिरहेको छ ।

मुलुकको उड्डयन क्षेत्रको नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणले नयाँ जहाजलाई ‘९एन–एएमएफ’ कलसाइन दिएको बुद्धका बजार निर्देशक रुपेश जोशीले जानकारी दिए । ‘नयाँ जहाज थपिएपछि कम्पनीको उडान विश्वसनियता अझै बढ्ने छ भने यात्रुले सरल भाडा दरमा सहज तरिकाले उडान गर्न पाउनेछन्,’ उनले भने ।

बुद्धका अनुसार दसौं जहाज थपिएपछि कुनै पनि दिन उडान रोकिँदैनन् । नौथान जहाजको मर्मत अवधि वर्षमा २ सय ७० दिन हुने गर्छ । यसको अर्थ एउटा जहाज एक वर्षमा ३० दिन मर्मतका लागि ‘ह्यांगर’ मा बस्ने गर्छ । यही मर्मत अवधिमा आफ्ना यात्रु तोकिएको समयमै गन्तव्य पुग्न सकून् भनेर नयाँ जहाज खरिद गरिएको र त्यसपछि मर्मत तालिकाअनुसार पालैपालो जहाज मर्मतमा बस्छन् र नौथान जहाज पालैपालो निरन्तर उडान गरिरहने कम्पनीको भनाइ छ ।

कम्पनीका अनुसार एकथान एटिआर७२ सिरिजको ‘ब्रान्ड न्यु’ (नयाँ) जहाज खरिद गर्दा २ अर्ब २५ करोड रुपैयाँहाराहारी पर्ने भएका कारण केही वर्ष उडेको जहाज १ अर्ब रुपैयाँमा खरिद गर्न लागिएको कम्पनीको भनाइ छ । मुलुकको हवाई नीतिमा १५ वर्षभन्दा पुरानो जहाज ल्याएर उडान गर्न नपाइने उल्लेख छ ।  
नेपालबाट २ घन्टा ३० मिनेट दूरीमा पर्ने सम्पूर्ण गन्तव्यमा ‘टर्बोप्रप’ जहाजबाट अन्तर्राष्ट्रिय उडान गर्न बुद्धले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट विगतमै अनुमति पाइसकेको छ । उसको अन्तर्राष्ट्रिय उडान लाइसेन्स अद्यावधिक छ ।

दुई दशकदेखि आन्तरिक उडानसँगै भुटानको पारो र भारतको बनारसका लागि ‘चार्टर्ड’ उडान गर्दै आएको बुद्धले आन्तरिक उडानतर्फ ६३ प्रतिशत बजार हिस्सा ओगटेको छ । कम्पनीमा हाल करिब ८ सय ५० कर्मचारी काम गर्छन् । बुद्धले सन् २०२१ अगस्ट १ देखि पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान गर्ने घोषणा गत असोजमा गरेको थियो । त्यसैगरी २०७५ भदौ १६ बाट भारतको कोलकाताका लागि नियमित उडान गर्ने घोषणा पनि गरिसकेको छ ।बुद्धले उडान सुरु गरेयता स्वदेशी तथा विदेशी गरी हालसम्म करिब १ करोड यात्रुलाई गन्तव्य पु¥याइसकेको छ । कम्पनीले पर्यटन÷घरेलु उडानतर्फ सबैभन्दा बढी कर÷राजस्व बुझाउन सफल पनि भएको थियो । हाल यसले वार्षिक १० लाखभन्दा बढी यात्रुलाई गन्तव्य पुर्याइरहेको छ ।

बुद्धसँग हाल फ्रान्सको एटिआर कम्पनीमा निर्मित ७२ सिट क्षमताका चारवटा ‘एटिआर७२–५००’, ४७ सिट क्षमतायुक्त तीनवटा ‘एटिआर४२–३२०’ तथा १८ सिट क्षमताका दुईवटा ‘बिचक्राफ्ट–१९००डी’ सिरिजका जहाज छन् । यी नौ जहाजको मूल्य ६ अर्ब २५ करोड रुपैयाँबराबर रहेको छ । त्यसबाहेक कम्पनीसँग १ अर्ब २५ करोड रुपैयाँबराबर मूल्यका जगेडा पुर्जा पनि छन् ।  

हाल बुद्धले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नेपालगन्ज, भैरहवा, भरतपुर, सिमरा, जनकपुर, विराटनगर, भद्रपुर, पोखरा, धनगढी र तुम्लिङटार गन्तव्यका लागि दैनिक करिब तीन दर्जन उडान गरिरहेको छ । त्यसैगरी काठमाडौंबाट ‘माउन्टेन फ्लाइट’ र पोखरा विमानस्थलबाट ‘अन्नपूर्ण माउन्टेन फ्लाइट’ पनि गरिरहेको छ । त्यस्तै विराटनगरबाट तुम्लिङटार, पोखराबाट भरतपुर र भैरहवा उडान पनि गरिरहेको छ भने २०७५ वैशाख १ देखि पोखराबाट नेपालगन्ज उडाउने मिति सार्वजनिक गरिसकेको छ । दुर्गम भेगका गन्तव्यमा उडान गर्ने योजना कम्पनीको छैन । कम्पनीले त्रिभुवन विमानस्थलमा जहाज मर्मतका लागि दक्षिण एसियाकै उत्कृष्ट ‘क्लोज्ड डोर ह्यांगर’ पनि सञ्चालन गरिरहेको छ ।

 

प्रकाशित: १२ माघ २०७४ ०६:४७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App