३० असार २०७७ मंगलबार
अर्थ

बेलसहर बनमा जिप सफारी सुरु

बेलसहर वनमा  सफारीमा गएका जिप ।

चितवन – चितवन राष्ट्रिय निकुञ्जसँग जोडिएको पटिहानीको बेलसहर मध्यवर्ती सामुदायिक वनले पर्यटकका लागि जिप सफारी सेवा सुरु गरेको छ । चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत रामचन्द्र कँडेलले शुक्रबार औपचारिक रुपमा जिप सफारी सेवाको उद्घाटन गरे । भरतपुर महानगरपालिकाको वडा नं. १३ पटिहानीको छितामाई मन्दिरदेखि सौराहा खोरसरसम्म जिप सफारी सञ्चालन हुने छ ।

पटिहानी पर्यटनको धेरै सम्भावना भएको क्षेत्र हो । चितवन राष्ट्रिय निकुञ्जको पटिहानी मध्यवर्ती उपभोक्ता समितिका अध्यक्ष शंकर महतो भन्छन्, ‘स्थानीयले आफ्नो आडको वन जोगाउँदै आएका थिए । त्यो वनमा निकुञ्जमा पाइने सवै खालका जनावर गैंडा, बाघ र हात्तीसम्म आउन थाले । ती जनावरलाई पनि जोगाएकै हुन् । अब पर्यटनमार्फत लाभ लिन पनि खोज्दैछन् । यसले संरक्षण झनै प्रभावकारी हुने आशा छ ।’

पटिहानी छितामाईदेखि खोरसोरसम्मको दुरी १० किलोमिटर छ । राप्ती नदी किनार हुँदै बेलसहर बन र अन्य वन क्षेत्र हुँदै खोरसोर पुग्दा साना ठूला धेरै वन्यजन्तु र चरा देखिने बेलसहर मध्यवर्ती सामुदायिक वनका अध्यक्ष टेकनाथ तिमिल्सिनाले बताए । उनका अनुसार निकुञ्ज र सफारी फष्टाएको अन्य चल्तीमा सामुदायिक वनमा सफारी गर्दा जे जस्ता जनावर र चराहरु देखिन्छ ती यो वनमा सफारी गर्दा पनि देखिन्छन् ।

‘यसका साथै यो जिप सफारीको रुटमा श्रमिक ताल, बेलसर ताल, गैंडा ताल र छितामाई खोला छन् । आडमा राप्ती नदी बग्छ । यो क्षेत्र शान्त भएको र राम्रो सिमसार क्षेत्र पनि भएका कारण अन्यत्रको भन्दा विभिन्न खालका चरा प्रशस्तै देख्न सकिन्छ,’ बेलसहर मध्यवर्ती सामुदायिक वनका अध्यक्ष तिमिल्सिनाले भने । सात जना र १० जना अट्ने दुईखालका आठवटा जिपले सफारी सञ्चालन गर्ने छन् ।

सामुदायिक वनले ठूलो जिपको प्रवेश शुल्क एक हजार रुपैयाँ लिने छ । सानो जिपको प्रवेश शुल्क सात सय रुपैयाँ कायम भएको छ । यसका साथै जिपमा बस्नेले प्रति व्यक्ति थप शुल्क पनि तिर्नुपर्ने छ । जसमा नेपालीलाई २०, सार्क क्षेत्रका पर्यटकलाई ५० र अन्य विदेशीले सय रुपैयाँ तिर्नुपर्ने अध्यक्ष तिमिल्सिनाले जानकारी थिए । यसका साथै वन क्षेत्रभित्र पाँच सय रुपैयाँ प्रवेश शुल्क तिरेर साइकल सफारी गर्न पनि पाइन्छ ।

‘धेरै वर्षको मिहिनेतपछि बल्ल आज जिप सफारी सुरु गर्ने अवसर जुटेको छ । यसमा धेरै निकायको धेरैथरी सहयोग छ,’ अध्यक्ष तिमिल्सिनाले भने । बेलसहर वन संरक्षण गर्न ०४९ सालमा नै स्थानीय जुटेका थिए । ०५८ सालमा मध्यवर्ती सामुदायिक वन दर्ता भएको उनले जानकारी दिए । ०६२ सालमा छितामाईदेखि बेलसहरसम्म साइकल ट्र्याक खुलेको थियो । ०७२ सालमा छितामाइदेखि खोरसरसम्म पैदल मार्ग तयार भयो ।

‘पटिहानी मध्यवर्ती उपभोक्ता समिति, पटिहानी पर्यटन विकास समिति, चितवन निकुञ्ज कार्यालय सबैको सहयोगले आज यस्तो अवसर जुटेको हो,’ अध्यक्ष तिमिल्सिनाले भने । छितामाइदेखि खोरसरसम्म जिप चलाउनका लागि चार ठाउँमा काठे पुल राख्नु परेको उनले बताए । पुल बनाउन मात्रै २४ लाख रुपैयाँभन्दा धेरै खर्च भएको छ । सवै गरेर सफारीका लागि बाटो बनाउँदा ५० लाख रुपैयाँ खर्च भएको उनले बताए ।

खोरसोर सौराहासँग जोडिएको छ । चितवन निकुञ्जको मुख्यालय कसराबाट नजिकै रहेको छितामाई क्षेत्रमा पनि पर्यटन नफष्टाए पनि पूर्वाधार ४० को दशकमै तयार भएका हुन् । नारायणी सफारी रिसार्टले यहाँ तीन दशकअघि नै पर्यटन सुरु गरेको थियो । अहिले यो क्षेत्रमा दर्जनका हाराहारीमा राम्रा पर्यटकीय होटल रिसोर्ट खुलेका छन् ।

‘पर्यटनको तीव्र विकास भएको सौराहा र राम्रो सम्भावना बोकेको पटिहानी यो जिप सफारीमार्फत जोडिदै छ । यहाँको पर्यटन विकासका लागि यो कोशेढुंगा सावित हुने छ,’ पर्यटन विकास समिति पटिहानीका अध्यक्ष खेमलाल भट्टले भने । जिप सफारीमा तीन घण्टा जंगल र जंगली जनावर हेर्ने सुविधा रहेको सामुदायिक वनका पदाधीकारीले बताए । पर्यटकहरु थप एक रात चितवनमा बिताउँन सक्ने छन् । 

भरतपुर महानगरपालिका वडा नं. २२ का वडाध्यक्ष विष्णु महतोले महानगरले पर्यटन विस्तार मार्फत स्थानीयको जीवनस्तर सुधार गर्ने योजना बनाएको हुँदा जिप सफारीले त्यसमा सहयोग पुग्ने बताए । ‘महानगरले पूर्वाधार निर्माण लगायतका विषयमा सघाउँदै छ । पर्यटनमा स्थानीयलाई के केसरी जोड्ने हामी पनि चिन्तन गर्दै छौं । समुदायको साथमा महानगर छ,’ वडाध्यक्ष महतोले भने ।
निकुञ्जको सबै क्षेत्रमा पर्यटन विस्तार गर्ने, संरक्षणको लाभ स्थानीयमा पनि पु¥याउने अभियानमा निकुञ्ज कार्यालय रहेको चितवन निकुञ्जका प्रमुख संरक्षण अधिकृत रामचन्द्र कँडेलले बताए । ‘निकुञ्ज सीमाभित्र वन्यजन्तुको संरक्षण र व्यवस्थापनमा हामी जुटेका छौं । अहिले वन्यजन्तु निकुञ्जको सीमाभित्र मात्रै छैनन् । बाहिर मध्यवर्तीमा पनि प्रशस्तै छन् । त्यसैले मध्यवर्तीमा पर्यटन फष्टाउछ,’ कँडेलले भने ।

‘संरक्षणमा पर्यटन पनि जोड्दा स्थानीयको आर्थिक पाटोमा सकारात्मक योगदान पुग्छ । संरक्षणको मर्म नखल्बलिने गरेर हामीले निकुञ्जको मध्यवर्ती क्षेत्रमा पनि पर्यटन विस्तारको नीति लिएका छौं । स्थानीयको तदारुकतामा हुने पर्यटकीय गतिविधिले सवै क्षेत्रमा राम्रो प्रभाव पार्छ,’ प्रमुख संरक्षण अधिकृत रामचन्द्र कँडेलको भनाइ थियो । निकुञ्जको कुनै खास क्षेत्रमा मात्रै नभएर सवै क्षेत्रमा

पर्यटन विस्तार हुँदा राम्रो हुने उनले बताए ।
चितवन निकुञ्ज देशको तेस्रो मुख्य पर्यटकीय गन्तव्य हो । वन्यजन्तुमा आधारित पर्यटनमात्र नभएर स्थानीय आदिवासी समुदाय थारु, बोटे र दराई जातिको मौलिक रहन सहन संस्कार, संस्कृति नियाल्न यहाँ देश विदेशबाट लाखौं पर्यटकहरु आउने गर्छन् । अवस्था सामान्य रहेका बेलामा वर्षमा दुई लाखभन्दा बढी पर्यटकहरु आएको चितवन निकुञ्जको तथ्यांकमा उल्लेख छ । 

 

 

प्रकाशित: ३० पुस २०७४ १०:०० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App