५ वैशाख २०८१ बुधबार
अर्थ

वीरगन्ज–पथलैया ६ लेन सडक निर्माण पछाडि धेकेलिँदै

निर्माणधीन ६ लेन बाटोको परवानिपुर अलौं सडकखण्डमा काम हुँदै । तस्बिर:रितेश

वीरगन्ज – मुलुकको प्रमुख व्यापारिक मार्ग वीरगन्ज–पथलैया सडक ६ लेन निर्माण पूरा हुने समयावधी विभिन्न समस्याले गर्दा पछाडी धकेलिदै गएको छ । देशको सबभन्दा बढी व्यापारिक पारवहन र यातायात चल्ने यो सडक निर्माण चाँडो सम्पन्न होस भन्ने आपेक्षा गरिएको बेला यसमा ढिलाई हुने देखिएपछि सरोकारवाला चिन्तित छन्। 

‘जग्गा प्राप्तिमा समस्या छ, केही ठाउँमा खानेपानीको पाइप निर्माणस्थलमा परेर कठिनाइ छ, पर्सा वन्यजन्तु आरक्षको रुख हटाउनु पर्नेछ,’ व्यापारिक मार्ग विस्तार आयोजनाको पथलैयास्थित ६ लेन योजना कार्यालयका इन्जिनियर सौम्या आनन्दले भनिन्, ‘यी चुनौतीले तोकिएको समयभित्र योजना पूरा नभएर केही पछाडि धकेलिने देखिन्छ ।’ सामाधानका लागि योजना कार्यालयले विभिन्न स्तरमा समन्वय गरिरहेको उनले बताइन्।

सिमरा बजारमा करिब चार मिटर र जितपुरमा एक हजार तीन सय मिटर खण्डमा अतिक्रमित जमिन खाली गराउन चुनौती बनेको छ । त्यस्तै सिर्सिया चोकदेखि एकीकृत जाँच चौकी (आइसिपी) अगाडिसम्म सात सय मिटर अधिग्रहण कार्य त्यतिकै अड्किएको छ ।

२०७३ असार ३० गते सम्झौता भएर साउनदेखि निर्माण थालिएको २७ किलोमिटर ६ लेन सडक बनाउन बेग्लाबेग्लै ६ वटा ठेक्का सम्झौता गरिएको छ। 

वीरगन्जको सिर्सिया चोकदेखि एकीकृत जाँच चौकीसम्म थप ६ सय १० मिटर सडक पनि थपिँदा उक्त योजना करिब २८ किमीको हुन्छ । सडक योजनाभित्र तीन खण्डमा अहिले व्यक्तिगत प्रयोगमा रहेको जग्गा खाली गराएर त्यहाँ निर्माण गर्नुपर्ने छ । सिमरा बजारमा करिब चार मिटर र जितपुरमा एक हजार तीन सय मिटर खण्डमा अतिक्रमित जमिन खाली गराउन चुनौती बनेको छ । त्यस्तै सिर्सिया चोकदेखि एकीकृत जाँच चौकी (आइसिपी) अगाडिसम्म सात सय मिटर अधिग्रहण कार्य त्यतिकै अड्किएको छ। 

जितपुर सिमरा उपमहानगरपालिकामा निर्वाचित स्थानीय तहका जनप्रतिनिधि सिमरा बजार र जितपुर बजारमा जग्गा प्राप्तिका लागि सहयोग लिन खोजिरहेको आनन्दले बताइन् । यता सिर्सिया आइसिपी सडकखण्डमा जग्गा अधिग्रहणमा पर्साको जिल्ला प्रशासन कार्यालयले देखाएको हेलचेक्र्याइ छोड्नुपर्ने हुन्छ । यहाँ नापी र मूल्यांकनको काम सकिएर अधिग्रहणबापत वितरण गरिने रकमसमेत विनियोजन भएर आइसक्दा पनि काम अगाडि बढ्न सकेको छैन । 
पहिले स्थानीय तह चुनावले गर्दा काम सुस्त भयो, त्यसपछि निर्वाचित प्रतिनिधि अहिले प्रतिनिधि सभा तथा प्रदेश सभामा आफ्ना पार्टीका उम्मेदवारलाई सघाउन व्यस्त छन् । ६ मध्ये दुईवटा सडकखण्डको ठेक्का लिएको पप्पु कन्स्ट्रक्सनका सञ्चालक हरिनारायण रौनियार आफै पर्सा क्षेत्र ३ बाट संघीय समाजवादी फोरम नेपालको तर्फबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार छन् । उनका धेरै जनशक्ति योजनाभन्दा चुनावी काममा खटिरहेका छन् । निर्वाचनले गर्दा पनि काममा अलि चुनौती थपिएको आनन्दले बताइन्। 

यसअघि बजेट आभावले योजनाको काम केही महिना सुस्त भएको थियो । २४ महिना समयावधि रहेको योजनामा सम्झौता रकमको समयसँगको अनुपात अनुसार वर्षमा पौने दुई अर्ब रुपैयाँ चाहिने देखिन्छ । आर्थिक वर्ष ०७३/७४ मा ३० करोड रुपैयाँ मात्र विनियोजन भएकाले निर्माण कार्यले गति लिएकै बेला बजेट अभाव भयो । वीरगन्ज पथलैया सडकखण्ड देशकै लागि अत्यधिक महत्त्वको सडक योजना भएको वीरगन्ज उद्योग वाािण्ज्य संघका अध्यक्ष ओमप्रकाश शर्मा बताउँछन्। 

योजनाअनुसार ६ लेन सडक पूर्व–पश्चिम राजमार्गको पथलैयादेखि दक्षिण आउने त्रिभुवन राजपथमा पर्साको लिपनी बिर्ताको परवानीपुरसम्म जोड्ने छ । त्यहाँदेखि यता नयाँ बाइपास हुँदै अलौंस्थित सिमानामा बन्न लागेको नेपाल–भारतको एकसाथ जोडिएको सुविधासम्पन्न भन्सार ‘एकीकृत जाँच चौकी’ (आइसिपी)मा आएर जोडिने छ । नेपालको ७० प्रतिशत व्यापार हुने वीरगन्ज नाका जोड्ने त्रिभुवन राजपथको सडकखण्डले अहिलेसम्म सवारी आवागमन धानिदै आएको छ। नेपालमा सवारी साधन न्यून संख्यामा रहेको बेला सन् १९५९ मा बनेको यो सडक ५८ वर्षपछि मुहार फेर्न लागेको हो। भौतिक कार्यले गति लिरहेको बेला आर्थिक समस्यापछि अरु चुनौती पनि आइपरेका हुन्। 

सडकको डिजाइनअनुसार सडकको मध्य भागमा यसलाई दुईतिर बाड्ने हरियालीसहितको डिभाइडर हुनेछ भने दुवैतर्फ तीन–तीन लेन बाटो हुनेछ । प्रत्येक लेन तीन मिटरको हुनेछ । मुल सडकको संरचनाबाहेक दुवैतर्फ पाँच–पाँच मिटरको सर्बिलेन्स लेन पनि हुनेछ । सबै ६ लेन गरेर ५० मिटर चौडा हुनेछ । समग्रमा भौतिक प्रगति २५.६६ प्रतिशत रहेको योजना कार्यालयले जनाएको छ। 

भौतिक प्रगति भने प्याकेजअनुसार फरक–फरक छ । पथलैयादेखि सूर्य नेपालसम्म ४.५६ किमी सडकखण्डमा भौतिक प्रगति २५ प्रतिशत छ । सूर्य नेपालदेखि जितपुरस्थित नेपाली सेनाको ब्यारेकसम्म ५.८ किमी खण्डमा २२ प्रतिशत, त्यहाँदेखि पारवानिपुर चोकसम्म ५.१६ किमी खण्डमा २५ प्रतिशत, पारवानिपुरदेखि अगाडि ३.९२ किमीमा भौतिक प्रगति ३० प्रतिशत, त्यसपछिको साढे तीन किमीको अर्को प्याकेज खण्डमा पनि ३० किमी र अन्तिम आइसिपीसम्म जोडिएको ४.११ किमी खण्डमा २२ प्रतिशत भौतिक प्रगति छ।

 

प्रकाशित: १५ मंसिर २०७४ ०७:२५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App