७ वैशाख २०८१ शुक्रबार
अर्थ

संस्थागत निक्षेपमा तीन महिनासम्म ब्याजदर परिवर्तन गर्न नपाइने

काठमाडौं –लगानीयोग्य रकम (तरलता) को अभाव भएको भन्दै बैंकहरुबीच संस्थागत निक्षेप तान्ने होडबाजी चल्न थालेपछि राष्ट्र बैंकले त्यस्तो अस्वस्थ प्रतिस्पर्धालाई अन्त्य गर्न संस्थागत निक्षेपको ब्याजदर तीन महिनासम्म परिर्वतन गर्न नपाउने व्यवस्था गरेको छ ।

आइतबार परिपत्र जारी गर्दै नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाले लिने संस्थागत निक्षेपमा कडाइ गरेको हो ।बैंकले बोलकबोलबाट उठाउने संस्थागत निक्षेपमा प्रकाशित गर्ने ब्याज दरभन्दा दुई प्रतिशत थप गर्न पाउने व्यवस्थालाई यथावत राख्दै प्रकाशित गरेको ब्याजदर तीन महिनासम्म परिवर्तन गर्न नपाउने व्यवस्था राष्ट्र बैंकले गरेको छ ।

 पैसा जम्मा गर्न आफ्नो खाता भएको बैंक धाउनु पर्ने अवस्थाको अन्त्य हुने

नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई ग्राहकलाई पायक पर्ने बैंक तथा वित्तीय संस्थाबाट आफ्नो खाता रहेको बैंक तथा वित्तीय संस्थामा रकम जम्मा गर्न सक्ने व्यवस्था लागू गर्न निर्देशन दिएपछि जुन बैंकमा खाता छ त्यही बैंकमा धाउनुपर्ने अवस्थाको अन्त्य हुने  भएको हो ।

व्यवस्थामा कार्यान्वयनमा आएपछि ग्राहकले आफ्नो खातामा पैसा जम्मा गर्न आफ्नो खाता रहेकै बैंक धाउनुपर्ने अवस्थाको अन्त्य हुनेछ । राष्ट्र बैंकले मौद्रिक नीतिमा गरेको त्यस्तो व्यवस्था कार्यन्वयनमा ल्याएको हो ।आइतबार राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाको नाममा परिपत्र जारी गर्दै अन्तरबैंक भुक्तानी प्रणालीमार्फत यस्तो व्यवस्था गर्न निर्देशन दिएको हो ।यो व्यवस्थाले आफ्नो बैंक नै खोज्दै हिँड्नुपर्ने अवस्थाको अन्त्य मात्र हुने छैन रकम जम्मा गर्न जाँदा हुने गाडी भाडा खर्च पनि कटौती हुने विश्वास राष्ट्र बैंकको छ ।

हाल सञ्चालनमा रहेको अन्तरबैंक भुक्तानी प्रणालीमार्फत नै ग्राहकले जुनसुकै बैंकमा जम्मा गरेको रकम आफ्नो खाता रहेको बैंकमा पुग्नेछ । नेपाल क्लियरिङ हाउसले हाल अन्तरबैंक भुक्तानी सेवामार्फत रकम, लाभांश लगायत ट्रान्सफर गर्न सकिने सुविधा दिइरहेको छ ।राष्ट्र बैंकका अनुसार बैंक तथा वित्तीय संस्थाले नगद जम्मा गर्ने व्यक्तिको पहिचान हुने सक्ने विवरण र एक लाख रुपैयाँभन्दा बढी रकम जम्मा गर्न आउनेसँग परिचयपत्र लिनुपर्नेछ । साथै उसले नगद जम्मा गर्नुको प्रयोजन समेत खुलाउनु पर्नेछ ।

यस्तै बैंकले हरेक शाखामा रकम जम्मा गर्न उपलब्ध गराउने फारममा कम्तीमा खाता रहेको बैंकको नाम, खाता नम्बर, खातावालाको नाम र रकम जग्मा गर्ने व्यक्तिको नाम उल्लेख हुनुपर्ने ब्यवस्था राष्ट्र बैंकले गरेको छ । साथै ग्राहकलाई रकम जम्मा गरेको निस्सा उपलब्ध गराउन पनि निर्देशन दिएको छ ।
तोकिएको बैंक तथा वित्तीय संस्थाको खातामा कुनै कारणवश रकम जम्मा हुन नसकेमा त्यसको जानकारी रकम जम्मा गर्ने व्यक्तिलाई गराउनु पर्नेछ भने रकम जम्मा गर्दा कति शुल्क लाग्ने हो त्यसको जानकारीसमेत ग्राहकलाई दिन राष्ट्र बैंकले मातहतका बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएको छ ।

 

प्रकाशित: ८ माघ २०७४ ०३:५१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App