७ वैशाख २०८१ शुक्रबार
अर्थ

बुटवल पावर र चिनियाँ कम्पनीबीच साझेदारी

काठमाडौं– बुटवल पावर कम्पनी लिमिटेड (बिपिसी)ले चीनका तीन प्रमुख कम्पनीहरुसँग साझेदारी गरेको छ । बिपिसीले उक्त साझेदारीको बुधबार आयोजित एक कार्यक्रममा घोषणा गरेको हो। 

बिपिसीले चीनका तीन प्रमुख हाइड्रोपावर कम्पनी सिचुवान प्रोभिन्सियल इन्भेस्टमेन्ट ग्रुप कम्पनी लिमिटेड, चेङ्दु सिंचेन इन्भेस्टमेन्ट ग्रुप कम्पनी लिमिटेड र छिमयुआन इन्जिनियरिङ कन्सल्टिङ कम्पनी लिमिटेडबीच भएको उक्त साझेदारीको सुरुआत गण्डकी अञ्चलको उच्च हिमाली क्षेत्रमा अवस्थित तल्लो मस्र्याङ्दी हाइड्रोपावर आयोजनाबाट हुनेछ । उक्त आयोजना एक सय मेगावाटभन्दा बढी क्षमताका छन् । निकट भविष्यमा थप अन्य आयोजना पनि निर्माण गरिने कम्पनीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ। 

बिपिसीले पाँच वर्षभित्र करिब दुईदेखि तीन अर्ब अमेरिकी डलर लागतमा कम्तीमा एक हजार मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य लिएको छ । बिपिसीसँग साझेदारी गरेका चीनका तीन कम्पनी पश्चिमी चीनको सिचुवान प्रान्तस्थित वृहत, प्रतिष्ठित र सफल कम्पनी हुन् । नेपालजस्तै सिचुवान प्रान्त पनि जलस्रोतमा निकै धनी छ । उक्त कम्पनीले ७५ हजार मेगावाटभन्दा बढी विद्युत् उत्पादन गर्दै आएको छ । यीमध्ये राज्यको स्वामित्व रहेको सिचुवान प्रोभिन्सियल इन्भेस्टमेन्ट ग्रुपले ३७ हजार मेगावाट विद्युत् आफ्नै क्षमतामा उत्पादन गर्दै आएको छ।  

विभिन्न क्षेत्रमा लगानी रहेकोे वृहत् कम्पनी चेङ्दु सिंचेन इन्भेस्टमेन्ट ग्रुपले चेङ्दु सहरको विकासमा अग्रणी भूमिका निर्वाह गरेको छ । छिमयुआन इन्जिनियरिङ कन्सल्टिङ कम्पनी चाइनाको निजी क्षेत्रको उच्चस्तरीय इन्जिनियरिङ र कन्सल्टेन्सी कम्पनी हो जसले सिचुवन क्षेत्रमा हाइड्रोपावर प्रोजेक्ट सञ्चालन गर्दै आएको छ। 

२०२० सालमा स्थापना भएको बुटवल पावर कम्पनी एक पब्लिक लिमिटेड कम्पनी हो । आफ्नो स्थापनाकालको ५० वर्ष पूरा गरेको बिपिसीले ३७.६ मेगावाटको कावेली ‘ए’ हाइड्रोपावर आयोजना र ३० मेगावाटको न्यादी हाइड्रोपावर आयोजना सुरुआत गरेको छ । बिपिसीले १२ मेगावाटको झिमरुक र ९.४ मेगावाटको आँधिखोला पावर प्लान्ट सञ्चालन गर्दै आएको छ। 

साथै बिपिसीले खिम्ती र खुदी प्लान्टमा समेत लगानी गरेको छ । नेपालका पश्चिमी भागमा अवस्थित स्याङ्जा, पाल्पा, प्यूठान र अर्घखाँची जिल्लाका ५० हजारभन्दा बढी घरपरिवारलाई बिजुली प्रदान गर्दै आएको बिपिसीले पावर प्लान्टको सञ्चालन तथा मर्मत–सम्भार, हाइड्रोपावर इन्जिनियरिङ सम्बन्धी सल्लाह–सुझाव, हाइड्रो–मेकानिकल र इलेक्ट्रो–मेकानिकल उपकरण उत्पादन तथा मर्मत–सम्भारजस्ता कार्य समेत गर्दै आएको छ।

प्रकाशित: ७ मंसिर २०७४ ०४:३९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App