४ वैशाख २०८१ मंगलबार
अर्थ

चिनी मिल संचालनमा नआउँदा किसान मर्कामा

रौतहट – रौतहटको गरुडास्थित श्री राम सुगर मिल्स अझै पनि संचालनमा आउन नकस्दा किसान मर्कामा परेका छन्।उखुको मूल्य निर्धारण नभएको र विगत दुई वर्षको करिब बाइस करोड रुपैयाँ उद्योगले किसानलाई भुक्तानी गर्न बाँकी रहेको अवस्थामा उद्योग संचालनमा नआउँदा उखुको मोल कम हुने त्रासले किसानलाई सताउन थालेको छ । अधिकांश उखु खेतमै बिग्रिन थालेको किसानहरूले बताएका छन्।

सर्लाही, बारा लगायतका जिल्लामा रहेका चिनी मिलहरू संचालनमा आइसक्दा पनि रौतहटको चिनी उद्योग संचालनमा नआएपछि किसानलाई घाटा लाग्ने निश्चित भएको छ । बाराको चिनी उद्योगले रौतहटबाट हरेक दिन दर्जनभन्दा बढी ट्रक उखु लगिरहेको भए पनि रौतहटका किसानको खुँटी उखु खेतमै बिग्रन थालेको छ।

खुँटी उखु समयमा क्रसिङ नहुँदा किसानलाई धेरै घाटा हुने देखिएको छ । गत साउनमा आएको ठूलो बाढीले कतिपय उखु खेतमै ढलेकोले ढलेको उखु पच्चीस प्रतिशतसम्म सुकिसकेको देखिएको छ। उद्योग संचालनमा आउन ढिलाइ हुँदै गएपछि थप उखु सुक्ने सम्भावना भएकोले किसानलाई निकै घाटा लाग्ने त्रास बढ्न थालेको छ।

उद्योग समयमा संचालन नहुने पूर्व अनुमान गरेर नै कतिपय किसानले सस्तोमा खाँडसारी उद्योगलाई उखु बेचेका छन्। रौतहटमा संचालनमा रहेका दर्जनभन्दा बढी खाँडसारी उद्योगले कम्तीमा पचास हजार क्वीन्टल उखु क्रसिङ गरिसकेका छन्।

उद्योगमा आएको खराबीले संचालन हुन नसकेको र बिग्रेको पार्ट मर्मत कार्य भइरहेकोले छिट्टै संचालनमा आउने उद्योग स्रोतको भनाइ छ। उद्योगको टर्बाइन र रोलरमा खराबी आएको र भारतको पंजाबबाट मेकानिक बोलाएर मर्मतको काम भइरहेको स्रोतको दाबी छ।

उद्योगको मर्मत कहिलेसम्म हुने र उद्योग कहिलेदेखि संचालनमा आउने भन्ने कुरो अन्यौलमा रहेको छ। केही दिन पहिलेसम्म उखु उत्पादक संघले पुरानो भुक्तानी नदिएसम्म उद्योग संचालन गर्न नदिने बताइरहेकोले पनि उद्योग संचालनमा केही ढिलाइ भएको बताइएको छ। 

प्रकाशित: १७ पुस २०७४ ११:५४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App