२० असार २०७७ शनिबार
अर्थ

चार महिनापछि पनि मुलुकको आर्थिक अवस्था उस्तै

काठमाडौं- चालु आर्थिक वर्षको सुरुदेखि नै उत्साहप्रद नरहेको मुलुकको आर्थिक अवस्था चार महिनासम्म आउँदा पनि उस्तै रहेको छ । मुलुकको आर्थिक गतिविधिको तथ्यांक राख्ने केन्द्रीय निकाय राष्ट्र बैंकले आइतबार सार्वजनिक गरेको तथ्यांकले चालु आवको चार महिनासम्म पनि आर्थिक अवस्थामा सुधार आउन नसकेको देखाएको हो । राष्ट्र बैंकका अनुसार चालु आवको कात्तिकसम्ममा चालु खाता निरन्तर ओरालो लागेको छ । राजस्व असुली लक्ष्य अनुसार छैन । आयात उच्च दरले बढेको छ भने निर्यात झनै खस्कँदो छ । यही बेला अर्थतन्त्रलाई धान्ने प्रमुख औजार रेमिटेन्सको वृद्धिदर पनि घटेको छ । यस्तै, सरकारले लक्ष्यअनुसार खर्च गर्न सकेको छैन । समग्रमा सबै आर्थिक परिसूचकहरु मजबुत अर्थतन्त्रको पक्षमा छैनन् । यस्तै रहे आगामी दिन पनि सन्तोषप्रद नहुने देखिएको छ ।

राष्ट्र बैंकका अनुसार वर्षको सुरुदेखि नै चालु खाता निरन्तर घाटामा गएको छ । पहिलो महिना ५ अर्ब ४३ करोड रुपैयाँ घाटामा पुगेको चालु खाता कात्तिकसम्ममा २५ अर्ब ८ करोडमा पुगेको छ । गत वर्ष कात्तिकमा आउँदा चालु खाता एक अर्ब ८६ करोड रुपैयाँले बचतमा थियो ।
राष्ट्र बैंकका अनुसार अघिल्लो वर्ष २१ अर्ब ९८ करोडले बचतमा रहेको शोधनान्तर स्थिति अहिले २ अर्ब ४० करोडले मात्र बचतमा छ । यस्तै गत वर्ष ७.८ प्रतिशतले बढेको रेमिटेन्स कात्तिकमा १.४ प्रतिशतले घटेको छ ।
अहिलेसम्म २ सय २८ अर्ब रुपैयाँ रेमिटेन्स आएको छ । वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या (पुनः श्रमस्वीकृति बाहेक) मा पनि कमी आएको छ । श्रम स्वीकृतिका आधारमा वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या यो अवधिमा १ प्रतिशतले घटेको छ ।
अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ७.९ प्रतिशतले घटेको थियो । यो वर्ष मलेसिया जाने कामदारको संख्यामा उच्च वृद्धि भएको तर साउदी अरेबिया र कतार जानेको संख्यामा उल्लेख्य गिरावट आएको छ ।
बैंकका अनुसार चालु आवको चार महिनामा कुल वस्तु निर्यात ७.५ प्रतिशतले वृद्धि भई २६ अर्ब ३५ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यातमा १७ प्रतिशतले वृद्धि भएको थियो । भारततर्फ २ प्रतिशत, चीनतर्फ ३३.५ प्रतिशत र अन्य मुलुकतर्फ १३.३ प्रतिशतले निर्यात बढेको छ ।
यस्तै, कुल वस्तु आयात १०.८ प्रतिशतले बढेर ३ सय ३४ अर्ब ३१ करोड पुगेको छ । अघिल्लो वर्ष यो ८७.४ प्रतिशतले बढेको थियो । समीक्षा अवधिमा भारतबाट भएको आयात १२.२ प्रतिशत र अन्य मुलुकबाट भएको आयात १७.४ प्रतिशतले बढेको छ भने चीनबाट भएको आयात ४.८ प्रतिशतले घटेको छ ।
बैंकका अनुसार कुल वस्तु व्यापार घाटा ११.१ प्रतिशतले बढेर ३ सय ७ अर्ब ९६ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटा ९७.९ प्रतिशतले बढेकोे थियो । निर्यात–आयात अनुपात ७.९ प्रतिशत छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो अनुपात ८.१ प्रतिशत रहेको थियो ।
गत असोजमा उपभोक्ता मूल्यवृद्धि ३.१ प्रतिशत रहेकोमा कात्तिकमा ३.९ प्रतिशत पुगेको छ ।  तरकारी, मदिराजन्य पेय पदार्थ लगायतमा मूल्य बढेकाले यस्तो भएको हो । अघिल्लो वर्ष यो ४.८ प्रतिशत थियो ।
यो अवधिमा खाद्य मुद्रास्फीति २.३ प्रतिशत छ । अघिल्लो वर्षको सोही अवधिमा खाद्य मुद्रास्फीति २.६ प्रतिशत थियो । गत वर्षको तुलनामा यस समूह अन्तर्गतको दलहन तथा गेडागुडीको मूल्यमा २४.१ प्रतिशत र मसलाको मूल्यमा ५.५ प्रतिशतले कमी आएकोले समग्र खाद्य मुद्रास्फीति न्यून रहन गएको हो । तर, तरकारीको मूल्य असोजको तुलनामा ९.६ प्रतिशतले वृद्धि भएको कारण मात्र खाद्य मुद्रास्फीति १.३ प्रतिशतले बढेको हो ।
यस्तै, गैरखाद्य मुद्रास्फीति ५.१ प्रतिशत छ । अघिल्लो वर्ष यो ६.५ प्रतिशत थियो । यस समूह अन्तर्गतको लत्ताकपडा तथा जुत्ता, फर्निसिङ तथा घरायसी उपकरण, हाउजिङ तथा युटिलिटी, स्वास्थ्य लगायत वस्तुको मूल्य वृद्धिदर गत वर्षको तुलनामा कम रहेकोले मुद्रास्फीति कम रहन गएको हो ।
क्षेत्रगत आधारमा विश्लेषण गर्दा समीक्षा अवधिमा उपभोक्ता मुद्रास्फीति हिमालमा ५.४ प्रतिशत, पहाडमा ४.७ प्रतिशत, तराईमा ३.७ प्रतिशत र काठमाडौं उपत्यकामा ३.२ प्रतिशत रहेको छ । समीक्षा अवधिमा हिमाली क्षेत्र अन्तर्गत रहेको चन्दननाथ बजारकेन्द्र, जुम्लामा भएको उच्च मूल्य वृद्धिका कारणले तुलनात्मक रुपमा अन्य क्षेत्रको भन्दा हिमाली क्षेत्रको मूल्य वृद्धि अधिक छ । अघिल्लो वर्षको सोही अवधिमा मूल्य वृद्धिदर हिमालमा ४.० प्रतिशत, पहाडमा ६.२ प्रतिशत, तराईमा ५.१ प्रतिशत र काठमाडौं उपत्यकामा ३.० प्रतिशत रहेको थियो ।
राष्ट्र बैंकले यो तथ्यांकका बाबजुद भावी दिन सकारात्मक हुने प्रक्षेपण गरेको छ । उसले तीनवटा कारण दिँदै भावी दिन सकारात्मक हुने अपेक्षा गरेको हो । बैंकका अनुसार निर्माण कार्यले गति लिएको छ । व्यक्तिगत घर, होटल तथा जलविद्युत परियोजनाको निर्माण बढ्दो क्रममा छ । सिमेन्ट, आल्मुनियम बार, कोल्डरोड रोड सिट इन क्वाइल, एमएस बिलेट तथा रड जस्ता निर्माण सामग्रीको आयातमा भएको वृद्धिबाट निर्माण कार्यले तीव्रता लिएको देखिन्छ ।
बैंकका अनुसार औद्योगिक उत्पादनको क्षेत्रमा पनि क्रमिक सुधार भइरहेको छ । बैंकले हालै गरेको आर्थिक गतिविधि अध्ययनले पनि औद्योगिक क्षेत्रको क्षमता उपयोग बढेको देखाएको छ । यस अन्र्तगत सिमेन्ट, फलाम तथा स्टिल, जस्तापाता तथा तार जस्ता उद्योगको उत्पादन बढेको छ । औद्योगिक कच्चा पदार्थको आयात र उद्योगमा बैंक तथा वित्तीय संस्थाबाट प्रवाहित कर्जाको विस्तारले औद्योगिक क्षेत्रको परिदृश्य सकारात्मक रहेको देखिन्छ ।
यस्तै, पर्यटन क्षेत्रमा सुधारको संकेत देखिएको छ । पर्यटक आगमनसँगै होटलको अकुपेन्सी दरमा भएको वृद्धि एवं होटल निर्माण कार्यले लिएको गतिले पर्यटन क्षेत्रको विस्तार भएको देखाएको छ ।

प्रकाशित: १० पुस २०७४ १०:१८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App