coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
अर्थ

पुनर्निर्माणमा साउदी अरेबियाले तीन अर्ब सहयोग गर्ने

काठमाडौं–साउदी अरेबियाले भूकम्पपछिको पुनर्निर्माणका लागि तीन अर्ब रुपैयाँ सहयोग गर्ने भएको छ । साउदी सरकारको विकासका लागि साउदी कोषका प्रतिनिधि र राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका अधिकारीबीच भएको छलफलपछि सो सहयोगसम्बन्धी समझदारी भएको प्राधिकरणले जानकारी दिएको छ । 
‘साउदी सरकारले विकासका लागि साउदी कोषमार्फत ३० मिलियन अमेरिकी डलर (करिब तीन अर्ब रुपैयाँ) बराबरको सहुलियतपूर्ण ऋण सहयोग गर्न रूचि देखाएको छ,’ प्राधिकरणका सहप्रवक्ता भीष्मकुमार भुसालले भने, ‘मंगलबार र बिहीबार प्राधिकरणमा भएको छलफलका क्रममा विकासका लागि साउदी कोषका उच्च अधिकारीले प्राधिकरणबाट पुनर्निर्माण गर्नुपर्ने आयोजनाको यथाशक्य सूचीसहितको परियोजना प्रस्ताव गर्न आग्रह गरेका छन् ।’ 

सहप्रवक्ता भुसालले उक्त रकम निजी आवास, विद्यालय तथा स्वास्थ्य संस्थाको पुनर्निर्माणमा खर्च गर्ने प्रस्तावसहित प्राधिकरणले ऋण सम्झौता वार्ताका लागि अर्थ मन्त्रालयलाई अनुरोध गरी पठाइसकेको जानकारी दिए । प्राधिकरणमा भएको छलफलमा प्राधिकरणबाट सहसचिवद्वय यमलाल भुसाल र कृष्णप्रसाद दवाडी तथा उपसचिवद्वय भीष्मकुमार भुसाल र बिनु बज्राचार्य कुँवरको सहभागिता थियो । साउदी सरकारको तर्फबाट विकासका लागि साउदी कोषका क्षेत्रीय व्यवस्थापक अब्दुल्लाह एम अल–सोएइबी, आयोजना व्यवस्थापक नासिर एल कसावी र वरिष्ठ विज्ञ सइद अल मासाइखी सहभागी थिए ।
दोस्रो किस्ता लिने एक लाख नाघ्यो
निजी आवास पुनर्निर्माणका लागि दोस्रो किस्ता लिने भूकम्पपीडित लाभग्राहीको संख्या एक लाख नाघेको छ । बुधबार साँझसम्मको तथ्यांकअनुसार एक लाख चार सय ८३ लाभग्राहीले आफ्नो घर पुनर्निर्माण सुरु गरी दोस्रो किस्ता लिएका छन् ।
पहिलो किस्ता लिने लाभग्राहीको संख्या ठूलो भए पनि सोही अनुपातमा पुनर्निर्माण सुरु गरी दोस्रो किस्ता लिने लाभग्राहीको संख्या अपेक्षाकृत रुपमा बढ्न सकेको छैन । पुनर्निर्माण प्राधिकरणले पहिलो किस्ता लिएका लाभग्राहीलाई दोस्रो किस्ता लिएर घर पुनर्निर्माण सुरु गर्न विभिन्न माध्यममार्फत् प्रेरित गर्दै आएको जनाएको छ । 

‘प्राधिकरणले गत साउनमा अनुदान लिने समयसीमा निर्धारण गरेका कारण पनि निजी आवास निर्माण बढेको हो,’ प्राधिकरणका प्रवक्ता यमलाल भुसालले भने, ‘यो तथ्यांकले दसैं, तिहारलगायतका चाडपर्व र कृषि उत्पादन भिœयाउने चटारो सकिएलगत्तै घर पुनर्निर्माणले गति लिन थालेको देखाएको छ ।’ प्राधिकरणले गत वर्ष पुससम्म पहिलो किस्ता लिइसकेका लाभग्राहीलाई यही पुस मसान्तभित्र दोस्रो किस्ता र आगामी ०७५ जेठभित्र तेस्रो किस्ता लिन अनुरोध गरेको छ । त्यस्तै, ०७४ कात्तिकभित्र पहिलो किस्ता लिएका लाभग्राहीले ०७४ चैत्रभित्र दोस्रो किस्ता र ०७५ असार मसान्तभित्र तेस्रो किस्ता लिइसक्नु पर्नेछ ।
डिपिसी तहसम्मको पुनर्निर्माण सम्पन्न भएपछि लाभग्राहीले प्राविधिकबाट जाँच गराई दोस्रो किस्ता लिन पाउँछन् । त्यस्तै, दोस्रो किस्ता लिएर छानो छाउने पट्टी निर्माण गरेपछि लाभग्राहीले तेस्रो किस्ताका लागि आवेदन दिन सक्छन् ।
दोस्रो किस्ता लिने लाभग्राहीको संख्या एक लाख नाघे पनि दोस्रो किस्ताका लागि प्रमाणीकरण गरिएका लाभग्राहीको संख्या भने थप २४ हजार तीन सय सात छन् । त्यस्तै, तेस्रो किस्ताका लागि प्रमाणीकरण गरिएका लाभग्राहीको संख्या ३३ हजार चार सय २५ पुगेको छ । अहिलेसम्म ६ लाख ५१ हजार सात सय ९२ लाभग्राहीले पहिलो किस्ता लिएका छन् ।
प्राधिकरणका अनुसार हाल निर्माणाधीन घरको संख्या एक लाख ७४ हजार ६ सय २२ पुगेको छ । त्यसैगरी, ७३ हजार ६ सय ५५ घर पुनर्निर्माण सम्पन्न भएका छन् । 
निर्माण सम्पन्न र निर्माणधीन घरको कुल संख्या दुई लाख ४८ हजार दुई सय ७७ हुन पुगेको तथ्यांक छ । यो पहिलो किस्ता लिएका कुल लाभग्राही संख्याको ३८ प्रतिशत हो । कुल सात लाख ६७ हजार सात सय पाँच पीडितमध्ये ६ लाख ५९ हजार पाँच सय ६ जनासँग अनुदान सम्झौता गरिएको प्राधिकरणले जनाएको छ ।

प्रकाशित: २९ मंसिर २०७४ ०२:५० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App