coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

पैसा तान्न ब्याज बढाउने होडमा बैंक

काठमाडौं–लगानीयोग्य पुँजीको अभाव तरलता हुन थालेपछि बैंकहरुबीच ब्याजदर बढाएर निक्षेप तान्ने होडबाजी चलेको छ । एक साताअघि मुद्दती निक्षेपमा १० प्रतिशत ब्याज दिने योजना ल्याएका बैंकले एक सातापछि साढे ११ प्रतिशत ब्याज भुक्तानी गर्ने गरी निक्षेप तानिरहेका छन्।

निर्वाचनमा खर्च भएको रकम बैंकिङ प्रणालीमा आइनसकेको, बैंकले लिएको निक्षेपको अवधि पुसमसान्तमा सकिँदै गरेको र सरकारी ढुकुटीमा लगानीयोग्य रकम थन्किएकाले बैंकमा लगानीयोग्य रकम अभाव भएको बैंकरहरु बताउँछन् । तर, राष्ट्र बैंकका उच्च अधिकारी भने तरलताको अभाव नभएको जिकिर गर्छन्।

अहिले बैंकिङ प्रणालीमा लगानीयोग्य रकम ३२ अर्ब मात्र रहेको डेपुटी गभर्नर शिवराज श्रेष्ठले नागरिकलाई बताए । ‘लगानीयोग्य रकम बैंकिङ प्रणालीमा रहे पनि ब्याजदर बढाउने होडबाजीमा बैंकहरु लागेका छन्,’ उनले भने, ‘सातामै ब्याजदर १० प्रतिशतबाट ११.५० प्रतिशत पु¥याउनुपर्ने आवश्यकता थिएन।’

वाणिज्य बैंकहरुले ब्याजदर बढाएका कारण विकास बैंक र वित्त कम्पनीहरु तर्सिन पुगेका छन् । ‘तर्सिनुपर्ने गरी वाणिज्य बैंकले निक्षेपको ब्याजदर बढाउनुपर्ने स्थिति छैन,’ उनले भने, ‘पुस मसान्तसम्ममा बैंकिङ प्रणालीमा रहेको ८० अर्ब रुपैयाँ सरकारी खातामा जान्छ र रकम अभाव हुन्छ भन्ने अनुमान कतिपयले गरेका छन्,’ उनले भने, ‘त्यसो भएकाले पनि लगानीयोग्य पुँजी अभाव हुने आशंका गरिएकाले निक्षेपको ब्याजदर बढाएको हुनुपर्छ ।’ तर, त्यसरी आत्तिनुपर्ने अवस्था नभएको दाबी डेपुटी गभर्नर श्रेष्ठले गरे।

सरकारी ढुकुटीमा ३ खर्ब ४८ अर्ब रुपैयाँ रहेको पनि उनले जानकारी दिए । ‘निर्वाचनमा भएको रकम पनि बैंकिङ प्रणालीमा आउन थालेकाले पनि लगानीयोग्य पुँजीको अभाव हुँदैन,’ डेपुटी गभर्नर श्रेष्ठले भने, ‘लगानीयोग्य पुँजीको अभाव हुने भनेर अहिले नै अत्तालिनुपर्ने अवस्था छैन ।’

पछिल्लो समय लगानीयोग्य पुँजीको अभाव झेलिरहेका बैंकहरुले मुद्दती खातामा उच्च ब्याज दिएर निक्षेप तान्ने होड बाजीमा उत्रेका छन् । मुद्दती खातामा ११.५०  प्रतिशत ब्याज दिएर निक्षेप तानिरहेका छन् ।  निक्षेपकर्ताले पनि जता बढी ब्याज आउँछ त्यतै रकम राख्न थालेका छन् । बचत खातामा कम ब्याज दिएपछि निक्षेपकर्ताले बढी ब्याज आउने मुद्दती खातामा धमाधम रकम सार्न थालेका छन् ।

अधिकांश बैंकले मुद्दती खातामा ९ देखि ११.५० प्रतिशत ब्याज दिने गरेको बैंकरको भनाइ छ । तर, सबैभन्दा बढी रकम राख्ने बचत खाताको ब्याजदर भने बैंकहरुले बढाएका छैनन् । बैंकले अहिलेसम्म पनि बचत खातामा पाँच प्रतिशतसम्म ब्याज दिएर निक्षेप संकलन गरिरहेका छन् । ‘पछिल्लो समय मुद्दती खातामा दिइने उच्च ब्याजदरले बचतकर्तालाई लोभ्याउने देखिएको छ,’ एक बैंकरले भने, ‘तरलता अभाव अझै नहटेको पनि यसले स्पष्ट संकेत देखाएको छ ।’

‘लगानीयोग्य पुँजी अभाव हटाउन पनि बैंकहरुले मुद्दती र बचत खाताको ब्याजदर नबढाई सुखै छैन,’ एक बैंकरले भने, ‘धेरै कम ब्याज दिने बैंकबाट निक्षेप झिकेर बढी ब्याज आउनेमा राख्न थाल्ने भएपछि कम ब्याज दिने बैंकहरुले पनि बाध्य भएर ब्याजदर बढाउन थाल्छन् ।’
‘बढी ब्याजदर दिएर निक्षेप संकलन गर्नुको अर्थ सस्तोमा ऋण पाइँदैन भन्ने बुझ्नुपर्छ,’ एक बैंकरले भने, ‘ब्याजदर बढ्नु भनेको ऋणको ब्याजदर अझै बढ्ने संकेत देखिनु पनि हो ।’
केन्द्रीय बैंकले कर्जा र निक्षेपको ब्याज अन्तर स्प्रेडदर पाँच प्रतिशत बिन्दुभन्दा बढी हुन नहुने व्यवस्था गरेको छ । तोकिएको स्प्रेड दरभित्र रहेर बैंकहरुले कर्जा लगानी गर्नुुपर्ने बाध्यात्मक स्थिति छ ।  
सामान्य अवस्थामा आउन थालेको लगानीयोग्य रकम अहिले पुनः अभाव हुन थालेको छ । यस्तो अवस्थामा ब्याजदर बढाएर भए पनि बैंकहरु निक्षेप तान्न लागिपरेका छन् । महँगो ब्याजमा लिएको निक्षेप रकम महँगै दरमा लगानी गर्दा कर्जाको ब्याजदर बढ्ने बैंकरहरुको दाबी छ । 
तर, ऋणीहरु भने बढ्दा छिटोछिटो ब्याज बढाउने बैंकले घट्दा भने घटाउन आनाकानी गर्ने गरेको बताउँछन् । 
उच्च दरमा निक्षेप लिएर कम ब्याजदरमा कर्जा लगानी गर्दा नोक्सानी हुने भएकोले पनि  कर्जाको ब्याज पनि बढाउने निश्चित छ । हाल बैंकहरुले १४ प्रतिशतसम्ममा कर्जा लगानी गरिरहेका छन् । कर्जाको ब्याजदर बढ्दा  कुल गार्हस्थ उत्पादनमा ह्रास आउने विज्ञहरुको भनाइ छ ।

प्रकाशित: ११ पुस २०७४ ०३:१२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App