coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
अर्थ

त्रिभुवन विमानस्थलमा ५१ लाख यात्रु

काठमाडौं – मुलुकको एकमात्र अन्तर्राष्ट्रिय विमानस्थलमा सन् २०१७ को दस महिनामा ५० लाखभन्दा बढी यात्रु आवागमन भएको छ । यो संख्या अन्तर्राष्ट्रिय र आन्तरिक दुवैतर्फ को हो।
 
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको प्रमुख सञ्चालक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार गत जनवरीदेखि अक्टोबर महिनाभित्र ५१ लाख ४ हजार ४ सय ६६ यात्रु आवागमन भएको थियो । यसमा अन्तर्राष्ट्रिय यात्रु आवागमन ३१ लाख ११ हजार ५ सय ६३ र आन्तरिक यात्रु आवागमन १९ लाख ९२ हजार ९ सय ३ हो।
 
सन् २०१६ को दस महिनामा भने ४२ लाख ४९ हजार २ सय ५१ यात्रु आवागमन भएको थियो । यसमा अन्तर्राष्ट्रिय यात्रु २८ लाख ३८ हजार २ सय ३८ थिए भने आन्तरिकतर्फ १४ लाख ११ हजार १३ थिए।
 
त्यसैगरी आन्तरिक र अन्तर्राष्ट्रिय जहाज आवागमन संख्या १ लाख ३ हजार २ सय ४८ पुगेको छ । यसमा अन्तर्राष्ट्रिय जहाज आवागमन २७ हजार ४ सय ९ हो भने आन्तरिकतर्फ ७५ हजार ८ सय ३९ हो । गत वर्ष सोही अवधिमा भने ८० हजार ७ सय ३४ जहाज आवागमन भएको थियो । यसमा अन्तर्राष्ट्रियतर्फ २१ हजार ६ सय ७१ र आन्तरिकतर्फ ५९ हजार ६३ थिए।

त्यसैगरी कार्गोतर्फ गएको दस महिनामा १९ हजार २ सय ९५ टन आवागमन भएको थियो । यसमा अन्तर्राष्ट्रियतर्फ १६ हजार २ सय ९६ टन र आन्तरिकतर्फ २ हजार ९ सय ९८ टन हो । अघिल्लो वर्ष दस महिनामा भने २० हजार २ सय ६५ टन कार्गो आवागमन भएको थियो । जसमा अन्तर्राष्ट्रियतर्फ १७ हजार ३ सय ८२ टन र आन्तरिकतर्फ २ हजार ८ सय ८३ टन थियो।
 
‘त्रिभुवन विमानस्थलमा जहाज र यात्रु चाप दिनहुँ वृद्धि भइरहेको छ र यसलाई व्यवस्थित गर्न हामी भरमग्दुर प्रयास गरिरहेका छौं,’ नागरिक उड्डयन प्राधिकरणको १९औं वार्षिकोत्सवमा आइतबार आयोजित कार्यक्रममा महानिर्देशक सञ्जीव गौतमले भने, ‘त्यही भएर विमानस्थलमा विभिन्न पूर्वाधार निर्माणका काम चलिरहेका छन् । विमानस्थल विस्तार गर्न तत्काल सम्भव नभए पनि उड्डयन सुरक्षामा सम्झौता नगरी थप व्यवस्थित गर्ने काम भइरहेका छन्।’

उनका अनुसार ललितपुरको भट्टेडाँडामा नयाँ ‘राडार’ जडान गरिएको र त्यसले नेपाली आकासको ७५ प्रतिशत हिस्सा समेट्ने छ । त्रिभुवन विमानस्थलमा हाल दुईथान ठूलो आकार (वाइड बडी) जहाज पार्किङ गर्न मिल्ने ‘बे’ निर्माण भइरहेको छ।
  
कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव महेश्वर न्यौपानेले त्रिभुवन विमानस्थल सुधारमात्र गर्न सके पनि उड्डयन र पर्यटन क्षेत्रको १५ देखि २० प्रतिशत समस्या समाधान हुने विश्वास व्यक्त गरे।
 
‘जहाजबाट ओर्लिनासाथ चाउचाउ र मोबाइल कम्पनीका विज्ञापनका तस्बिर भित्ताभरि हेर्नुपर्छ, ती हटाएर सगरमाथा र बुद्ध जन्मस्थल लुम्बिनीको तस्बिर राख्नुपर्‍यो,’ उनले भने, ‘मैले यसमा निर्देशन दिएको तीन महिना भयो तर कार्यान्वयन भएको छैन।’

अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आइकाओ) को मापदण्डअनुसार प्राधिकरणलाई नियामक र सेवा प्रदायक दुई छुट्टै संस्था बनाउनुपर्ने उनले बताए। यसबाट संस्था ध्वस्त नभई थप बलियो हुने उनले बताए । ‘सम्बद्ध ऐन–कानुन हेर्दा प्राधिकरणका कर्मचारीले बोनस खान मिल्दैन,’ सचिव न्यौपानेले भने, ‘यसमा कुनै पनि कर्मचारीले आशा नगरे हुन्छ।’

त्यसैगरी प्राधिकरणका उपमहानिर्देशक राजन पोखरेलले उड्डयन सुरक्षामा पछिल्लो पटक धेरै उपलब्धी हासिल भएको जानकारी दिए । आइकाओको ‘गम्भीर सुरक्षा सूची’ (एसएससी) बाट हट्न सफल भएको र युरोपेली आयोगको ‘उड्डयन सुरक्षा सूची’ बाट उम्किन तथ्य–प्रमाणसहित अगाडि बढिरहेको उनले बताए । ‘युरोपेली आयोगलाई यसबारे धेरै कागजात पठाएका छौं,’ उनले भने, ‘यसबाट चाँडै उम्किने आशा छ।’

निजी आन्तरिक वायुसेवा कम्पनीहरूको छाता संगठन वायुसेवा सञ्चालक संघका अध्यक्ष पवित्रकुमार कार्कीले हवाई उद्योगलाई अन्यसरह प्राथमिकता प्राप्त उद्योगको दर्जा दिन आग्रह गरे । त्यस्तै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आन्तरिक तथा अन्तर्राष्ट्रिय वायुसेवा थपिने क्रम बढे पनि पूर्वाधार दयनीय भएका कारण तोकिएको समयमा उडान–अवतरण हुन गाह्रो भइरहेको उनले बताए। 

प्रकाशित: १७ पुस २०७४ ०५:४७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App