५ आश्विन २०७७ सोमबार
अर्थ

राष्ट्रिय अर्थतन्त्रको विकास अहिलेको आवश्यकता : उपराष्ट्रपति पुन

काठमाडौँ (रासस)- उपराष्ट्रपति नन्दबहादुर पुनले सरकार र निजी क्षेत्रको सहकार्यबाट राष्ट्रिय अर्थतन्त्रको विकास गर्नु अहिलेको आवश्यकता भएको बताएका छन्।

नेपाल चेम्बर अफ कमर्सले आयोजना गरेको ‘चेम्बर दिवस तथा ६७ औँ वार्षिक साधारणसभाको आज उद्घाटन गर्दै उनले निरन्तरको व्यापारघाटा घटाउन चेम्बर र सरकारबीच हुने सहकार्यले सार्थकता पाउने विश्वास व्यक्त गरे।

उपराष्ट्रपति पुनले प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचन भर्खरै सम्पन्न भएको र अब मुलुक संक्रमणकालको अन्त्य भई स्थायित्व प्रारम्भ भएको बताउँदै “राजनीतिक स्थायित्व आर्थिक समृद्धिका लागि पहिलो शर्त हो, अब राजनीतिक स्थायित्वसँगै मुलुक आर्थिक समृद्धिको बाटोमा दु्रतगतिमा अघि बढ्नुपर्छ,” भने।

अब सबै राजनीतक दलले आर्थिक समृद्धिको विषयलाई साझा एजेण्डा बनाएर अघि बढ्ने बताउँदै उनले कुनै पनि देशको आर्थिक उन्नतिको दिशानिर्देश त्यस देशले गर्ने निर्यात व्यापारले निर्धारण गर्ने हुँदा निर्यात बढाउन सरकारसँगै उद्योग व्यवसायी गम्भीर हुनुपर्ने धारणा व्यक्त गरे।

उपराष्ट्रपति पुनले भने, “हाम्रो व्यापार नीति निर्यातमुखीभन्दा आयातमुखी देखिएको छ, चालु आर्थिक वर्षको पहिलो तीन महिनामा १८ प्रतिशतले व्यापार घाटा वृद्धि भएको छ।”

आन्तरिक उत्पादनलाई गुणस्तरयुक्त बनाउनुपर्ने तथा आयात प्रतिस्थापन गर्दै व्यापार घाटा कम गर्न सबै अग्रसर हुनुपर्नेमा जोड दिदैं उनले कृषि, पर्यटन जलविद्युत्, जडीबुटी र उद्योग कलकारखानालगायत क्षेत्रमा प्रशस्त सम्भावना रहेको हुँदा यी क्षेत्रमा थप लगानी बढाउन निजी व्यवसायीलाई आग्रह गरे।

 

 

 

प्रकाशित: २७ पुस २०७४ २०:१२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App