१६ चैत्र २०८० शुक्रबार
अर्थ

संघीय संरचना सञ्चालन गर्न आठ खर्ब २० अर्ब आवश्यक

काठमाडौं–तीन तहका निर्वाचन सकिएलगतै कार्यान्वयन हुन गइरहेको संघीय संरचना सञ्चालनार्थ ठूलो आर्थिक धनराशी जुटाउनुपर्ने आवश्यकता देखिएको छ । अर्थ मन्त्रालयले गरेको प्रारम्भिक प्रक्षेपणअनुसार आगामी तीन वर्षसम्म संघीय प्रशासन सञ्चालन गर्न रु आठ खर्ब २० अर्ब रकम आवश्यक पर्ने देखिएको छ । पहिलो चरणमा प्रदेशको कार्यालय स्थापना तथा पूर्वाधारमा ठूलो रकम लाग्नेछ । 
आगामी तीन आर्थिक वर्षसम्म संघीय संरचना सञ्चालनार्थ आठ खर्बभन्दा बढी हुने देखिएकाले आर्थिक स्रोत जुटाउन चुनौतीपूर्ण रहेको अर्थ सचिव शंकरप्रसाद अधिकारीले बताए । भवन, सवारी, कर्मचारीको तालिमलगायत विषयमा पहिलो चरणमा ठूलो रकम खर्च हुने देखिएको छ । त्यसैगरी संघीय प्रणाली कार्यान्वयनका क्रममा समायोजनमा जान नचाहने र स्वेच्छिक अवकाश रोज्ने कर्मचारीका लागि नै ४० अर्ब खर्च हुनेछ ।

संघीय संरचनाअनुसार सात प्रदेशमा व्यवस्थापिका, कार्यपालिका तथा न्यायपालिका सबै संरचना स्थापना हुँदैछन् । सो प्रदेशहरू तथा संरचनाका लागि कर्मचारी तथा कार्यालयको व्यवस्थापन गर्नुपर्नेछ । प्रदेशका संरचनाको स्थापनाका लागि मात्र थप १० अर्ब आर्थिक भार बेहोर्नुपर्नेछ । संविधानमा उल्लेख भएको आर्थिक अधिकारसम्बन्धी व्यवस्थाअनुसार संघ, प्रदेश र स्थानीय तहले आफ्नो अधिकारभित्रको आर्थिक अधिकारसम्बन्धी विषयमा कानुन बनाउने, वार्षिक बजेट बनाउने, निर्णय गर्ने, नीति तथा योजना तयार गर्ने र त्यसको कार्यान्वयन गर्नेछन् ।

संघीयताका कार्यान्वयन भएपछि केन्द्रको खर्च भने कटौती हुने देखिएको छ । विद्यमान मन्त्रालयको संख्यामा पनि कमी आउने तथा मन्त्रालय अन्तर्गतका विभाग नरहने भएकाले पनि केन्द्रको सञ्चालन खर्च घट्ने भएको हो ।
पाँच वर्षको ‘म्यान्डेड’ सहित नयाँ सरकार गठन हुने भएकाले मुलुकमा लगानीको वातावरण सिर्जना हुने र त्यसले मुलुकमा स्रोत तथा साधन जुटाउने अर्थसचिव अधिकारीले विश्वास व्यक्त गरे । त्यसका लागि कानुनी तथा संरचनात्मक परिवर्तन गर्नुपर्नेछ । 

 

प्रकाशित: २९ मंसिर २०७४ ०२:३७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App