५ वैशाख २०८१ बुधबार
अर्थ

हावादारी कुरा होइन, हावाबाट बिजुली

काठमाड- पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले हावाबाट बिजुली निकालेर देशलाई लोडसेडिङमुक्त गर्ने बताएपछि कतिपयले त्यसलाई हावादारी कुरा भनेका थिए । तर, पछिल्लोपटक धमाधम हावाबाट बिजुली उत्पादन गर्न थालिएपछि हावाबाट बिजुली उत्पादन गर्ने कुरा हावादारी नभएको प्रमाणित भएको छ ।
मंगलबारदेखि सिन्धुलीको हरिहरपुरगढी गाउँमा ३५ किलोवाट बिजुली उत्पादन गर्न थालिएको छ । यसले दुर्गम क्षेत्रका ८३ घर उज्यालो बनाउने वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रका कार्यकारी निर्देशक रामप्रसाद धितालले जानकारी दिए ।
अहिलेसम्म नेपालका विभिन्न सात ठाउँबाट वायु र सौर्य ऊर्जा प्रणालीबाट एक सय ८६ किलोवाट बिजुली उत्पादन भएको छ । मंगलबार मात्र सिन्धुलीको हरिहरपुरगढी गाउँमा वायु–सौर्य ऊर्जा प्रणालीबाट ३५ किलोवाट बिजुली उत्पादन भएको छ ।
एक सय १० किलोवाट क्षमताको उक्त आयोजना समेत गरेर हाल एक सय ८६ किलोवाट बिजुली उत्पादन भइरहेको केन्द्रको तथ्यांकले देखाएको छ ।
वायु र सौर्य ऊर्जा प्रणालीबाट नवलपरासीको धोवाडीमा १२ किलोवाट, मकवानपुरको फापरबारीमा २५ किलोवाट, कमलबजारमा ३१ किलोवाट, जुम्लाको तातोपानीमा २६ किलोवाट, बझाङमा २२ किलोवाट, चिसापानीमा ३५ किलोवाट र सिन्धुलीको हरिहरपुरगढी गाउँमा ३५ किलोवाट बिजुली उत्पादन भइरहेको छ ।
चालु आर्थिक वर्षमा जुम्लाको नरकोटमा वायु र सौर्य ऊर्जा प्रणालीबाट ८० किलोवाट, पाल्पाको मित्तयलमा २२ किलोवाट र भोजपुरमा  ३५ किलोवाट बिजुली उत्पादन गर्ने योजना रहेको जनसंख्या तथा वातावरण मन्त्रालयको योजना रहेको छ ।
संसारभर वायु ऊर्जामा भएका प्रगति र नेपालमै भइरहेका अध्ययनले पनि यहाँ हावाबाट बिजुली निकाल्ने कुरा हावादारी नरहेको देखाएको छ ।
सन् २००८ मा संयुक्त राष्ट्रसंघीय वातावरण कार्यक्रमले तयार पारेको एक रिपोर्टले नेपालमा तीन हजार मेगावाट विद्युत हावाबाट निकाल्न सकिने देखाएको छ । उक्त रिपोर्टमा अन्नपूर्ण संरक्षण क्षेत्रमा मात्रै हावाबाट सात सय १६ मेगावाट विद्युत निकाल्न सकिने बताइएको छ । उक्त रिपोर्टमा राष्ट्रिय प्रसारण लाइनबाट १५ किलोमिटर वरपरको ठाउँमा मात्रै अध्ययन भएकाले अरु धेरै थाहा नभएका ठाउँमा पनि हावाबाट बिजुली निकाल्न सकिने देखिन्छ ।
डेनमार्क हावाबाट धेरै बिजुली निकालेका देशमध्ये एक हो । डेनमार्कमा अहिले राष्ट्रिय प्रसारण लाइनमा जोडिएको विद्युतको ४० प्रतिशत वायु ऊर्जा छ । छिमेकी देश भारतले पछिल्लो दशकमा २५ हजार मेगावाट र चीनले एक लाख मेगावाट वायुऊर्जा निकालेको छ । पाकिस्तानले पनि सय मेगावाट वायु ऊर्जा निकालिसकेको छ ।

प्रकाशित: २७ मंसिर २०७४ ०६:०१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App