६ वैशाख २०८१ बिहीबार
अर्थ

ठेकेदारको लापरबाहीले ६ महिनादेखि पुल निर्माण अलपत्र

सोलुखोला माथि निर्माणाधीन अवस्थाको मोटरेबल पुल ।

सोलुखुम्बु – ठेकेदारको लापरबाहीका कारण सोलुखोला माथिको बोल्दो पुल निर्माण कार्य ६ महिनादेखि अलपत्र परेको छ । गएको असार अन्तिमसम्म पुल निर्माण कार्य गरेको ठेकेदार कम्पनीले वर्षात लागेका कारण निर्माण कार्य रोकेको थियो । वर्षात सकिएको लामो समयसम्म पनि काम गर्न नआउँदा पुल निर्माणको काम अलपत्र बनेको हो । 

पुलको ९० प्रतिशतभन्दा बढी काम सकिएको छ । पुल छेउ ढलान र फिनिसिङको काम बाहेक अन्य काम सकिएको हो । स्थानीय पूर्वधार तथा कृषि सडक विभाग डोलिडार, जिल्ला समन्वय समिति र स्विस सरकारको सहयोगमा निर्माण गरिएको पुलको ९० प्रतिशतभन्दा बढी काम सकिएको जिल्ला प्राविधिक कार्यालय सोलुखुम्बुले जनाएको छ ।

सवारी साधन आवतजावत हुनेसम्मको पुल निर्माण कार्य सकिएसँगै पुलमाथिबाट सवारी सञ्चालनमा आएको छ । तर फिनिसिङको काम बाँकी नै रहेपनि ठेकेदार कम्पनीले पटकपटक ताकेता गर्दा पनि लापर्बाही गरिरहेको छ । यही पुस २० गतेसम्म सम्पर्कमा नआए कानुनी कारबाही गरिने जिल्ला प्राविधिक कार्यालय सोलुखुम्बुका इन्जिनियर सुबास राईले बताए । 

इन्जिनियर राईले भने, ‘करिब तीन करोड १७ लाख रुपैयाँ लागतमा निर्माण गरिएको पुलबाट अहिले सहज रुपमा सवारी सञ्चालन भइरहे पनि पुलको फिनिसिङ, पुल छेउको भाग तीन मिटरसम्म ढलान र पेन्टिङ गर्ने काम बाँकी नै रहेको छ ।’ यता, ठेकेदार सुजन दाहालले भने एक हप्ताभित्रै काम थालिने जानकारी दिएका छन् ।  

पुल छेउ ढलान र फिनिसिङको काम बाहेक अन्य काम सकिएको हो । पुलमाथि सवारी सञ्चालन हुने गरी काम सकिएसँगै पुलमाथिबाट सवारी साधन भने आवतजावत गर्न थालेका छन् । यो सँगै सोलुखुम्बु सदरमुकाम सल्लेरीबाट जिरी हुँदै काठमाडौंसम्म जाने ढोका खुलेको छ । तामाखानीको पिकेसम्म पुगेको सडकको ट्र्याक यही आर्थिक वर्षभित्र साविकको गोली गाविससम्म पुग्ने जनाइएको छ । 

सल्लेरीदेखि दोलखाको जिरी हुँदै काठमाडौं जोड्ने उक्त पुल सिन्धुलीको अमर कन्स्ट्रक्सनसँग सम्झौता भई २०६९ असारमा निर्माणकोे जिम्मा पाएको थियो । करिब तीन करोड १७ लाख रुपैयाँ लागतमा निर्माण गरिएको पुलबाट अहिले सहज रुपमा सवारी सञ्चालन भइरहे पनि पुलको फिनिसिङ, पुल छेउको भाग तीन मिटरसम्म ढलान र पेन्टिङ गर्न बाँकी रहेकाले जिल्ला प्राविधिक कार्यालयले ताकेता भने गरिरहेको जनाएको छ । करिब ४० लाख रुपैयाँ बराबरको काम अझै बाँकी छ ।    

सोलु–दूधकुण्ड नगरपालिकाभित्र पर्ने बोल्दोस्थित उक्त पुल नजिकै अन्य पुल समेत नभएकाले सर्वसाधारण जोखिमपूर्ण यात्रा गर्न बाध्य थिए । उक्त पुल निर्माण कार्यसँगै सगरमाथा क्षेत्र जाने पर्यटकले समेत छोटो सडक दूरीमार्फत उक्त सडक प्रयोग गर्न सक्नेछन् । स्थानीय आङफुला शेर्पाले भने, ‘स्थानीयलाई सहज त भएकै छ त्यसमा पनि धार्मिक तथा पर्यटकीय स्थल तामाखानी आउने आन्तरीक तथा बाह्य पर्यटकलाई समेत सहज भएको छ ।’ 

 

प्रकाशित: २४ पुस २०७४ ०४:५८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App