१६ चैत्र २०८० शुक्रबार
अर्थ

बाढीपीडितका लागि अर्ब निकासा

काठमाडौं – अर्थ मन्त्रालयले गएको साउनमा आएको बाढीबाट प्रभावितलाई राहत वितरण गर्न एक अर्ब चार करोड रुपैयाँ निकासा गरेको छ । अर्थले राष्ट्रिय पुनर्निर्माण प्राधिकरणमार्फत गृह मन्त्रालयलाई उक्त रकम निकासा गरेको जनाएको छ ।

दुई महिनाअघि मन्त्रिपरिषद् बैठकबाट निर्णय भएबमोजिम बाढीबाट घर पूर्ण क्षति भएका पीडितलाई घर मर्मत र जाडोबाट बच्न न्यानो सामग्री खरिदका लागि राहत वितरण गर्न लागिएको हो । गत कात्तिक २७ को मन्त्रिपरिषद् बैठक निर्णयमा पूर्णरुपमा घर क्षति भएका पीडितलाई अस्थायी घर व्यवस्थापनका लागि १५ हजार रुपैयाँ र जाडोबाट बच्ने सामग्री किन्न थप १० हजार रुपैयाँ प्रदान गर्ने उल्लेख छ । त्यसैगरी, मल तथा बीउ खरिदका लागि घर पूर्ण तथा आंशिक क्षति भएका पीडितलाई दुई–दुई हजार रुपैयाँ प्रदान गर्ने निर्णयमा छ ।

राष्ट्रिय योजना आयोगले तयार पारेको बाढीपछिको पुनस्र्थापना आवश्यकता आँकलन प्रतिवेदनअनुसार बाढीबाट तराईका १८ जिल्लामा ४१ हजार ६ सय २६ घर पूर्णरुपमा क्षति भएका छन् । आंशिक क्षति भएका घर संख्या एक लाख ९१ हजार सात सय ६६ रहेको प्रतिवेदनमा छ । यसअघि प्रदेश र प्रतिनिधिसभा निर्वाचनको आचारसंहिता लागू भएका कारण राहत वितरण रोकिएको थियो ।

पुनर्निर्माण प्राधिकरणअन्तर्गत बाढी पुनर्निर्माण तथा पुनस्र्थापना आयोजनाका आयोजना प्रमुख सुमन कर्णले बुधबारबाटै राहत वितरणको काम सुरु हुने जानकारी दिए । जिल्ला दैवी प्रकोप व्यवस्थापन समितिको अगुवाइमा पीडितलाई राहत वितरण गरिने आयोजना उनले बताए । राहत वितरण तथा पुनस्र्थापनामा स्थानीय सरकारलाई बढी जिम्मेवार बनाइने उनको भनाइ छ । ‘हामीले वडास्तरकै नामावाली तयार पारेका छौं,’ उनले भने, ‘वडा अध्यक्षको रोहवरमा पीडितलाई राहत वितरण गर्छौं ।’
 

प्रकाशित: २६ पुस २०७४ ०२:०८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App