१६ चैत्र २०८० शुक्रबार
अर्थ

अदुवाले मूल्य नपाउँदा किसान चिन्तित

तस्बिर ; अरूण-नागरिक

डोटी - किसानले उत्पादन गरेको अदुवाले बजार मूल्य नपाउँदा घरमै थन्किएको छ । बिचौलियाले सोचेजस्तो मूल्य नदिएपछि अदुवा घरमै थन्किएको हो । अदुवाले भनेजस्तो मूल्य नपाएपछि धेरैजसो किसानले बारीबाट संकलन पनि गरेका छैनन् ।

दक्षिण डोटीका बोगटान गाउँपालिका, बडिकेदार गाउँपालिका र जोरायल गाउँपालिकामा अदुवाको उल्लेख्य उत्पादन हुन्छ । बिचौलियाहरु ती क्षेत्रका बजारहरु तथा किसानका बारीमै पुगेर अदुवा खरिद गर्ने गर्छन् । तर यसवर्ष बिचौलियाले बजारमा अदुवाको मूल्य राम्रो नभएको भन्दै किसानसंग न्यून मूल्यमा अदुवा खरिद गरिरहेका छन् । जसले यहाँका किसान मारमा छन् ।

किसानहरुका अनुसार अघिल्ला वर्षहरुमा प्रतिकेजी काँचो २० देखि ३० र सुँकेको (सुँठो) प्रतिकेजी एक सय ७० देखि एक सय ८० सम्ममा बिक्री हुन्थ्यो । अहिले काँचो अदुवा प्रतिकेजी १० रुपैयाँ र सुकेको अदुवा प्रतिकेजी ७० देखी ८० रुपैयाँ केजीमा बिक्री भइरहेको छ ।

बजारमै राम्रो मूल्य नभएका कारण आफूले उत्पादन गरेको अदुवा बिक्रीका लागि नलगेको बडिकेदार गाउँपालिका–५ लानाकेदारेश्वरका टिकासिँह भुलले बताए । ‘अदुवाको खेतीबाट विगत वर्षमा घर खर्च राम्रै चल्थ्यो । यो वर्ष त बेच्न लैजान समेत सकिरहेको छैन,’ उनले भने, ‘बजारमा मूल्य नै छैन् । बरु घरमै सडोस भनेर राखेको छु । जुनदिन राम्रो मूल्य शुरु भयो त्यसैदिन बेच्ने योजनामा छु ।’ विगतका वर्षजस्तो अदुवाको मूल्य नरहेको उनले बताए । ‘बिगतमा त राम्रै मूल्य थियो । यो पाला बजारमा मूल्य नै छैन् भनेर व्यापारीहरु भन्छन्,’ उनले दुखेसो पोखे ।

धेरै किसानहरुले बजारमा मूल्य नै नभएका कारण अदुवा बारीबाट संकलन समेत गरेका छैनन् । ‘बजारमै मूल्य नभए किन कुहाउनु भनेर खनेको छैन । बारीमै हुँदा कम्तिमा कुहिन्न,’ सोही ठाउँका भजनसिँह मल्लले भने, ‘मूल्य पाए खन्छु । नभए केही दिनमा खनेर सुठो बनाएर राख्छु ।’

यसक्षेत्रका किसानका लागि अदुवा वर्षौ अघिदेपिखको आम्दानीको मुख्य स्रोत हो । अदुवाबाट राम्रै आम्दानी गर्ने यहाँका किसान आफ्नै परम्परागत शैलीमा अदुवा खेती गर्छन् । धेरै किसानले बर्खेबालीका रुपमा आफूसँग भएको सबैजसो जमिनमा अदुवा लाउने गरेका छन् । जसका कारण उनीहरुको प्रमुख बाली नै अदुवा हुँदै आएको छ ।

यस्ता किसानहरुलाइ यसवर्ष अदुवाले मूल्य नपाउदा ठूलै चिन्ता उब्जिएको छ । ‘पहिले त अदुवाबाटै राम्रो आम्दानी हुन्थ्यो । त्यसैले सबैजसो जमिनमा अदुवा लगाइदिए,’ बडिकेदार गाउँपालिका–५ कि उमादेबी मल्लले भनिन्, ‘यसपटक त बर्बादै हुनेभए । अब कसरी घर चलाउने ? कसरी छोराछोरी पाल्ने ?’यहाँको अदुवाको मुख्य बजार भारत हो ।

५–६ वर्षअघिसम्ममा भारतिय व्यापारी नै स्थानीय बजारमा पुगेर किसानसँगै अदुवा खरिद गरेर लैजान्थे । पछिल्ला वर्षमा स्थानीय व्यापारी नै अदुवा संकलन गरेर उनीहरुसँग बेच्ने गर्दछन् । यसवर्ष भारतीय व्यापारीले नै अदुवाको कम माग गरेको र मूल्य पनि कम दिइरहेको स्थानीय बजार अत्तरकाँडाका व्यापारी देवबहादुर मल्लले बताए । उनले भने, ‘हाम्रो अदुवा उनीहरुले नै किन्ने हो । उनीहरुले नकिनिदिएपछि वा मूल्य नदिएपछि हामीले किसानलाई कसरी बढी मूल्य दिनसक्छौ ?’

जिल्ला कृषि विकास कार्यलय डोटीले यी क्षेत्रहरुलाई अदुवाको पकेट क्षेत्रको रुपमा विकास गर्ने योजना बनाए छ । तर, कार्यक्रमहरु भने अझै किसानहरु माझ पुग्न सकेका छैनन् । यहाँका किसानहरुले अदुवा खेतीमा उचित बजारीकरणको समस्या भोग्दै आएका छन् ।

 

प्रकाशित: २ माघ २०७४ ०३:४६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App