२४ असार २०७७ बुधबार
अर्थ

हस्तकलामा सम्मान र पैसा दुवै छ

धर्मराज शाक्य, अध्यक्ष नेपाल हस्तकला महासंघ

नेपाली कला, संस्कृति र परम्परासँग जोडिएर उत्पादन हुँदै आएको हस्तकला सामग्री पछिल्लो समय राम्रो आम्दानीको स्रोत बन्दै गएको छ । निर्यात व्यापारमा मुख्य स्थान ओगट्ने यो क्षेत्रले मुलुकको अर्थतन्त्रमा विशेष योगदान पु¥याएको छ । विदेशी मुद्रा आर्जन र रोजगारी सिर्जनाको प्रशस्त सम्भावना भएपनि राज्यको प्राथमिकतामा नपरेका कारण यो क्षेत्रको विस्तार अपेक्षाकृत रुपमा हुन नसकेको हस्तकला व्यवसायीको भनाइ छ । यसै सन्दर्भमा रहेर नागरिकका लागि विष्णु तामाङले नेपाल हस्तकला महासंघका अध्यक्ष धर्मराज शाक्यसँग गरेको कुराकानीको सारांशः 

अहिले हस्तकला क्षेत्रको समग्र अवस्था कस्तो छ ?
व्यापारको हिसाबले हस्तकलाको अत्यन्तै राम्रो अवस्था छ । हामीले तयार गरेका सामग्री सबै निर्यात भइरहेको छ र स्थानीय बजारमा पनि राम्रो खपत भइरहेको छ । गतवर्षको तुलनामा यो वर्ष १७ प्रतिशतले निर्यात बढेको छ । 
दक्ष कालिगढको अभावमा मागअनुसार पूर्ति गर्न सकिरहेका छैनौं । भएका कालिगढ पनि विदेश पलायन भएका छन् । पुराना कलाकार बित्दै जाँदा नयाँलाई आकर्षण गर्न सकिरहेका छैनौं । यसले यो क्षेत्र लोप नै भएर जान सक्ने अवस्था आउन सक्ने डर छ । यसलाई निरन्तरता दिनका लागि हामीले तालिम सञ्चालन गरेर नयाँ पुस्तालाई आकर्षित गर्न जरुरी छ । त्यसैले काउन्सिल बनाउनु आवश्यक छ । हामीसँग प्रविधि पनि कमजोर छ । प्रविधि भित्र्याउन सकेका छैनौं ।

यो क्षेत्रको विस्तार र प्रवद्र्धनमा महासंघले कस्ता कार्यक्रम गरिरहेको छ ?
हस्तकलाको विकासका लागि दुई–तीनवटा कामलाई प्राथमिकता दिएर महासंघले काम गरिरहेको छ । पहिलो, उद्योग मन्त्रालयसँगको सहकार्यमा  हस्तकला विकास नीति (ह्यान्डिक्राफ्ट डेभलपमेन्ट पोलिसी) को ड्राफ्ट तयार गरिसकेका छौं । यो चाँडै नै कार्यान्वयनमा आउने आशा छ । अहिले नीति नहुँदा हस्तकलाको विकासका लागि कुन निकायले हेर्ने भन्ने समस्या छ, यो नीति कार्यान्वयनमा आएपछि उक्त समस्या हट्छ । घरेलु विभाग, व्यापार प्रवद्र्धन केन्द्रलगायतले स–सानो स्केलको काममा सहयोग गरिरहेको छ । 
यो नीति कार्यान्वयनमा आएपछि हस्तकला परिषद् (ह्यान्डिक्राफ्ट काउन्सिल) वा यस्तै एक निकाय खडा हुन्छ । जसले हस्तकला क्षेत्रको विकास र विस्तारका लागि सम्पूर्ण जिम्मेवारी लिएर काम गर्नेछ । अहिले पनि ललितकलामा हस्तकलाको सानो डिपार्ट छ । तर, त्यस्तो निकायले हस्तकलाको विकासमा काम गर्न सक्दैन । त्यसकारण काउन्सिल नै गठन गर्नुपर्छ भन्ने हाम्रो माग हो । यो भयो भने सातैवटा प्रदेशमा काउन्सिलको शाखा हुन्छ, त्यसले हस्तकलासम्बन्धी तालिम, प्रदर्शनी, हस्तकलाको गुणस्तर मापनका लागि प्रयोगशाला आदि सञ्चालन गर्नुका साथै हस्तकला व्यवसायीका लागि आवश्यक नीति तय गर्ने काम गर्छ । 
अर्को, सार्क ह्यान्डिक्राफ्ट डिजाइन सेन्टर बनाउने हाम्रो चार वर्षदेखिको योजना हो । नेपाल सरकारले घरेलु विभागको तीन रोपनी जग्गा दिइसकेको छ । यसपालीको बजेटमा भवन निर्माणको लागि तीन करोड रुपैयाँ पनि दिएको छ । हामीले घरको नक्सा बनाएर टेन्डर आह्वान गसिकेका छौं । अहिले मूल्यांकनको काम भइरहेको छ । भवन निर्माण प्रक्रियामा हामी अगाडि बढिसकेका छौं । यो भवन निर्माण सकिनसाथ सार्क डेभलपमेन्ट फन्डले सञ्चालन खर्च उपलब्ध गराउने प्रतिबद्धता जनाइसकेको छ । यसपछि नेपालमा हस्तकला डिजाइन सेन्टर र हस्तकला तालिम इन्स्टिच्युट खडा हुन्छ । जसले हस्तकला सिक्न चाहने नयाँ पुस्तालाई समेट्नेछ । हस्तकला पेसामा पुस्तान्तरणको समस्या छ, यो समाधान हुन्छ । नयाँ पुस्ता र अरु क्षेत्रका मानिसलाई पनि यसमा आकर्षित गर्न सकिन्छ । 
‘ह्यान्डिक्राफ्ट ग्राम’ स्थापनाको लागि पनि पहल गरिरहेका छौं । सरकारले चोभारमा निर्माणाधीन प्रदर्शनी केन्द्र परिसरमा हस्तकलाका लागि पनि ठाउँ उपलब्ध गराउने आश्वसन दिएको छ ।
हस्तकला प्रवद्र्धन र विस्तारका लागि हरेक वर्ष हस्तकला व्यापार मेला आयोजना गर्दै आएका छौं । ४० भन्दा बढी जिल्लाका हस्तकला प्रदर्शनीमा राख्छौं । महासंघको जिल्ला शाखामार्फत आएका व्यवसायीका लागि निःशुल्क स्टल उपलब्ध गराउँदै आएका छौं । हामीले अन्तर्राष्ट्रिय खरिदकर्तालाई पनि आमन्त्रण गर्छौं । साथै, मेलामा व्यवसायीसँग प्रत्यक्षरुपमा ‘बिटुबी मिटिङ’ गराइदिन्छौं । जसले हस्तकलाको व्यापार प्रवद्र्धनमा सहयोग पु¥याएको छ ।
अन्तर्राष्ट्रिय मेलामा पनि महासंघले सहभागिता जनाउँदै आएको छ । युरोप, अमेरिका, चीनलगायत मुलुकमा सहभागीहरु पठाउँछौं । आफैं ‘सिंगल कन्ट्री सो’ पनि गर्छौं । यो पटक चीनको साङघाइ, हङकङ र मलेसियामा हामीले यस्तो सो ग¥यौं । जसले गर्दा नेपाली उत्पादन अन्तर्राष्ट्रिय बजारमा परिचित हुने अवसर दिएको छ । 
नयाँ पुस्तालाई आकर्षित गर्न महासंघले के पहल गरेको छ ? 
हामीले विभिन्न तालिम सञ्चालन गर्दै आएका छौं । ०७२ सालको भूकम्पपछि धेरै सम्पदा नष्ट भए । पुनर्निर्माणमा धेरै कलाकारको आवश्यकता भयो । यसलाई सम्बोधन गर्न हामीले पुरातत्व विभाग, काठमाडौं महानगरपालिका, ललितपुर महानगरपालिका लगायतसँग सहकार्य गरेर तालिम सञ्चालन ग¥यौं । गरिबी निवारण कोषसँगको सहकार्यमा सातवटा जिल्लामा हस्तकलासम्बन्धी तालिम सञ्चालन ग¥यौं । तालिम सञ्चालन गर्ने मात्र नभइ हामीले तालिम प्राप्त व्यक्तिलाई सम्बन्धित उद्योगमा आवद्ध गराइदिने र उनीहरुले उत्पादन गरेका सामग्रीको बजारीकरणमा पनि सहयोग गर्दै आएका छौं ।
रोजगारीका लागि विदेशिने युवालाई रोकेर हस्तकला क्षेत्रमा लाग्न प्रेरित गर्ने कस्ता योजना छन् ?
सरकारसँग हामीले मिलेर सार्क ह्यान्डिक्राफ्ट डिजाइन सेन्टर स्थापना गर्दैछौं । यसपछि विभिन्न व्यावसायिक कोर्स सञ्चालन गर्छाैं । दुईदेखि चार वर्षको कोर्स लिइसकेपछि उनीहरुले प्रमाणपत्रका साथमा रोजगारीको ग्यारेन्टी पनि पाउँछन् । हामीसँग निर्यातकर्ता, स्थानीय व्यवसायीसमेत भएकाले आवद्धता गराउन धेरै सजिलो छ । यसका लागि हामीले उद्योग मन्त्रालयसँग सहकार्य गरिरहेका छौं । 
अन्तर्राष्ट्रिय र स्थानीय बजारमा हस्तकला व्यापारको अवस्था कस्तो छ ?
कृषिपछि निर्यात व्यापारमा हस्तकला दोस्रो स्थानमा आउँछ । अहिले औपचारिक प्रक्रियाबाट वार्षिक ६ अर्ब रुपैयाँभन्दा बढीको हस्तकला निर्यात भइरहेको छ । अनौपचारिक प्रक्रिया (विदेशी पर्यटकले किनेर ह्यान्ड क्यारीमा लैजाने, नेपालीले विदेश जाँदा उपहारको रुपमा लैजाने)बाट पनि त्यत्ति नै बराबरको सामान जान्छ । त्यस्तै, १२–१३ अर्ब रुपैयाँ बराबरको सामान स्थानीय बजारमै खपत हुन्छ । यसरी वार्षिकरुपमा हस्तकलाको व्यापार २०–२२ अर्ब रुपैयाँभन्दा बढी भइरहेको छ ।

परम्परागत रुपमा हस्तकला उत्पादन गरिरहेका कलाकारलाई व्यावसायिक बनाउन नसक्दा पलायन हुँदै गएको पनि देखिन्छ नि ?

महासंघले हस्तकलाका सामग्रीलाई महोत्सवमा प्रदर्शन गर्ने मात्र नभइ व्यावसायिक सामानको रुपमा बजारीकरण गर्नुपर्छ भनेर विभिन्न तालिम र सचेतना कार्यक्रम सञ्चालन गर्दै आएको छ । अहिले सांस्कृतिसँगै राम्रो आर्थिक आर्जन गर्ने सामग्रीको रुपमा हस्तकला अगाडि आएको छ । 
आर्थिक उपार्जनसँग जोड्न नसक्दा कतिपय हस्तकला सामग्री लोप भइसकेका छन्, कतिपय लोप हुने अवस्थामा छन् । त्यसैले, विभिन्न जातजातिले उत्पादन गर्ने सामग्रीलाई संरक्षण गर्दै बजारीकरणमा महासंघले सहयोग गर्दै आएको छ ।
महासंघले आयोजना गर्न लागेको विश्व हस्तकला सम्मेलनले नेपाललाई के फाइदा पु¥याउँछ ? 
विश्व हस्तकला परिषद् (वल्र्ड क्राफ्ट काउन्सिल)को म आफैं उपाध्यक्ष छु । प्रत्येक दुई वर्षमा परिषद्को ‘जनरल एसेम्बली’ हुन्छ । यो अहिलेसम्म नेपालले आयोजना गरेको छैन । आउँदो अगस्त अन्तिममा हामीले पहिलोपटक यो सम्मेलन आयोजना गर्दैछौं । यसमा ८० भन्दा बढी मुलुकको सहभागिता रहन्छ । यसले हस्तकलासम्बन्धी ज्ञान, सीप र प्रविधिको आदानप्रदान गर्नुका साथै व्यापार मेला पनि आयोजना हुने भएकोले नेपाली हस्तकला उत्पादनको बजार प्रवद्र्धनमा पनि सहयोग पुग्नेछ ।
अर्को हस्तकलासँग सम्बन्धित सहरलाई ‘वल्र्ड क्राफ्ट सिटी’ घोषणा गर्ने परिषद्को प्रावधान छ । हामीले पाटनलाई ‘वल्र्ड क्राफ्ट सिटी’ घोषणा गर्न लागेका छौं । यसका लागि ललितपुर महानगरपालिका, स्थानीयसँगै सरोकारवाला निकायसँग कुरा भइसकेको छ । यसले विश्व सम्पदा सूचीजस्तै पहिचान दिन्छ । 
चुनाव सम्पन्न भएसँगै नयाँ सरकार बन्ने तयारीमा छ, नयाँ सरकारबाट के अपेक्षा राख्नुभएको छ ?
हामीले हस्तकला क्षेत्रको विकासका लागि अगाडि बढाएका दिगो कार्यक्रम निकै ढिला भइरहेको छ । यसको मुख्य कारण स्थिर सरकार नहुनु हो । एउटा सरकारसँग सहकार्य गरेर केही कार्यक्रम अघि बढाउन लाग्दा सरकार परिवर्तन हुने समस्याले उक्त कार्यक्रम कार्यान्वयनमा निकै कठिनाइ भोग्नु परेको छ । चुनावको परिणामअनुसार अब स्थिर सरकार बन्ने देखिन्छ । अहिलेसम्म हस्तकला क्षेत्रको विकास र प्रवद्र्धन गर्ने काम सरकारको प्राथमिकतामा परेको छैन । नयाँ सरकारले यो कामलाई प्राथमिकतामा राखोस् भन्ने अपेक्षा महासंघको छ ।

प्रकाशित: ७ पुस २०७४ ०८:५९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App