१६ चैत्र २०८० शुक्रबार
अर्थ

बैंकमा लगानीयोग्य पुँजी अभाव

काठमाडौं–बैंकमा पैसा जम्मा हुनेभन्दा कर्जाको माग बढ्ने क्रम बढेपछि फेरि लगानीयोग्य पुँजी (तरलता) अभाव हुन थालेको छ । बैंकरहरुका अनुसार आगामी दिनमा सरकारले खर्च गर्न नसके तरलता अभाव अझै बढ्ने छ ।
कर्जाको बढ्दो माग र निक्षेप संकलनमा केही सुस्तता आएकाले बैंकमा ऋण लगानीका लागि पैसा अभाव भएको हो । केही बैंकले पैसा बढाउन निक्षेपको ब्याजदर बढाउन थालेका छन् । 

‘कम्फर्ट जोन’मा जाने स्थिति आएको थियो तर फेरि ‘टाइट’ हुन्छ कि भन्ने आशंका छ ः बैंकर
 

केही बैंकले ब्याज बढी दिएर निक्षेप संकलन गरिसकेका छन् र केहीले  त्यसै गर्ने तयारीमा छन् ।
तरलता अभाव हुँदै गएको नेपाल राष्ट्र बैंकका प्रवक्ता नारायणप्रसाद पौडेलले मंगलबार नागरिकलाई बताए । ‘केही दिनअघि सहज थियो,’ उनले भने, ‘विस्तारै टाइट भएर गएको छ ।’ 
लगानीयोग्य पुँजी अभाव हुँदै गएको छ । ‘दुई हप्ताअघि १९–२० अर्ब मात्र लगानीयोग्य पुँजी बैंकिङ प्रणालीमा थियो,’ उनले भने, ‘अहिले घट्दै गएको छ ।’
तर, केही बैंहरुसँग पर्याप्त मात्रामा तरलता रहेको बैंकर बताउँछन् । लगानीयोग्य पुँजी अभावको समस्या अझै जटिल नबनेको ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत जनकशर्मा पौडेलले बताए । ‘लगानीयोग्य पुँजी अभाव अझै छैन,’ उनले भने, ‘तरलता अभाव हुन्छ कि भन्ने आंशका चाहिँ छ ।’
प्रतिनिधि र प्रदेशसभा निर्वाचनपछि बैंकमा निक्षेप बढ्ने आँकलन गरिएको छ । यसले तरलतालाई सहज पार्ने अनुमान केही बैंकरले गरेका छन् । 
पुस मसान्तसम्म कर लगायतको करिब ६०–७० अर्ब रकम राष्ट्र बैंकका जम्मा हुने भएपछि बजारमा लगानीयोग्य रकमको अभाव हुने आंशका गरिएको छ । त्यसले पनि तरलता अभाव हुने भएकाले निक्षेप तान्ने होडमा केही बैंक लागेका हुन् ।
पछिल्लो समय बैंकहरुमा कर्जा माग गर्नेको संख्या बढ्दै गएको बैंकर बताउँछन् । नेपाल बैंकर्स सघंको पछिल्लो साताको तथ्यांक हेर्ने हो भने कर्जा प्रवाह बढेको छ । निक्षेप संकलन कर्जा प्रवाहको तुलनामा बढ्न सकेको छैन ।
मंसिर १ सम्म बैंकले १८ खर्ब ३७ अर्ब लगानी गरेका छन् । उक्त अवधिसम्म निक्षेप संकलन २१ खर्ब ७३ अर्ब पुगेको छ ।
कर्जा माग बढेको तर निक्षेप संकलन सोही अनुपातमा बढ्न नसकेपछि केही बैंक ठूला आयोजनामा ऋण दिन सक्ने अवस्थामा छैनन् । ‘ठूलो ऋण माग्न आउनेलाई दिन नसक्ने स्थिति आएको छ,’ नेपाल बैंकर्स संघका एक सदस्यले भने, ‘सरकारसँग रहेको रकम खर्च गर्न नसकेका कारण यस्तो स्थिति आएको हो ।’
सरकारले खर्च गर्न नसक्दा बैंकमा लगानीयोग्य रकम अभाव हुँदै आएको एक विज्ञले बताए । ‘पुसभित्र थप ७० अर्ब सरकारको खातामा जम्मा हुन्छ,’ उनले भने, ‘यसले गर्दा लगानीयोग्य पुँजी अभाव झनै जटिल हुने देखिन्छ ।’
कर्जाको माग बढेको र निक्षेप संकलनमा सुस्तता आएका कारण बैंकलाई समस्या परेको एक बैंकरको भनाइ छ । ‘सरकार बन्न अलमल छ,’ उनले भने, ‘यो स्थिति लामो समय रह्यो भने जटिल अवस्था आउने निश्चित छ ।’ 
प्रदेशमा खर्च हुने रकम पनि समयमा जान सकेन भने समस्या आउने पौडेलको भनाइ छ । ‘निर्वाचनमा खर्च भएको रकम बैंकिङ प्रणालीमा आयो भने समस्या हुने छैन,’ उनले भने, ‘अन्यथा पुनः समस्या आउने निश्चित छ ।’
‘लगानीयोग्य रकम अभावका कारण ऋण बढाउन बैंक अक्षम छन्,’ एक बैंकरले भने, ‘ऋण लगानी गर्न नसक्दा बैंकको नाफामा पनि असर पर्नेछ ।’
तरलता अभाव समस्या जटिल बन्दै जाने हो कि भन्ने चिन्ता बैंकरलाई छ । ‘पैसाजति सरकारको खातामा जम्मा भयो भने समस्या आउँछ,’ संघका एक एक सदस्यले भने, ‘खर्च हुन नसक्दा बैंकिङ प्रणालीमा रकम अभाव हुनेछ ।’ 
बैंकले राष्ट्र बैंकको खातामा राखेको केही रकम खर्च गर्न दिने हो भने पनि यो समस्या केही सहज हुने विज्ञको भनाइ छ । ‘यसो भएमा बैंकिङ प्रणालीमा रकम प्रवाह हुन्थो र लगानी गर्न सकिन्थ्यो,’ उनले भने, ‘अन्यथा तरलताको अभाव अझै जटिल बन्ने छ ।’
तरलता अभाव हुन नदिनतर्फ राष्ट्र बैंकले तत्काल कदम चाल्नुपर्ने बैंकरको सुझाव छ । ‘बैंकलाई लगानीयोग्य रकम अभाव हुन दिनु हुँदैन,’ एक बैंकरले भने, ‘आवश्यक लगानीयोग्य रकम सरकारले उपलब्ध गराउनुपर्छ ।’
लगानीयोग्य रकम अभावको मारमा लगानीकर्ता परेका छन् । अहिले उनीहरूले बैंकबाट ऋण लिन सकिरहेका छैनन् । सरकारसँग भएको रकम खर्च नगरेसम्म बैंकमा लगानीयोग्य पुँजी अभाव हुने पनि ती बैंकरले बताए । ‘लगानीयोग्य पुँजी अभावले आर्थिक वृद्धिमा समेत नकारात्मक असर पार्छ,’ उनले भने, ‘सरकारसँग भएको रकम खर्च गरेमात्र यो अभाव अन्त्य हुन्छ ।’
पछिल्लो समय बैंकले सर्वसाधारणबाट लिने निक्षेपको ब्याजदर बढाएका छन् । बैंकिङ प्रणालीमा तरलता कमी हुन थालेपछि बैंकले सर्वसाधारणलाई आकर्षक ब्याज दिएर निक्षेप संकलन गर्न थालेका हुन् । बैंकले ९–११ प्रतिशतसम्म ब्याजमा निक्षेप संकलन गर्न थालेका छन् । 
तरलता बढी हुँदा बैंकहरुले मुद्दती खातामा २–३ प्रतिशत ब्याजदरमा निक्षेप संकलन गरेका थिए । तर, अहिले ऋणको माग बढेपछि बैंकले मुद्दती खातामा १० प्रतिशतसम्म ब्याज दिएर निक्षेप संकलन थालेका छन् । ‘लोन (ऋण) को माग बढेको छ । निक्षेप कम छ,’ एक बैंकरले भने, ‘यस्तो अवस्थामा ब्याजदर बढाएर निक्षेप लिन बैंक बाध्य भएका छन् ।’

 

प्रकाशित: ५ पुस २०७४ ०१:३८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App