coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

जनकपुर–जयनगर रेलमार्ग अन्तिम चरणमा

भारतबाट अायातित फलामे लिक बाेकेका ट्रकहरूकाे लस्कर । तस्बिर साैजन्य : रेल विभाग

काठमाडौं – निर्माणाधीन जयनगर–जनकपुर रेलमार्गमा बिछ्याउने रेलका लिक आउन थालेका छन् । ३५ किलोमिटर लामो उक्त मार्गका लागि आवश्यक फलामे लिक सोमबारदेखि आउन सुरु गरेका हुन् ।

उक्त रेलमार्गमा बिछ्याउनका लागि झन्डै ४१ हजार टन रेल लिक ल्याउन लागिएको हो । सोमबार झन्डै १० टन लिक आइसकेको रेल विभागका महानिर्देशक अनन्त आचार्यले बताए । 

‘सोमबारदेखि रेलका लिक आउन सुरु भएका छन्,’ आचार्यले नागरिकसँग भने, ‘जयनगर–जनकपुर रेलमार्गका लागि करिब ४१ हजार टन रेल लिक आउँदैछ ।’ जयनगरदेखि सुरु भएर जनकपुर हुँदै बर्दिबाससम्म पुग्ने ६९.२ किलोमिटरमध्ये धनुषा कुर्थासम्म ३५ किलोमिटर रेलमार्गमा लिक बिछ्याउन लागिएको हो । यो मार्ग २०७५ कात्तिकभित्र सक्ने विभागले जनाएको छ । यसअघि आगामी फागुनसम्म रेलमार्ग तयार गर्ने लक्ष्य राखिएको थियो। 

रेलका लिक बिछ्याउनुअघि उक्त मार्गमा सिमेन्टका ब्लक बिछ्याइने छ । अन्य लिकमा काठ बिछ्याउने गरिएकोमा काठको अभावमा ‘सिमेन्ट स्लिपर’ बिछ्याउन लागिएको हो । यी स्लिपर पनि भारतबाट आउँदैछन्। 

भारतको आर्थिक र प्राविधिक सहयोगमा बनिरहेको यो परियोजना आसामको नायक इन्फ्रास्ट्रक्चरले बनाइरहेको छ । १० अर्ब रुपैयाँको यो परियोजनाका लागि आएका सबै लिकहरू यसै अन्तर्गत हुन् । यो ब्रोडगेज रेलमार्ग हो।   

झन्डै ७० किलोमिटरमध्ये जनकपुर–बिजुलपुरासम्मको मार्गमा जमिन मिलाउने काम भइरहेको विभागले जनाएको छ । यो मार्ग निर्माणको लागि कालिकारमण जेभीले ठेक्का पाएको छ । बिजुलपुरादेखि बर्दिबासम्मको भने जग्गा अधिग्रहण हुन सकेको छैन। 

लिक बिछ्याउने तयारी भइरहेको भए पनि रेलको डिब्बा किन्ने प्रक्रियाम भने अघि बढ्न सकेको छैन । लिक बिछ्याएर सबै काम सकिँदासम्म पनि रेलको डिब्बा आउन सक्ने सम्भावना कम देखिन्छ। 

उक्त मार्गको लागि आवश्यक पर्ने यात्रु र मालबाहक डिब्बा किन्न दुई अर्ब रुपैयाँ लाग्ने अनुमान गरिएको छ।         

विभागले उक्त मार्गमा रेल चलाउन रेल माग गर्दै भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा प्रस्ताव गरिसकेको छ। मन्त्रालयबाट अहिलेसम्म कुनै पनि निर्णय भएको छैन। 

निर्माण सम्पन्न हुनै लागेको उक्त लिकमा कसरी रेल सञ्चालन गर्न सकिन्छ भनेर विभागले अध्ययन समेत गरेको थियो । अध्ययन अनुसार उक्त मार्गमा हाल कम्तीमा सात हजार यात्रु दैनिक आवतजावत गर्ने अनुमान छ । त्यसैगरी, प्रशस्त मात्रामा सामान ओसारपसार हुने देखिएको छ।  

अध्ययनमा देखिए अनुसार विभागले यात्रु बोक्ने कम्तीमा पाँचवटा इन्जिन (लोकेमोटिभ) आवश्यक परेको भन्दै मन्त्रालयमा प्रस्ताव गरेको छ । उक्त मार्गमा दैनिक चारवटा इन्जिन सञ्चालन गर्नुपर्ने र एउटा इन्जिन आपतकालीन अवस्थाको लागि तयारी हालतमा राख्नुपर्ने विभागको प्रस्ताव छ। 

त्यसैगरी, सामान बोक्ने चारवटा इन्जिन आवश्यक पर्ने प्रस्ताव विभागले गरेको छ । यात्रुसँगसँगै सामान पनि प्रशस्त मात्रमा हुने, ढुवानी सेवा पनि हुने भएकाले त्यसका लागि कम्तीमा चारवटा इन्जिन आवश्यक पर्ने विभागको ठहर छ । 

रेल सञ्चालनको अनुभव नभएकाले हालको लागि नयाँ रेल किन्ने या आउटसोर्सिङ गरेर भाडामा लिने भन्ने यकिन हुन सकेको छैन । नेपालसँग रेल चलाउने अनुभव नभएको, प्राविधिक र दक्ष जनशक्तिको अभाव लगायत समस्या रहेको र पहिलो रेल भाडामा लिने कि भन्ने विषयमा छलफल भइरहेको विभागले जनाएको छ। 

त्यसैगरी, बिहारको जोगबनीदेखि विराटनगरसम्मको ट्र्याकमा पनि काम भइरहेको छ । जसको लम्बाइ १८.६ किलोमिटर छ । यस ट्र्याकको नेपालतर्फको अन्तिम एक हजार दुई सय मिटरमा मुआब्जा निर्धारणमा समस्या देखिएको छ । मुआब्जा कम भएको भन्दै स्थानीयले बुझ्न मानेका छैनन् । सरकारले नै जग्गा किनिदिने तरिकाबाट अगाडि जाने हो भने समस्या छिट्टै समस्या समाधान हुने विभागले जनाएको छ।  

मुलुकमा विभिन्न रेलमार्गको विषय उठिरहे पनि हाल यी दुई ट्र्याकको ८८ किलोमिटरको काम भइरहेको छ । निमार्णधीन यी ट्र्याकबाहेक पूर्व–पश्चिम रेलमार्ग, सात सहरलाई भारतसँग जोड्ने मार्ग, काठमाडौंमा मोनोरेल, चीनबाट रसुवागढी हुँदै आउने रेल लगायत मार्गको चर्चा भइरहेको छ। 

प्रकाशित: ७ मंसिर २०७४ ०४:०५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App