८ वैशाख २०८१ शनिबार
अर्थ

विदेशी मिडियामा बूढीगण्डकी- ‘चिनियाँबाट खोसेर भारतीयलाई सुम्पिँदै’

काठमडौं- चिनियाँ कम्पनीसँग खोसिएको बूढीगण्डकी जलविद्युत् आयोजना भारतीय कम्पनीलाई सुम्पने तयारी गरेको विदेशी मिडियाहरुले लेखेका छन् ।
बेलायती समाचार संस्था रोयटर्सले भारतको सरकारी कम्पनी एनएचपिसीले उक्त आयोजना निर्माण गर्न चाहेको र त्यसका बारेमा छलफल भइरहेको खुलासा गरेको छ । एनएचपिसीका अध्यक्ष बलराज जोशीलाई उद्धृत गर्दै उक्त कम्पनीले बूढीगण्डकी आयोजनाको प्राविधिक–आर्थिक पक्षको अध्ययन गरिरहेको रोयटर्सले जनाएको छ । जोशीले शुक्रबार रोयर्टससँगको कुराकानीमा उक्त आयोजना निर्माणका लागि एनएचपिसी तयार रहेको बताएका छन् ।
यसैगरी, भारतबाट आइतबार प्रकाशित पत्रिका ‘इन्डियन संवाद’ले पनि बूढीगण्डकी आयोजनामा चीनसँगको कूटनीतिक सम्बन्ध असफल भएको भन्दै चिनियाँ कम्पनीबाट खोसिएको उक्त आयोजना भारतीय कम्पनीले निर्माण गर्न लागेको खुलासा गरेको छ ।
भारतीय कम्पनी जिएमआरले नौ सय मेगावाटको माथिल्लो कर्णाली जलविद्युत् आयोजना बनाउँदैछ । यसैगरी, भारतीय कम्पनी एसजेभिएन (सतलज) लिमिटेडले नौ सय मेगावाटको बहुप्रतीक्षित अरुण तेस्रो आयोजना निर्माण गर्दैछ । बहुचर्चित १२ सय मेगावाटको बूढीगण्डकी जलविद्युत् आयोजना चिनियाँ कम्पनीसँग खोसेर भारतीयलाई दिन लागेको विदेशी तथा भारतीय मिडियाले लेखेका छन् ।
यसअघि टाइम्स अफ इन्डियाले भारतको सरकारी कम्पनी एनएचपिसीलाई दिनको लागि चीनको गेजुवा गु्रप कर्पोरेसन (सिजिजिसी)लाई दिने समझदारी रद्द गरेको बताएको थियो । एनएचपिसी भारत सरकारको पूर्ण स्वामित्वको कम्पनी हो ।
उक्त आयोजना ‘अनियमित’ र ‘हचुवा’ ढंगले चिनियाँ कम्पनीलाई दिएको ठहर गर्दै गत सोमबारको मन्त्रिपरिषद् बैठकले पूर्ववर्ती सरकारले गरेको निर्णय रद्द गरेको थियो । माओवादी अध्यक्ष प्रचण्ड प्रधानमन्त्री हुँदा सरकारले उक्त आयोजना गेजुवालाई दिने निर्णय गरेको थियो ।
टाइम्स अफ इन्डियाले उपप्रधान तथा ऊर्जामन्त्री कमल थापाको ट्विट उद्धृत गर्दै गेजुवालाई ‘आउट’ गरेर भारतीय सरकारी कम्पनी एनएचपिसीलाई ‘इन’ गराउने तयारी स्वरुप सम्झौता रद्द गरिएको दाबी गरेको थियो ।
नेपालमा भारतीय प्रभावकै कारण चिनियाँ कम्पनीसँगको सम्झौता खारेज गरी भारतीय कम्पनीलाई दिन लागेको विदेशी तथा भारतीय सञ्चार माध्यमले जनाएका छन् ।

प्रकाशित: ४ मंसिर २०७४ ०५:३५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App