१६ चैत्र २०८० शुक्रबार
अर्थ

छ महिनामा ५९ अर्ब राजश्व संकलन

बीरगञ्ज – बिरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्ष २०७४–७५ को पछिल्लो ६ महिनामा तेस्रो मुलुकबाट आयात भई नेपाल भित्रिएका सामानबाट रु ५९ अर्ब ३७ करोड ९७ लाख १२ हजार राजश्व संकलन गरेको छ। 

इन्धन र सवारी साधनबाट मात्र रु २९ अर्ब ७४ करोड ३१ लाख ४० हजार राजश्व संकलन गरेको बीरगञ्ज भन्सार कार्यालयका सूचना अधिकारी सन्तोष यादवले जानकारी दिए। 

चालु आर्थिक वर्षको पुस मसान्तसम्म बीरगञ्ज भन्सार कार्यालयले कुल राजश्वको आधाभन्दा बढी इन्धन र नयाँ सवारी साधनबाट उठाएको छ । कार्यालयले ६ महिनामा मात्रै भारतबाट नेपाल भित्रिएका सवारी साधनबाट रु २१ अर्ब ७९ करोड र इन्धनबाट रु ७ अर्ब ९५ करोड १९ लाख राजश्व संकलन गरेको छ। 

गत पुस मसान्तसम्म भारतबाट बीरगञ्ज भन्सार नाका भएर रु १८ अर्ब ७४ करोड ८० लाख मूल्य बराबरको सवारी साधन नेपाल भित्रिएको थियो । चालु आवको ६ महिनाको अवधिमा भारतबाट रु ३५ अर्ब १० करोड ४५ लाख ९१ हजारको इन्धन, रु १६ अर्ब ८३ करोड १८ लाखको डिजेल, रु ६ अर्ब ५१ करोड ८९ लाख ३१ हजारको पेट्रोल, रु ४ अर्ब ३० करोड ४८ लाख ५० हजारको हवाई इन्धन, रु ३१ करोड ८१ लाख ७९ हजारको मट्टितेल तथा रु ७ अर्ब १३ करोड सात लाख ७१ हजारको एलपी ग्यास नेपाल भित्रिएको छ।  (रासस)

प्रकाशित: ९ माघ २०७४ १०:१८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App