२२ असार २०७७ सोमबार
अर्थ

किबी टिप्दै किसान

इलामको सन्दकपुर गाउँपालिका–२, माइमझुवाका किसान पुरन गुरुङ आफ्नो बारीमा लटरम्म फलेको किबी टिप्दै ।

इलाम–‘मेहनत गर्दा नहुने चाहिँ केही रहेनछ,’ रछ्यानमा लटरम्म फलेको किबी टिप्दै भूतपूर्व लाहुरे पुरन गुरुङले सुनाए, ‘त्यत्रो वर्ष अर्काको देशको सेवा गरियो, यही पाखाभित्तामा पसिना बगाएको भए ज्यान हत्केलामा राखेर खाएको जागिरभन्दा सयौं गुणा आम्दानी भइसक्ने रहेछ ।’ 
हुन त उनलाई जागिर खाएकामा ठूलो पछुतो चाहिँ छैन । किनभने, उनले कृषिबाटै करोडपति बन्न सकिन्छ भन्ने उदाहरण जागिरकै सिलसिलामा भारत र अन्य देश पुगेरै देखेका हुन् । आफू पनि घर फर्किएर व्यावसायिक कृषिमा लाग्ने अठोट गरेर उनी भारतीय सैनिकबाट अवकाश पाएपछि किबी खेती, ट्राउट माछा पालन, दूध डेरी, होमस्टे र अलैंची खेतीमा एकैपटक लागेका हुन् । तर, पुरनलाई जिल्लामा ‘मेहनती र परिश्रमी किसान’का रूपमा चिनाउने खेती चाहिँ किबी नै हो ।
सन्दकपुर गाउँपालिका–२, माइमझुवाका किसान पुरणले २०६८ सालतिर करेसाबारीमा दुई सय १२ बोट किबी लगाएका थिए । सुरुमा यसको बिरुवा ललितपुरबाट मगाउनुपथ्र्याे । त्यो पनि प्रतिगोटा ६ सय रुपैयाँसम्ममा । करिब दुई लाख रुपैयाँ लगानी गरेका उनले किबीबाट तीन वर्षपछि आम्दानी लिन थाले । ‘पहिलो वर्ष नै लगानी त उठिहाल्यो, त्यसयताको आम्दानी नाफाका रूपमा छ,’ उनले सुनाए, ‘पहिला किबी फल प्रतिकिलो पाँच सय रुपैयाँमा बिक्थ्यो, अहिले डेढ सयमा बिक्दा पनि आम्दानी निकै राम्रो हुन्छ ।’ 
उनले खेती गरेका बेला जिल्लामा किबी नौलो खेती नै थियो । पुरन अहिले पनि किबी खेतीबारे तालिम दिन इलामसहित, पाँचथर, ताप्लेजुङलगायत जिल्लाका गाउँ–गाउँ पुग्छन् । ‘किबीको फलमात्रैबाट पनि वर्षमा १८ लाख रुपैयाँसम्म आम्दानी भयो,’ उनले सुनाए, ‘यसको बिरुवाबाट पनि वर्षमा चार लाख रुपैयाँ त कमाइ हुन्छ ।’ पोहोरसम्म उनको बगानमा डेढसय क्विन्टल किबी उत्पादन भयो । यो वर्ष किबी टिपिसक्न बाँकी छ तर उत्पादन कम छ ।
पुरनमात्र होइन, जिल्लाको लेकाली क्षेत्रका किसानलाई नगदेबालीसमेत मासेर लगाएको किबी टिप्न यतिबेला धमाधम छ । किबी फल खेती गरेर उल्लेख्य आम्दानी हुने भएपछि उनीहरू यसको खेतीप्रति आकर्षित भएका हुन् । जेठमा चिचिला लागेको किबीको फल कात्तिकदेखि माघसम्म टिप्नुपर्छ । अहिले जिल्लाका किसान किबी टिपेर स्थानीय र जिल्ला बाहिरका बजारसम्म धमाधम पठाउँदैछन् । 
इलाम नगरपालिका–१ साखेजुङका किसान टेकबहादुर विष्ट पनि अहिले धमाधम किबी टिप्दैछन् । ०६५ मा किबी खेती सुरु गरेका उनी अहिले जिल्लामा ‘सफल किबी किसान’का रूपमा परिचित छन् । किबी खेती थालेको करिब नौ वर्षमा टेकबहादुरले लोभलाग्दो आर्थिक प्रगति गरिसकेका छन् । उनले किबीकै आम्दानीले काठमाडौंको रामकोटमा ६० लाख रुपैयाँ पर्ने दुईवटा र झापाको लक्ष्मीपुरमा ३० लाख मूल्यका दुई घडेरी किनेको सुनाए । साखेजुङको चिया प्रशोधन उद्योगमा ३० लाख रुपैयाँको सेयर छ उनको । राँके बजारमा २० लाख रुपैयाँ पर्ने घडेरी घर बनाउँदैछन् । रक्से बजारमा १० लाख रुपैयाँको घडेरी किनेका छन् भने त्यसको अलि तल मेची राजमार्गले छोएको २५ लाख रुपैयाँ मूल्यको १२ रोपनी जमिन किनेका छन् । ‘गाउँमै किबी प्रशोधन उद्योग खोल्न जमिनसमेत खरिद गरिसकेका छौं,’ टेकबहादुरका छोरा गंगाबहादुरले सुनाए, ‘किबीको रक्सी बनाएर बेच्नेगरी उद्योग खोल्न लागेका हौं ।’ 
विष्टले किबी खेतीबाटै वर्षको ३६ लाख रुपैयाँसम्म आम्दानी गरेको सुनाए । उनले प्रत्येक वर्ष २५ लाख रुपैयाँको किबी र १०–१२ लाख रुपैयाँसम्मको बिरुवा बेचेका हुन् । खेतीको सुरु–सुरुमा किबी फल प्रतिकिलो ६ सय रुपैयाँसम्मले बिक्री हुन्थ्यो । बिरुवा पनि प्रतिगोटा ६ सय रुपैयाँ नै पथ्र्याे । अहिले बिरुवाको मूल्य दुई सय र किबी फलको मूल्य चाहिँ प्रतिकिलो डेढ सयदेखि चार सय रुपैयाँसम्म रहेको उनले सुनाए । टेकबहादुरले यो गतवर्ष ९० क्विन्टल किबी बेचेका थिए । ‘यो वर्ष टिप्न धमाधम छ, पोहोरभन्दा अलि घट्छजस्तो छ,’ उनले भने ।
विष्टले २० रोपनीमा दुई सय ५० बोट किबी लगाएका छन् । एउटै बोटमा राम्रो फल्दा दुई सय किलोसम्म उत्पादन हुन्छ । एक किलोमा १४ देखि २० दाना चढ्छ । वर्षमा एक सिजन उत्पादन हुने किवी कोल्डस्टोरमै नराख्दा पनि चैतसम्म टिक्ने भएकाले यसको व्यापार करिब ६ महिनासम्म राम्रो हुन्छ । पुस अन्तिमदेखि माघ दोस्रो सातासम्म यसको बिरुवा लगाउने मौसम हो । 
देशबाहिरबाटसमेत किबीको माग अत्यधिक आइरहेको किसान बताउँछन् । चीनबाट ३० हजार किलो किबीको माग आएपनि त्यता चाहिँ पठाउन नसकेको उनको भनाइ छ । ‘नेपालकै बजारहरूबाट थामिनसक्नुको माग आउँछ,’ गंगाले थपे, ‘बाहिरी देशमा कसरी पठाउनु र !’ अहिले भइरहेको उत्पादनको परिमाणले कात्तिकदेखि माघसम्म मात्र धानिरहेको उनको भनाइ छ । ‘व्यापारीले विभिन्न डर देखाएर किसानबाट पहिले नै सबै किबी किनिसक्छन्,’ उनले भने, ‘अनि, त्यही किबी भण्डारण गरेर चैत–वैशाखसम्म बेच्छन् । यसो गर्दा किसानलाई चाहिँ घाटा भइरहेको छ ।’ 
इलामको सुलुबुङ गाउँका तारामणि खतिवडाले ०६४ सालतिर जिल्लामा किबी खेती भित्र्याएका हुन् । ‘सुरुमा मैले गाउँमा किबी रोप्दा धेरै किसानलाई नौलो थियो,’ तारमणिले सुनाए, ‘अहिले यो खेती धेरै किसानले मुख्य खेती बनाएका छन् ।’ लहराजस्तो बोट हुने किबी जिल्लाका जमुना, सुम्बेक, माबु, पञ्चकन्या, साखेजुङ, इलाम नगरपालिकालगायत दुई दर्जनभन्दा धेरै गाउँका किसानले व्यावसायिक खेती गरिरहेका छन् । अमेरिका, बेलायतलगायत युरोपका विभिन्न देशमा बढी मूल्यमा महँगो मूल्यमा बिक्री हुने किबीकोे जाइका, इसिमोडलगायत विदेशी संस्थासँग मिलेर अध्ययन गरेपछि मात्र नेपालमा खेती सुरु गरिएको हो । दक्षिण चीनमा पत्ता लागेर खेती सुरु भएको किबी न्युजिल्यान्डमा मुख्य खेती गरिन्छ । झट्ट हेर्दा न्युजिल्यान्डको राष्ट्रिय चरा किबीजस्तै देखिने भएकाले यसको नाम पनि किबी राखिएको विभिन्न सन्दर्भग्रन्थमा भेटिन्छ ।
जिल्ला कृषि विकास कार्यालयका अनुसार फ्रान्स, चिली, इटाली, जापान, क्यानडा, इरान, कम्बोडियालगायत देशमा किबी बिक्री हुने गरेको छ । समुद्री सतहको आठ सयदेखि तीन हजार मिटर उचाइसम्म खेती गर्न सकिने किबीका लागि माटोको अम्लीयपना पाँच देखि साढे ६ सम्म हुन आवश्यक रहेको विशेषज्ञ बताउँछन् । सबै प्रकारका पौष्टिक तत्व पाइने किबीलाई संयुक्त राष्ट्रसंघको खाद्य तथा कृषि संगठन (एफएओ)ले ‘फलहरूकै राजा’का रूपमा स्वीकृत गरेको दस्तावेज पनि भेटिन्छ । जिल्लाका किसानले यसलाई धमाधम व्यावसायिक बनाउँदैछन् । यसको बजार सम्भावना धेरै भएपनि ग्रेडिङ र ट्रेडमार्कमा सहयोग गर्न किसानको माग छ । 

 

प्रकाशित: ७ पुस २०७४ ०७:२६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App