८ वैशाख २०८१ शनिबार
अर्थ

जोगवनी–किमाथांका पूर्वको आशा

संखुवासभा – प्रदेश नम्बर १ को मुख्य व्यापारिक मार्गको रुपमा हेरिएको जोगवनी–किमाथांका सडक निर्माणको गति सुस्त छ । त्रिदेशीय लिंकरोड (भारत, नेपाल र चीन) का रुपमा २०७० मा निर्माण थालिएको यो सडक २०७६ मा सम्पन्न गर्ने सरकारको लक्ष्य हो । यसले मुलुकलाई भारत–चीनसँग जोड्नुका साथै छोटो र सहज मार्ग हुने मानिए पनि त्यही रुपमा निर्माण कार्यले गति लिन सकेको छैन । 

अहिले उत्तर–दक्षिण कोसी सडक आयोजनाले किमाथांका–हटिया र खाँदबारी–हटिया गरी दुईतर्फबाट निर्माण गरिरहेको छ । यो खण्डको दुरी १४ किलोमिटर छ । यसका लागि सिन्धुपाल्चोकबाट तिब्बत हुँदै डोजर ल्याइएको छ । भीरको बाटो भएकाले १४ किलोमिटरको डोब खन्न ठेकेदारलाई झन्डै ३ वर्ष लाग्यो । खाँदबारीबाट खनिएको सडक पनि हटियाको गोलासम्म पुगेको छ । त्यहाँसम्म ७८ किलोमिटर सडक निर्माण भएको छ । आयोजनाले हटियाबाट हाङदाकखोलासम्म २१ किलोमिटरको काम पनि गरिरहेको छ । यो रुटमा १० किलोमिटर निर्माण भइसकेको आयोजनाले जनाएको छ ।

स्थानीयले भने निर्माण कार्य अपेक्षाअनुरूप अघि बढ्न नसकेको गुनासो गरेका छन् । केही स्थानमा आयोजनाका कर्मचारी र स्थानीयबीचको विवादका कारण पनि गति सुस्त छ । विराटनगरबाट किमाथांकासम्मको दुरी ३ सय ६२ किलोमिटर छ ।
खाँदबारी–किमाथांका १ सय ६२ किलोमिटर ट्र्याक निर्माणको काम सम्पन्न गर्ने जिम्मेवारी पाएको उत्तर–दक्षिण कोसी सडक आयोजनाका डिभिजन प्रमुख पशुपति ज्ञवालीले खाँदबारी हुँदै हटियाको स्याक्सिलासम्म ७८ किलोमिटर कच्ची सडक निर्माण भइसकेको बताए । हटियाको वरुण दोभानसम्म कच्ची सडक पुगिसकेको छ । किमाथांकाबाट छुमसुरतर्फ पनि ढुंगे गोप्तासम्म १४ किलोमिटर कच्ची सडक निर्माण भइसकेको छ । अब ४९ किलोमिटर खन्न बाँकी छ । यो खण्ड पूरा भएपछि किमाथांका–विराटनगर सडक जोडिन्छ । 
निर्माण कार्यमा कहाँ छ समस्या ?
द्रुत गतिमा काम भए दुई वर्षभित्र किमाथांका जोडिने ज्ञवालीको भनाइ छ । ‘कसैले विरोध र अवरोध नगरे तीव्र गतिमा काम अघि बढाउने थियौं,’ उनले भने, ‘सडक खन्दै जाँदा हरेक किलोमिटरमा विवाद आउँछ, १० दिनसम्म काम रोकिने गर्छ । स्थानीयले अवरोध गरेपछि ठेकेदारले काम गर्न छाड्छन् ।’ 

विशेष गरी सडकको स्वीकृत डिजाइन र रेखांकनलाई लिएर विवाद हुने गरेको छ । किमाथांकामा यही विवाद देखिएपछि त्यहाँबाट खनिएको सडकको काम १४ किलोमिटरमा पर्ने ढुंगे गोप्तामा रोकिएको छ । सदरमुकाम र हटियाबाट खनिएको सडक खण्डमा भने नियमित काम भइरहेको ज्ञवालीले बताए ।

‘सडक निर्माण भइसकेका स्थानमा हिउँदका बेला वरुण दोभानसम्म साना सवारी साधन र ट्याक्टर चलिरहेको छ,’ उनले भने, ‘गाउँबासीलाई यसले सहयोग पुगेको छ । पहिले तीन दिन लगाएर खाँदबारी पुग्ने उनीहरू अहिले गाडीमा १२ घन्टामै पुग्छन् ।’
स्थानीयको आशा

पाँच गाउँपालिका र त्यत्तिनै नगरपालिका रहेको संखुवासभामा प्रदेश नं. १ को समृद्ध जिल्ला भन्ने गरिएको छ । समृद्ध जिल्ला हुनुको आधार राष्ट्रिय गौरवको आयोजना अरुण तेस्रो र जोगवनी किमाथांका नै हो । त्यसका साथै रुद्राक्ष र अलैंची उत्पादनले जिल्लाको समृद्धिमा  टेवा पुगेको छ । १० वर्षयता अरुण तेस्रो र कोसी राजमार्ग निर्माणले पूर्णता पाएसँगै जिल्लाले विकासको फड्को मारेको जिल्लाबासी बताउँछन् । त्यस्तै, दशकयता जिल्लामा उत्पादन भएका रुद्राक्ष र अलैंचीको बजार भाउ अकासिएपछि जिल्लाले आर्थिक विकासमा समेत फड्को मारेको हो ।

स्थानीय तह, प्रदेश र प्रतिनिधिसभाको निर्वाचनले जनप्रतिनिधि टुंगो लगाइसकेको छ । प्रदेश र प्रतिनिधिसभाका उम्मेदवारहरुले चुनावी अभियानका क्रममा किमाथांका सडक र अरुण तेस्रो आयोजना निर्माण सम्पन्न गर्ने प्रतिबद्धता जनाएका थिए । तर, चुनाव जितेका उम्मेदवारले भने डेढ महिना बितिसक्दा समेत यो विषयमा मुख खोलेका छैनन् । भोट दिएर जिताएका मतदाता भने किमाथांका सडकको सुस्त निर्माण कार्यकै चिन्तामा छन् । चुनाव जितेका उम्मेदवारले सडक निर्माण कार्यको बारेमा खबरदारी गरिदिए निर्माण कार्य चाँडै सम्पन्न हुने आस गरेका छन् ।

संखुवासभा प्रदेश क बाट विजयी पूर्णप्रसाद राईले किमाथांका सडक निर्माण सम्पन्न हुँदा पूर्वको औद्योगिक व्यापारमा वृद्धि हुने बताए । यो सडकले छिमेकी दुई मुलुकलाई समेत प्रत्यक्ष जोड्ने कोसी राजमार्गले नेपालसहित तीन देशको व्यापार बढ्ने विश्वास व्यक्त गरे । अब आफ्नो नेतृत्व सुरु भएकाले सडक निर्माण कार्यमा विश्वस्त हुन राईले आग्रह गरे । 

 

प्रकाशित: ३० पुस २०७४ ०४:३२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App