८ मंसिर २०८१ शनिबार
image/svg+xml
अर्थ

‘क्रसर’मा उखु पेल्न भ्याइनभ्याइ

आधुनिक मेसिनमा उखु पेल्दै किसान । तस्बिरः सन्तोष

पोखरा- ‘पहिला–पहिला उखु पेल्ने मेसिनलाई काठेकोल भन्थे । पछि हामीलाई थाहा भएदेखि जमिनमा गाडेर तीनवटा डल्लामा गोरुले घुमाएर उखु पेलिन्थ्यो । यसरी उखु पेल्दा दिनमा एक टिन खुदो भन्दा हुँदैनथ्यो,’ ढोरबेंसीका केदारनाथ अधिकारीले उखु पेल्दै पहिलाको प्रविधिलाई स्मरण गर्दै भने, ‘९० दिनसम्म गोरुले उखु पोलेरर खुदो निकालेको अनुभव छ । अहिले बिजुलीको सहायतामा उखु पेल्ने मेसिन ‘क्रसर’आएसँगै सहजता भएको छ ।’

ढोरबेंसीमा उखु मेल्ने आधुनिक मेसिन आएको १२ वर्षजति भयो । त्यहाँ दुईवटा मेसिन छन् । यतिबेला त्यहाँका स्थानीय मेसिनमा उखु पेलिरहेको अवस्थामा भेटिन्छन्। ढोरबेंसी कृषि समूहका ३० सेयर र अर्को समूहका २० जना सेयर सदस्यबाट दुई ठाउँमा मेसिन ल्याएर उखुको खुदो उत्पादन गर्दै आएका छन्।

‘मेसिनमा लगानी समूहबाट र कृषि अनुदानबाट भएको हो,’ अधिकारीले भने, ‘भारतबाट ल्याएको यस मेसिनबाट उखु पेल्न धेरै सुविधा भएको छ ।’ रातभर गोरुले उखु पेलेरे एक टिन संकलन गरेका अधिकारी अहिले एक घन्टामै चार टिन खुदो निकाल्छन् । यस मेसिनबाट पनि अलिकति दुःख भएपनि जनशक्ति कम चाहिने उनले बताए।

‘गोरुले पेल्दा दुईवटा गोरु र एउटा कोलको पैसा तिर्नुपथ्र्यो । दुईवटा गोरु बराबर ६ सय रुपैयाँ लाउँथ्यो,’ उनले भने, ‘अहिले मेसिनबाट एक टिन बराबर समूहलाई ५०–६० तिर्नुपर्छ । त्यो पैसा समूहको कोषमा लगानी गरी आवश्यक सामग्री किन्ने गरिन्छ ।नयाँ आधुनिक मेसिनमा बिजुली आवश्यक हुन्छ।’

गत वर्ष ९० हजार रुपैयाँ कमाएका अधिकारीलेयसपटक खुदो बिक्री गरी डेढ लाख कमाउने अपेक्षा गरेका छन् । उखुमा लगानी आफ्नै मेहनतसँग जोडिएको हुँदा लगानीभन्दा पनि रोजगारीको रूपमा लिइएको उनको भनाइ थियो । अधिकारीका अनुसार उखु खेती गर्दा धान खेती गरेजस्तै खन्नु र जोत्नुपर्छ।

गोरुले जोतेको ठाउँमा उखुको टुप्पा गाडेर छोड्दै जानुपर्छ । यसमा गाइभैंसीको मल प्रयोग गरी आवश्यकअनुसार पानीको प्रयोग गर्नुपर्ने उनले जनाए । उनका अनुसार एकवर्षे उखु खेतीमातीनपटक गोड्नुपर्छ । उखु खेती राम्रो बनाउनका लागि पानीको आवश्यकता रहेको उनले प्रस्ट्याए।

ढोरबेंसी टोल विकास समितिका सचिव जीवनाथ पराजुलीले मेसिनको माध्यमबाट उखु पेल्न समय कम लाग्ने गरेको अनुभव सुनाए । उनले उखु व्यवसाय गर्ने किसानहरू पहिलाको तुलनामा बढेको बताए। ‘मेसिनले गर्दा पनि यसप्रति आकर्षण थपिएको छ,’ उनले भने, ‘समय कम लाग्ने र पुस र माघ महिनाको अवधिमा सामान्यतया किसानले ५० हजार रुपैयाँदेखि दुई लाखसम्म कमाउने गरेको पाइन्छ।’

पराजुलीले दुई रोपनी जग्गामा उखु खेती गरेको सुनाए। उखु खेतीको लागि प्रशस्त्र सम्भावना हुँदापनि नयाँ युवाहरूयो खेतीमा नलाग्दा चिन्तित हुनुपरेको उनले बताए । ‘उखुको व्यवसायलाई फस्टाएर आवश्यक बजार विस्तार गर्नुपर्छ,’ उनले भने, ‘यसबाट छोटोसमयमा मनग्य आम्दानी हुने गरेको छ ।’ उनका अनुसार उखुको खुँदो मानाको एकसय २० रुपैयाँ र एक टिनको तीन हजार रुपैयाँ पर्ने गर्छ।

 

 

प्रकाशित: ५ माघ २०७४ १२:४८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App